परराष्ट्रमन्त्रीको भारत भ्रमण : कोभिड खोप खरिद, सीमा समस्या र द्विपक्षीय साझेदारीका मुद्धा प्राथमिकतामा
काठमाडौं । आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसहितको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्तान गर्दैछ । करिब १७ महिनाअघि भारतका विदेशमन्त्रीको नेपाल भ्रमणपछि उच्च कूटनीतिक तहमा पहिलोपटक नयाँदिल्ली जान लागेका मन्त्री ज्ञवालीले शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै त्यसलाई दुवै देशका जनताको बृहत्तर हितका निम्ति उपयोग गर्ने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ छलफल केन्द्रित गर्ने सरकारको तयारी छ । द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाईमार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक साझेदारी र सहकार्यात्मक सम्बन्धलाई अझ सबल, सुदृढ एवं भरपर्दो बनाउन हरसम्भव प्रयास हुने विश्वास पनि गरिएको छ ।
सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्धलाई पुनः हार्दिक बनाइने परराष्ट्रमन्त्री ज्ञवालीको धारणा छ । महाकाली नदीमा बाँध बनाएर पाँच हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने र दुवै देशका लाखौँ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने तीन दशक पुरानो परियोजनालाई कागतमा मात्र सीमित नराखेर कार्यान्वयनमा लैजानुपर्ने अडानलाई बैठकको महत्वपूर्ण कार्यसूचीमा राखिएको छ । पञ्चेश्वर परियोजनाको समाधान गर्न बाँकी विषय टुङ्ग्याएर विस्तृत परियोजना प्रतिवेदन तयार पार्न दुवै देशका सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइएको भए पनि पानीको बाँडफाँटबारे सहमति जुट्न नसक्दा प्रतिवेदनलाई अन्तिम रूप दिन सकिएको छैन भने पञ्चेश्वर विकास प्राधिकरण स्थापना भए पनि त्यो औचित्यविहीन बनेको छ । पानीको बाँडफाँट, सिँचाइ र ऊर्जाका क्षेत्रमा दुवै देशलाई लाभ हुने गरी यो बैठकले परियोजनालाई गति दिन आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ ।
कोभिड–१९ को महामारीका कारण उच्चस्तरमा हुन नसकेका द्विपक्षीय भ्रमणलाई निरन्तरता दिन पनि परराष्ट्रमन्त्रीको यो भ्रमण फलदायी हुने आशा गरिएको छ । यसअघि भारतको बाह्य गुप्तचर संस्थाका प्रमुख, सेनाध्यक्ष र विदेश सचिवबाट भएको भ्रमणले पनि द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन अहम् भूमिका निर्वाह गरेको भनिएपनि कतिपयले हस्तक्षेपको सुरुवात भन्दै आएका छन् । नयाँदिल्लीमा हुने आयोगको छैटौँ बैठकमा काठमाडौँमा सम्पन्न पाचौँ बैठकमा भएका सहमति र सम्झौताको प्रगति समीक्षा हुने बताइएको छ । पाँचौँ बैठकमा रक्सौल–काठमाडौँ विद्युतीय रेल लाइन, आन्तरिक जलमार्ग र कृषि क्षेत्रमा साझेदारीका साथै दुवै देशले व्यापार पारवहन र रेलसेवासम्बन्धी सन्धि सम्झौतालाई शीघ्र निष्कर्षमा टुङ्ग्याउने प्रमुख सीमानाकामा व्यापार तथा पारवहनलाई सहज तुल्याउने भौतिक पूर्वाधारको मर्मतसम्भार एवं स्तरोन्नति गर्ने सहमति भएको थियो । त्यसैगरी दुवै देशले डुबानलाई गम्भीर समस्याका रुपमा रहेको स्वीकार गर्दै नेपाल–भारत सीमा क्षेत्रका डुबान प्रभावित भेगमा दुवै देशको संयुक्त प्राविधिक टोलीले दिएका सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल, परराष्ट्र मन्त्रालयको भारत महाशाखा प्रमुख यज्ञबहादुर हमालका साथै अर्थ, ऊर्जा, सिँचाइ तथा जलस्रोत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुनेछ । माघ १ देखि ३ गतेसम्म हुने भ्रमणका क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीहरुसँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ । मन्त्री ज्ञवालीसहितको प्रतिनिधिमण्डल माघ ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्