Techie IT
Mission Khabar

एमालेको नेपाल खनाल समूहले नै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने, अल्मलाउँदै ओली


काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षका सांसदहरु आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आह्वान गरिएको आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् । नेता भीम रावलले नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको जानकारी दिनुभएको हो ।

सामुहिक राजीनामाको चर्चा चलेपनि सांसदहरु नै बिभाजित हुँदा नेपाल खनाल पक्ष प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गर्न बाध्य भएको छ । सांसदहरूले बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्दै शिर्ष नेताहरुसँग प्रश्न गरेका थिए । केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर पार्टीको एकता र बैकल्पिक राजनीतिका अझै विकल्पहरु बाँकी राख्न सुझाव दिएको बताइएको छ ।

वार्ता र छलफलमा आउन ओलीको आह्वान
प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले वार्ता तथा छलफलको माध्यमबाट समस्याको समाधान गर्न सकिने भन्दै हतारोमा कुनै पनि अप्रिय निर्णय नलिन आग्रह गरेका छन् । सामाजिक सञ्चाल ट्वीटर मार्फत ओलीले छलफलको माध्यमबाट आन्तरिक मतभेद वा असन्तुष्टि सम्बोधन गर्न सकिने बताएका हुन् । ‘आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौँ ।’ ओलीले ट्वीट गर्दै भनेका छन्,

नेपाल खनाल पक्षले बारम्बार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने, संसद विघठन र माओवादी केन्द्र र एमालेको बिभाजन गराउने अदालती फैशलापछिका एकलौटी निर्णय सच्याउन आग्रह गर्दैआएपनि अध्यक्ष ओली तयार देखिएका छैनन । पछिल्लो पटक पार्टी एकता जोगाउनका लागि भन्दै ओलीलाई शर्तसहित सोमबार बिहान ९ बजेसम्मको समय दिइएपनि सो अवधिमा ओलीले कुनै पहल गर्न चासो नदेखाउँदा एमालेको एकता सम्भव नभएको र अध्यक्ष ओली केबल भुलाएर एकलौटी रुपमा स्वार्थ पुरा गराउने अभियानमा उद्धत देखिएको निष्कर्षमा नेपाल खनाल पुगेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्