Techie IT
Mission Khabar

अझै पुगेनन गाउँमा बैंक, घण्टौँ हिडेर बैंक धाउनुपर्ने स्थानीयको व्यथा


ओखलढुंगा\ताप्लेजुङ– पूवी पहाडी जिल्ला ताप्लेजुङ र ओखलढुंगाका स्थानीयलाई लागेको थियो, तहमा गाउँस्थतरमा जनप्रतिनिधि आएपछि जिल्ला सदरमुकाम र शहर धाउनुपर्ने बाध्यता हट्छ । तर सोचेजस्तो भएन । अहिले स्थानीयका बाध्यताका पोकाहरु उस्तै असरल्ल नै छन् ।

आफुले चुनेर पठाएका जनप्रतिनिधिले आफ्ना लागि भन्दा जनतालाई सेवा सुविधा दिने कामलाई महत्व दिने विश्वास पूर्वी पहाडी जिल्लाका धेरै स्थानीयले गरेका थिए । कुरा गरौँ, ताप्लेजङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका शेर्पा समुदायको । यहाँबाट चार दिन लगाएर सदरमुकाम पुगेर चेक साट्ने लगायत बैंकको काम गर्नुपर्ने बाध्यता अझै यथावत छ । अझ, बैंकमा भीड भएमा चेक साट्न वा अन्य बैंकिङ कारोबार गर्न ओलाङचुङगोला क्षेत्रका स्थानीयले १० दिनको समय खर्चनुपर्छ ।

यस्तो सास्ती जिल्लाको मिक्वाखोला गाउँपालिकामा पनि छ । यहाँका स्थानीयले बैंकको कारोबार गर्न तीन दिन हिड्नुपर्छ । ताप्लेजङको फक्ताङलुङ, मिक्वाखोला सहित मेरिङदेन र सिरिजंघा गाउँपालिकामा अmभै बैंक पुग्न नसक्दा स–साना कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता यथावत छ । मेरिङदेन गाउँपालिकामा एनसीसी बैंक आउने कुरा भए पनि अहिलेसम्म पुगेको छैन । यस्तै, सिरिजंघामा नेपाल बैंक र फक्ताङलुङमा जनता बैंक जाने तयारी भए पनि स्थापना भएका छैनन् । मिक्वाखोलामा जाने बैंक बारे भने अझै टुंगो छैन ।

यता, ओखलढुंगाका चार स्थानीय तहमा पनि बैंक पुगेका छैनन । एक नगरपालिकासहित आठ स्थानीय तह रहेको जिल्लामा सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिकामा पहिलेदेखी नै राष्ट्रिय वाणिज्य बैंकका शाखा थिए । खिजिदेम्बा गाउँपालिकामा मेगा र मोलुङमा सनराइज बैंकले कारोबार सुरु गरेपनि चिसंखुगढी, सुनकोसी, चम्पादेवी र लिखु गाउँपालिकामा बैंकको शाखा विस्तार भएको छैन । स्थानीय तहमा बैंक पुग्दा ढिला गरेकै कारण बैंकिङ्ग कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता यथावत छ ।

सरकारको नीति अनुसार गत असारभित्र सबै गाउँपालिका केन्द्रमा बैंक स्थापना हुनुपर्ने भएपनि अझै पुरा भएको छैन । चिसंखुगढी गाउँपालिकाले साउन १ गतेभित्र कुमारी बैंकले शाखा खोल्ने तयारी गरेपनि इन्टरनेट समस्या देखिएपछि बैंक पछि हटेको छ । स्थानीय तहमा बैंकिङ कारोबार सुरु नहुँदा संघीयता कार्यान्वयनको महसुस गर्न नसकिएको स्थानीय बताउँछन् । सडक, फोन र इन्टरनेट समस्याका कारण बैंकले स्थानीय तह जान बिलम्ब गरिरहेका छन् ।

सबै स्थानीय तहका केन्द्रमा बैंक राख्न राष्ट्र बैंक र अर्थ मन्त्रालयले पहल गरेको बताएपनि बैंक धेरै स्थानीय तहमा पुगेका छैन । यी प्रतिनिधि जिल्ला र स्थानीय तह मात्रै होइन्, देशको सुदुर अनि दुर्गमका सयौँ गाउँपालिका अझै बैंक बिहिन छन् । राष्ट्र बैंकले गत आवभित्रै स्थानीय तहमा बैंक पुर्याउन निर्देशन दिएपनि अझसम्म थुप्रै बैंकले अटेर गरेका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्