Techie IT
Mission Khabar

एसईई परिक्षा नहुने, विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परिक्षाफल


काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित परीक्षा नहुने भएको छ । बुधबार साँझको मन्त्रिपरिषद बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेसँगै नियमित परीक्षा नहुने भएको हो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भने एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको जानकारी दिए । विद्यालय तहमा आन्तरिक परीक्षा र मूल्याङ्कन हुने मन्त्री पोखरेलले बताए । अब विद्यालयहरूले परीक्षा बोर्डमा पठाउने आन्तरिम मूल्यांकन नम्बरका आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गरिनेछ । गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमलाई कारण देखाउँदै चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयबाट स्थगित गरिएको थियो ।

शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेर छलफल अघि बढाएको थियो । देशका धेरै स्थानका विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाइएकाले तत्काल परीक्षा सम्भव नदेखिएको हो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्