Techie IT
Mission Khabar

परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’, कोरोना कहरले खल्लो बनेको एउटा पर्व


काठमाडौं । परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मंगलबार विभिन्न कार्यक्रमसहित मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनुका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेर गाइजात्रा मनाउने परम्परा छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समातेर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वलमा छटपटाएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भन्दै दिएको आदेश पछिका गतिबिधिले समेत रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमको समेत आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जनश्रुति रहेको छ । राजा मल्लको पालादेखी प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ ।

देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा छुटै रौनक हुन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाउने गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, सङ्खुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, कास्कीलगायत जिल्लाका शहरमा मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको छ ।

मनोरञ्जनसँगै तिता मिठा ब्यङ्ग्य प्रहसनका कारण रमाइलो मानिने गाइजात्रा यो बर्ष भने खल्लो बनेको छ । कोरोना कहरले हलमा कचाकच तथा टुडिखेलमा कला कौशल प्रदर्शन हुन पाएनन । जात्रामा समेत उत्साहा र उमंगको अनुभव भएको छैन । यो बर्षको गाइजात्रालाई कतिपयले त कोरोनाले खल्लो बनाएको उत्सबका रुपमा समेत अथ्र्याएका छन् ।


क्याटेगोरी : ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, मनोरन्जन
ट्याग : #hot, #गाईजात्रा, #जात्रा, #दिवंगत आफन्तको सम्झना, #प्रहसन, #राजा प्रताप मल्ल, #सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, #हनुमानढोका

तपाईको कमेन्ट लेख्नुहोस्