नीति तथा कार्यक्रम आज : स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीसँगै अर्थतन्त्र पुनरुत्थानमा विशेष जोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दैछिन् । स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीसँगै अर्थतन्त्र पुनरुत्थानमा विशेष जोड दिइएको नीति तथा कार्यक्रम साँझ ४ बजे राष्ट्रपति भण्डारीले प्रस्तुत गर्न लागेकी हुन् । अर्थतन्त्र पुनरुत्थान, साना तथा मझौला उद्योग र स्वरोजगारलाई प्रोत्साहन दिने गरी बनाइएको नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष २०७७\०७८ को बजेट विनियोजन गदैछ । सरकारी श्रोतका अनुसार कोभिड–१९ ले मानवीय र आर्थिक क्षतिसँगै बढाएको मानवीय त्राससँग सामना गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ । अर्थ मन्त्रालय समेत विकास, सुशासन र समृद्धिको खाकाका रुपमा नीति तथा कार्यक्रम आउने बताउँछ । श्रम बजार, निर्माण, उत्पादन, पर्यटन। आपूर्ति तथा अन्य धेरै क्षेत्रमा परेको कोरोना प्रभाव आँकलन गर्दै सरकारले ३ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने गरी नीति तथा कार्यक्रम र बजेट बनाएको छ । राष्ट्रिय योजना आयोगका अनुसार नीति तथा कार्यक्रम र बजेटले सार्वजनिक, निजी र सहकारीबीचको सहकार्यलाई जोड दिइएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन, विपद्को पूर्वतयारी र व्यवस्थापनसम्बन्धी नीति बजेट मार्फत कार्यान्वयनमा ल्याइने दाबी गर्ने योजना आयोग जोखिम नियन्त्रण गर्न तथा आर्थिक उन्नति, सुरक्षित र मर्यादित जीवनका लागि काम, रोजगार, खाद्यान्न सुरक्षा र उत्पादनका साधनमा सबै नागरिकको पहुँच र स्थापित लाभको न्यायोचित वितरणका नारालाई नीति तथा कार्यक्रमले अँगालेको बताउँछ । विपन्न, गरिबी र असमानता हटाउन कमजोर तथा पिछडिएका समुदायलाई विशेष सेवा सुविधा दिने नीति तथा कार्यक्रममार्फत घोषणा गरिनेछ । संघ, प्रदेश तथा स्थानीय तहको समन्वयमा स्रोत साधनको अधिकतम उपयोग गरिने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ । अन्तर्राष्ट्रिय स्रोत साधनको अधिकतम उपयोग, निजी क्षेत्रलाई प्रोत्साहन गर्न करमा सहुलियत, मौद्रिक उपकरणमार्फत आर्थिक पुनर्जागरण र पुनरुत्थानका योजना नीति तथा कार्यक्रममा समेटिएका छन् । आन्तरिक आयलाई राजस्वको मूल आधार मानेको नीति तथा कार्यक्रमले करको दर नभई दायरा बढाउने सरकारी लक्षलाई अघि सारेको छ । नीति तथा कार्यक्रममार्फत पूर्ण आकारकै बजेट ल्याइने घोषणाको सम्भावना आँकलन गरिएपनि यसका लागि राष्ट्रपतीले पेस गर्ने नीति तथा कार्यक्रम कुर्नुपर्नेहुन्छ । राष्ट्रिय गौरव र गेम चेन्जर आयोजनाबाहेक नयाँ आयोजना रोक्ने सरकारको तयारी छ । महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने, सुनकोसी–मरिन डाइभर्सन, भेरी–बबई डाइभर्सन, सिक्टा, रानीजमरा कुलरियालगायत ठूला सिँचाइ आयोजनामा बजेटमार्फत स्रोतको अभाव हुन नदिने प्रतिबद्धता आउने छ । आत्मनिर्भर, उन्नतशील, स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माणको नारा बोकेको नीति तथा कार्यक्रमले रोजगारी गुमाएकालाई रोजगारी दिने तथा कृषि क्रान्तिका लागि स्रोतसाधन परिचालनलाई प्राथमिकता दिएको बताइएको छ । राष्ट्रिय योजना आयोग त अब पूर्वाधार योजनाभन्दा मानवीय स्वास्थ्य, कृषि उत्पादन वृद्धि, साना उद्योग, पर्यटन, सामाजिक सुरक्षा, रोजगार गुमेकालाई रोजगारी सिर्जना, निजी क्षेत्र, विपन्न समुदायमा नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुने बताइरहेको छ ।
कृषकको आयस्तरमा सुधार गर्ने लक्ष्यका साथ सरकारले भूमि बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने र चक्लाबन्दीलाई प्रोत्साहन गर्दै निर्यातमूलक उद्योगलाई विशेष सहायता दिने तयारी गरेको छ । दीर्घकालीन लक्ष्यका साथ सुरुङ मार्ग, जलमार्ग र रेलमार्गको कार्यान्वयनलाई निरन्तरता दिइने बताइएको छ । नागढुंगा सुरुङमार्ग, काठमाडौं–तराई द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण कोरिडोर सडक आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजना, रेलसँग सम्बन्धित आयोजना, सडक र पुलसँग सम्बन्धित पुराना आयोजनाले निरन्तरता पाउने गरी नीति तथा कार्यक्रम ल्याउन लागिएको छ । आगामी १५ जेठमा आउने आव २०७७\०७८ को बजेट १७ खर्ब ५९ अर्ब ६ करोड रुपैयाँ बराबरको हुने प्रक्षेपण गरिएको छ । सरकारले चालू आव २०७६\०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो । पहिलो ६ महिनामा प्रगति हुन नसकेपछि बजेटको आकार १० प्रतिशतले घटाएर १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा सिमित गरिएको थियो ।
क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्