Techie IT
Mission Khabar

सुलीको बहु–उपयोगिता : एउटै प्लान्टबाट बायोग्यास, विद्युत् र मल


स्याङ्जा, जेठ । कुखुरापालन व्यवसाय, यसले नेपालमा थुप्रैलाई स्वरोजगार बनाएको छ । कुखुराको मासुमा आत्मनिर्भर बन्ने प्रयास हुँदैगर्दा अहिले सुली व्यवस्थापनको गृहकार्य सुरु भएको छ । दुर्गन्ध र वातावरणीय समस्या बनिरहेको सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधि नेपालमै विकास भएको छ ।
खेतबारीमा मलका रुपमा उपयोग गरिने सुली ठूला व्यावसायिक फर्मका लागि बने चुनौती बनेको थियो । तर अहिले जैविक मलसँगै ग्यास र विद्युत् उत्पादन गरेर स्याङ्जाका कुखुरा व्यवसायीले सुलीको उपयोगितालाई सावित गरिदिएका छन् । पुतलीबजार नगरपालिका–४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले तीन हजार ५१० घनमिटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्टबाट ४०० किलोवाट विद्युत् उत्पादन सुरु गरेको हो । विद्युतसँगै कृषि मन्त्रालयको मापदण्ड अनुसार प्लान्टले दैनिक १५ टन जैविक मल उत्पादन सुरु गरेको छ । एग्रो फर्मबाट निस्केको सुलीको व्यस्थापन र प्लान्टका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न पावर प्लान्ट सञ्चालनमा ल्याइएको छ ।

भिरकोट नगरपालिका–७ मा रहेको खिलुङकालिका कुखुरा फर्मको सुली नै यस बायोग्यासको मुख्य कच्चा पदार्थ हो । यसबाहेक गाईभैँसीको मल, खेर गएका तरकारी र अन्य जैविक पदार्थ प्लान्टमा प्रयोग गर्ने गरिएको छ । झण्डै २५ करोडको लगानीमा स्थापना भएको यस प्लान्टबाट दैनिक एक हजार २०० किलो बायोग्यास, ४०० किलोवाट विद्युत् र १५ टन जैविक मल उत्पादन हुँदैआएको छ ।

यता, जलवायु लगानी कोषको सहयोगमा विश्व बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान तथा एन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिको लगानीमा नवलपरासी, रामग्राममा नेपालमै ठूलो बायोग्यास प्लान्ट बनेको छ । देशमै हालसम्म जडान भएको सबैभन्दा ठूलो तीन हजार ७५० घनमिटर क्षमताको यस प्लान्टबाट दैनिक १४० वटा सिलिन्डर ग्यास, १२ टन जैविक मल उत्पादन हुँदैआएको छ । अब सबै प्लान्टले यस्तो प्रविधिको उपयोग गर्ने हो भने सुली व्यवस्थापनबाट अधिकतम लाभ लिन सकिनेछ । यस्ता प्लान्टको विकास गर्दै जाने हो भने अर्बौ रुपैयाँको रासायनिक मल आयात गर्नुपर्ने बाध्यता समेत हट्नेछ ।
यता, चितवनमा रहेको अन्नपूर्ण पोल्ट्री फर्मले ५०० घनमिटर बायोग्यास प्लान्ट स्थापना गरेर ५० केभिए जेनेरेटरबाट विद्युत् उत्पादन गरेको छ । कास्कीको कोत्रेमा गण्डकी ऊर्जा प्रालिले ४२०० घनमिटर बायोग्यास प्लान्ट जडान गरी गाईको गोबर, कुखुराको सुली, नगरपालिकाको फोहरबाट बोटलिङ प्लान्ट निर्माण गरी ग्यास, मल र विद्युत् उत्पादनको तयारी थालेको छ । हालसम्म १०० ठूला व्यावसायिक बायोग्यास प्लान्टको विस्तृत सम्भाव्यता अध्ययन भएको प्रदेश ४ मा मात्रै ६० वटा प्लान्ट सञ्चालनमा आएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्