Techie IT
Mission Khabar

कोरोनाबाट पछिल्लो एक सातामा विदेशमा रहेका २१ नेपालीको मृत्यु, ७८ हजार बढीको उद्धार


काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस कोभिड १९ संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा पाँचजना, साउदी अरबमा १४ जना, युएईमा एकजना, युगान्डामा एकजना गरी शनिबार साँझसम्म २१ नेपालीको मृत्यु भएको हो । योसँगै १७ देशमा रहेका २६५ जना नेपालीले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन् । यीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । निको हुने दर ९२ प्रतिशत रहेको छ । समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण पहिचान भएको छ ।

नेपालमा मात्र ७१ हजार ८ सय २१ जना कोरोना भाइरसका संक्रमित पहिचान हुँदा ५३ हजार १३ जनाले कोरोना जितेका छन् । नेपालमा मात्रै शनिबार साझसम्म ४ सय ६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका ७३२ जनाको मृत्यु भएको छ । विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ८८ हजार ९१ जना कोरोना मुक्त भएका छन् ।

७८ हजार ३ सय ४३ जनाको उद्धार
कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार ३ सय ४३ जनाको नेपालीको उद्धार गरिएको छ । चीनबाट कोरोना भाइरसको संक्रमण भए लगत्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहदैआएको छ ।


क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्