Techie IT
Mission Khabar

कर्जा ब्याजदर घटाउन राष्ट्र बैंकको उर्दी, अटेर गर्ने बैंक कारबाहीमा पर्ने


काठमाडौं–नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर तत्काल घटाउन बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले ब्याजदर घटाउन नमान्ने बैंकमाथि कारबाही गर्नेसम्मको चेतावनी दिएको छ ।

मौद्रिक नीतिमार्फत अनिवार्य नगद मौज्दात  (सीआरआर) २ प्रतिशतले घटाएको राष्ट्र बैंकले बजारमा पर्याप्त तरलता रहेको भन्दै कर्जाको ब्याजदर घटाउन आग्रह गरेको हो । घटाउन नमान्नेमाथि कठोररूपमा प्रस्तुत हुने चेतावनी नियमक बैंक राष्ट्र बैंकले दिएको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले प्रहरीले अपराधीलाई गरेजस्तो व्यवहार गर्नु नपरोस् भन्दै बैंकरहरुलाई ब्याजदर घटाउन कुनै पनि बहानाबाजी नगर्न आग्रह गरेका छन् ।

बजारमा अहिले ६६ अर्ब तरलता रहेको भन्दै राष्ट्र बैंकले सीआरआर, एसएलआरलगायतका मौद्रिक उपकरण, विदेशबाट ऋण ल्याउन सक्ने व्यवस्थालगायतका कारण बजारमा लगानीयोग्य रकमको अभाव नहुँने बताएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले वैधानिक तरलता अनुपात (एसएलआर) वाणिज्य बैंकलाई १२ प्रतिशतबाट घटाएर १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र फाइनान्स कम्पनीका लागि ८ प्रतिशतबाट ७ प्रतिशतमा झारेको छ ।

यस्तै, पछिल्लो तीन हप्तामा राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत ९३ अर्ब २५ करोड रुपैयाँ तरलता बजारबाट उठाएको छ । अहिले अधिकांश बैंकको बेसरेट (आधार मूल्य) बढी भएका कारण ऋणको ब्याजदर अत्यधिक छ । अधिकांश बैंकले बेसरेट नै ११ प्रतिशत राखेका छन् । नियमक बैंकको चेतावनीपूर्ण आग्रहलाई बैंकरहरुले मान्छन वा मान्दैनन त्यो भने समयले देखाउँने छ ।


क्याटेगोरी : अर्थ / रोजगार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्