Techie IT
Mission Khabar

बजेट अधिवेशनको मिति तय भएसँगै काठमाडौं उपत्यकामा लकडाउन खुकुलो हुने चर्चा


काठमाडौं । संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेबाट सुरु हुने भएसँगै लकडाउनले निरन्तरता पाउँछ वा काठमाडौं उपत्यकाको हकमा खुकुलो होला भन्ने चर्चा सुरु भएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते दिउँसो ४ बजे बजेट अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै लकडाउन कसरी अघि बढ्ला भन्ने चर्चा सुरु भएको हो ।

पछिल्लो पटक थपिएको लकडाउनको मिति सकिएपछि अर्थात भोलिपल्ट बजेट अधिबेशन बोलाइएका कारण कतिपयले उपत्यकाको हकमा अब लकडाउन खुकुलो हुने पुर्व संकेतका रुपमा अर्थ्याउन थालेका छन् । केहीले भने कोरोनाको त्रासदी कायमै रहेका कारण लकडाउनकै अवस्थामा नीति तथा कार्यक्रमको छलफल र बजेट आउने आँकलन गरेका छन् । हुनत, काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई लकडाउनको नीति बिपरित उपत्यका छाड्न सहजिकरण गरिएका कारण पनि बजेट अधिबेशनको समयमा उपत्यकामा लकडाउन खुकुलो बनाउने सरकारको पूर्व योजना भन्नेहरुपनि धेरै छन् । तर लकडाउनले निरन्तरता पाउने वा नपाउने भन्ने बिषय भने सरकारकै निर्णयमा भर पर्नेछ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था अनुसार सुरु हुने अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुने छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ भित्र बजेट सार्वजनिक गरिसक्नु पर्ने भएकाले पनि सरकार लकडाउन जारी रहँदै बजेट अधिबेशन बोलाउनुपर्ने बाध्यतामा परेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्