Techie IT
Mission Khabar

माओवादी केन्द्र छाडेर एमाले बनेका ४ नेता सांसद र मन्त्रीबाट पदमुक्त


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जना सांसदको पद खारेज भएको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा जानकारी गराएको दल त्यागको सूचना बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएसँगै चारैजनाको संसद र मन्त्री पद गुमेको हो ।

सांसद र मन्त्री पद गुमाउनेमा लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु भट्ट, साह, रायमाझी र चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको थियो । २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका उनीहरु पछिल्लो समय नेकपा एमालेमा प्रवेश गरेका थिए । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता देव गुरुङले संघीय संसद सचिवालयमा पार्टीको कार्यकारी समितिको बैठकको निर्णय समावेश गरी आफ्नो दलका ४ प्रत्यक्ष निर्वाचित सांसदहरु रायमाझी, शाह, भट्ट र चौधरीले अन्य दलको गतिविधिमा संलग्न भएको सूचना जानकारी गराएका थिए ।

सभामुख सापकोटाले अर्को दलको केन्द्रीय कमिटी सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम ४ सांसदको पद रिक्त भएको जानकारी दिनुभयो । राजनीतिक दलसम्बन्धी दफा ३५ को उपदफा १ बमोजिम र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१२ को उपनियम १ बमोजिम पद रिक्त भएको सभालाई जानकारी गराइएका थिए । यो जानकारीसँगै यी चारजना स्वतः मन्त्री पदबाट समेत मुक्त भएका छन् ।

अब प्रधानमन्त्री ओलीले आफ्नो कदममा साथ दिएका चारजना नेताहरुलाई बढीमा ६ महिनासम्म सरकारमा रहनेगरि पुनरनियुक्ति गर्न सक्नेछन् । अफ्ठ्यारो परिस्थितिमा साथ दिएका कारण प्रधानमन्त्रीले पुन मन्त्रीमा दोहोर्याउने आँकलन समेत एमाले बृत्तमा गर्न थालिएको छ । नियुक्तिको ६ महिनामा सांसदका रुपमा नियुक्ति पाउने वा निर्वाचित हुन नसकेमा यो संसदको अवधिसम्म मन्त्री बन्न अयोग्य हुनेगरि हट्नुपर्ने हुन्छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्