Techie IT
Mission Khabar

एम्बुलेन्समै ठगिन्छन सर्वसाधारण, सितापाइलादेखी सिनामंगलको भाडा नै १० हजार


काठमाडौं । बिरामीका लागि अस्पतालसम्म पुग्ने सहज र भरपर्दो माध्यम हो एम्बुलेन्स । अझ कोरोनाको दोस्रो लहरसँगै संक्रमणले तीव्रता पाएपछि जारी गरिएको निषेधाज्ञाका कारण बिरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्सको माग अत्यधिक नै छ । तर, एम्बुलेन्सले बिरामी बोक्नै नमान्ने र बोकेपनि महंगो भाडा भाडा लिदा सर्वसाधारण मर्कामा परेका छन् ।

एम्बुलेन्सलाई आकस्मिक सेवाको महत्वपूर्ण साधनको रुपमा लिइन्छ । नेपालमा जिल्ला एम्बुलेन्स सञ्चालन समितिले एम्बुलेन्सको भाडा र शुल्क निर्धारण गरेको छ । जिल्ला भित्रका एम्बुलेन्सहरुले त्यही तोकेको भाडाको आधारमा सेवा दिनुपर्ने हुन्छ । तर, अहिले निजी एम्बुलेन्स चालकहरुले कोरोना महमारीको समयमा बिरामी बोके बापत मनपरी भाडा असुलिरहेका छन् । निषेधाज्ञा र आकस्मिक अवस्थालाई देखाएर एम्बुलेन्सहरुले बार्गेनिङ गर्ने, भने जति नदिए सेवा नै नदिने जस्तो अमानवीय र अनुचित कामहरु गर्दै आएको बिरामी र आफन्तहरु बताउँछन् ।

काठमाडौं सितापाइलाकी सविता मल्लका श्रीमान एकाएक बिरामी परे । सोमबार आफनो श्रीमानलाई एउटा एम्बुलेन्स खोजेर सिनामंगलस्थित के एम सी अस्पताल ल्याएर घर पुर्याए बापत उनले एम्बुलेन्सलाई १० हजार तिर्नुपर्यो । यस्तो अवस्थामा मानवता नै बिर्सेर चर्को भाडा लिएको उनको गुनासो छ । यस्तै, रौटाहटबाट आफनी आमालाई ग्यास्टिकले च्यापेपछि वीर अस्पताल आइपुगेका प्रमोद जैसवाल पनि काठमाडौं ल्याए बापत १५ हजार भाडा तिरेको गुनासो गरिरहेका छन् । आमाको जीवन भन्दा ठूलो पैसा नभएको भन्दै ऋण लिएर भए पनि भने जति शुल्क तिर्न बाध्य भएको उनले बताए ।

यी त प्रतिनिधि पात्र मात्रै हुन, यहाँ, दाङदेखी काठमाडौं कोरोना संक्रमण भएका आफन्त ल्याउनेहरुले ५०, ६० हजार एम्बुलेन्स भाडा तिरेको गुनासो गरिरहेका छन् । यो मार अधिकांश बिरामी र आफन्तले भोग्न परिरहेको छ । हुनत, कोरोना महमारीको समयमा निशुल्क रुपमा बिरामीका लागि सेवा गर्नेहरु पनि छन् । सत्य शाही केन्द्रले अहिले बिरामीका लागि निःशुल्क सेवा दिइरहेको छ । एम्बुलेन्स चालक कृष्ण राज थापा बिरामीलाई सेवा गरे बापत इच्छा लाग्नेले दिने नभए भाडा नमागेको बताउछन् ।

हरेक मानिस निषेधाज्ञाका कारण घरभित्रै छन् । उनीहरुलाई आपतकालीन अवस्थामा एम्बुलेन्स नै चाहिन्छ । तर, महामारीको दाउमा कमाउ धन्दा गर्ने एम्बुलेन्स चालक र संस्थालाई सरकारले नियमन र कारवाही गर्न नसक्दा मनलाग्दी बढिरहेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्