Techie IT
Mission Khabar

नेपाली बजारमा भारतीय उत्पादनको प्रभाव, लगानी र गुणस्तरलाई बेवास्था गरिदा उद्योग नै धारासायी


चितवन– अहिले नेपाली बजारमा सबैभन्दा बढी हिस्सा भारतीय उत्पादनले ओगटेको छ । सुनदेखी लसुनसम्म अनि चामल दालदेखी लत्ताकपडासम्ममा भारतीय परनिर्भरता बढिरहेको छ । यतिमात्रै होइन, कृषी उत्पादनमा समेत दिनप्रतिदिन भारतीय एकाधिकार बढ्दो छ ।

नेपाली उत्पादन र त्यसको गुणस्तरलाई भारतीय उत्पादनको मूल्यले विस्तापन गर्नेक्रम बढ्दैगर्दा नेपालकै एक मात्र धुलो दूध उत्पादन गर्ने कम्पनी बन्द हुने अवस्थामा पुगेको छ । भारतबाट निक्कै सस्तोमा कम गुणस्तरको धुलो दूध नेपाल आउने र त्यसको खपत बढ्न थालेपछि चितवन मिल्क उद्योग बन्द हुने अवस्थामा पुगेको हो । देशमै सबैभन्दा धेरै दुध उत्पादनगर्ने सबैभन्दा ठूलो उद्योगले अहिले आंशिक उत्पादन मात्रै गरिरहेको छ । बजारमा कमशल भारतीय दुधको प्रभाव बढेसँगै उद्योग पुर्णरुपमा बन्द हुने चिन्ताले मिल्क उद्योगमा कार्यरत मजदुरलाई सताउन थालेको छ । यो कारखाना धारासायी बन्नुमा सरकारी बेवास्ता पनि उत्तिकै महत्वपूर्ण छ । सरकारको सहयोग र प्रोत्साहन नपाउदा कुनै बेला नेपाली बजारमा आफ्नो उत्पादनलाई सर्वसुलभ बनाएर ठूलो हिस्सा ओगटेको कारखानाले अहिले आफ्नो उत्पादन सहज तरिकाले बजारसम्म लैजान सकेको छैन ।

नियमित सञ्चालन हुँदा दैनिक एक लाख लिटर दूधको पाउडर उत्पादन गर्ने कारखाना सञ्चालनको पाँच वर्षमा बन्द भयो । ०६६ चैत २७ बाट उत्पादन थालेको कारखानासँग दैनिक डेढ लाख लिटर पाउडर दूध र ५० हजार लिटर दूधजन्य सामग्री उत्पादन गर्ने क्षमता भएपनि पछिल्लो समय उत्पादन ह्वात्तै घटेको छ । चितवनको भरतपुरमा निजी क्षेत्रबाट सञ्चालित चितवन मिल्क लिमिटेड कच्चा पदार्थको अभाव, अस्वस्थ बजार प्रतिस्पर्धा, विद्युत् भार कटौती, बन्द हडताल, भूकम्पलगायतका कारण भोग्नुपरेको घाटाले केहीसमय कम्पनी बन्द भयो । गत वर्षको कात्तिकदेखि फेरि पाउडर दूध उत्पादन सुरु गरेको उद्योगले अहिले नेपाल डेरी एसोसिएसन नेपालका लागि मात्र धुलो दूध उत्पादन गरेको छ । करिब ४० देखि ६० हजार लिटर मात्रै पाउडर बनाउन थालेको यो उद्योगको पाउडरलाई भ्याटबाहेक प्रतिकिलो एक सय पाँच र बटरलाई भ्याटबाहेक ४७ रुपैयाँमा डेरी एसोसिएसनले किन्ने गरेको छ । २२ जना कर्मचारी राखेर सञ्चालन गरिएको उद्योग कहिले बन्द हुने अनिश्चित छ ।

पछिल्लो समय नेपालमा चार हजार टन धुलो दूध विदेशबाट आयात हुँने गरेको छ । लागत र गुणस्तर राम्रो भए पनि नेपाली उत्पादन महँगो पर्ने भएपछि भारतीय उत्पादनले नेपालका उद्योगलाई सहजै असर गर्न सक्छन् । नेपालमा भारतीय बजारबाट सी ग्रेडको पाउडर आउने गरेको छ । गुणस्तर नभए पनि सस्तोमा पाउने हुनाले भारतीय पाउडर बढी बिक्री हुने गरेका कारण पनि अहिले उद्योग संकटमा परेको छ । बाहिरबाट आउने दूध नेपालको तुलनामा गुणस्तरहीन भएपनि भन्सारबाट निर्वाध भित्रिँदा नेपाली उद्योग र यहाँको गुणस्तरिय उत्पादनमा असर परिरहेको छ । तर यतातर्फ सरकारको ध्यान पुग्न सकेको छैन ।

अझ, व्यवसायीहरु पनि नेपाली उत्पादनको तुलनामा भारतको उत्पादनमा बढी फाईदा हुने भएपछि त्यतातिरै आकर्षित भैरहेका छन् । यसरी देशका धेरै उद्योग बन्द हुने क्रम बढिरहँदा करमा मात्रै केन्द्रित भएको राज्य उद्योगीको पीडामा बेमतलबी भएर बसेको छ । सरकारी लगानी होस, वा निजी क्षेत्रको नै किन नहोस नेपाली भूभागमा सञ्चालित उद्योग कलकारखाना राज्यका सम्पति हुन् । सयौँलाई रोजगारी दिएर राज्यको राजश्वमा महत्वपूर्ण योगदान दिनसक्ने यी र यस्ता उद्योगको संरक्षणमा राज्य जिम्मेवार बन्नैपर्छ । नेपाली उद्योग र लगानीलाई निरुत्साहित गरेर समृद्धिको सपना पुरा हुन सक्दैन ।


क्याटेगोरी : अर्थ / रोजगार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्