Techie IT
Mission Khabar

विद्युतीय सार्वजनिक बसको होडबाजी, कहिले होला काठमाडौं प्रदुषण मुक्त ?


काठमाडौं — नेपालमा अहिलेसम्म पनि कसैले विद्युतीय सार्वजनिक बस चढ्ने अवसर पाएका छैनन् । तर, पछिल्लो समय काठमाडौंमा विद्युतीय बस सञ्चालनको होडबाँजी नै चलेको छ । सुन्दर यातायात, मयुर यातायात, साझा यातायात,  गोर्खा इको लगायतका कम्पनी विद्युतीय बस ल्याउने गृहकार्य गरिरहेका छन् ।
शहरी क्षेत्रमा ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको साझाकै कारण अहिले विद्युतीय बसमा चासो दिएपनि उ पछाडी पर्ने देखिएको छ । साझाले विद्युतीय बस भित्र्याउन सरकारी निकाय, विभिन्न गैरसरकारी र व्यावसायिक क्षेत्रसँग छलफल थालेको लामै समय भएपनि अहिलेसम्म ल्याउन सकेन। बरु पछिल्लोपटक सुन्दर यातायात प्रालिले विद्युतीय बस सञ्चालनमा ल्याउने निश्चित जस्तै भएको छ । केही सातामै तीनवटा इलेक्ट्रिक बसबाट सेवा थाल्ने योजनामा कम्पनी छ । पछि बस विस्तार गर्ने भनिएको छ । विद्युतीय बसका लागि चीनको सिचुवान गोहाङ अटोमोबाइलसँग सम्झौता भएर आउने क्रममा रहेको साझा यातायात प्रालीका अध्यक्ष भेषबहादुर थापाले बताए ।
यता, गोर्खा इको पनि विद्युतीय बस ल्याउने प्रक्रिया मा छ । गोर्खाले ल्उने चिनियाँ ब्राण्डका बस काठमाडौंभित्रै चलाउने योजना छ । मयुर यातायात पनि विद्युतिय बसको तयारीमा छ । पछिल्लो समयमा ठूला बसहरु ल्याएर सेवा दिइरहेको मयुरले एक सय वटा विद्युतीय बस किन्न प्रक्रिया अघि बढाएको बताइएको छ । ठूला आकारका विद्युतीय बसमा ३५ देखि ४० सिट क्षमता रहनेछन् । एलईडी टिभी, वाइफाई, जीपीएस लगायतका सुविधा राखेर यात्रुलाई सहज यात्रा गराउने प्रतिस्र्पामा कम्पनीहरु छन् । कम्पनीहरु आफैंले विद्युतीय बसका लागि चार्जिङ स्टेशन बनाउन सुरु गरेका छन् । वातावरणीय दृष्टिले इलेक्ट्रिक बस निकै महत्वपूर्ण हुनसक्छन् । अहिले काठमाडौंमा गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन् । अझ दिनप्रतिदिन प्रदुषणको जोखिम बढ्दै गरेको काठमाडौंका लागि यस्ता बस अत्यावश्यक छन् ।

सुन्दर यातायात नेपालको पहिलो विद्युतीय बस सञ्चालन गर्ने कम्पनी वन्ने योजनामा छ । सुन्दर यातायातले चिनियाँ कम्पनी सेचुवान गोहङ अटोमोबाइल्स कम्पनी लिमिटेड (बीएके) सँग ३ वटा विद्युतीय बस खरिद सम्झौता गरेको छ । सर्वसाधारणलाई लक्षित गरी २५ सिट क्षमता भएको विद्युतीय बस सञ्चालनको तयारी थालेको हो । राष्ट्रपतिदेखि मन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेतले अहिले विद्युतीय गाडी प्रयोगमा ल्याएका छन् । सरकारका उच्च पदमा रहेका व्यक्तिहरूले विद्युतीय सवारी साधन प्रयोगमा ल्याएपछि अहिले निजीक्षेत्रका यातायात कम्पनीहरूले पनि विद्युतीय सवारी साधनहरूको प्रयोग र खरिदमा चासो देखाउन थालेका  हुन् ।

विद्युतीय बस धुवाँरहित हुने भएकाले तिनको प्रयोगबाट काठमाडौंको प्रदुषण एकतिहाइ कम हुने अध्ययन गरिएको छ । प्रदुषणरहित शहरी वातावरणका लागि विद्युतीय बसलाई प्रोत्साहन गर्नुपर्छ । यसका लागि काठमाडौं र ललितपुर महानगरले विशेष ध्यान दिने हो की ?


क्याटेगोरी : अर्थ / रोजगार, यातायात / यात्रा, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्