Techie IT
Mission Khabar

अनलाईन गायन प्रतियोगिता “हल अफ फेम सिजन २” आवेदनको समय नोभेम्बर १५ सम्म


अष्ट्रेलिया । एमएनटीभी अष्ट्रेलियाको प्रस्तुति अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ को घोषणा भएको छ । यो प्रतिस्पर्धामा सहभागी हुन प्रतियोगिहरुले आगामी नोभेम्बर १५ सम्म आवदेन दिन सक्नेछन् ।

निर्धारित समयसीमाभित्र प्राप्त भएका गीतहरुमध्येबाट टप ५० को छनोट गरी निर्णायक मण्डल समक्ष प्रस्तुत गरिनेछ । त्यसपछि क्रमशः खुला प्रतिस्पर्धामा समावेश गर्दै सर्वोत्कृष्ट गायक वा गायिकाको चयन हुनेछ । आम दर्शकले अफिसियल फेसबुकमार्फत अभिव्यक्त गरेको मत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा विजेताको घोषणा हुनेछ । “हल अफ फेम सिजन(२“ उपाधि जित्ने प्रतियोगीले पाँच लाख नेपाली रुपैयाँ बराबरको प्याकेज प्राप्त गर्नेछन् । जसमा एक लाख नगद, गीत रेकर्ड, म्युजिक भिडियो निर्माण लगायतको प्याकेज समावेश छ । हल अफ फेमसँग सम्बन्धित सबै सूचना तथा सामग्रीहरु प्रकाशित गर्ने उद्देश्यले  www.hof@mntvonline.com छुट्टै वेवसाईट समेत सञ्चालनमा ल्याइएको छ ।

आयोजक टिमले विश्व नै कोभिड १९ को महामारीको चपेटामा परेको यो विषम परिस्थितिमा गायन प्रतिभा प्रोत्साहनका लागि प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता “हल अफ फेम सिजन २“ शुभराम्भ गरेको दाबी गरेको छ । नेपाल र नेपालभन्दा बाहिर विश्वका कुना कुनामा छरिएर रहेका नेपालीहरुलाई नेपाली गीत संगीतको माध्यमबाट जोड्दै उनीहरुको सिर्जनात्मक क्षमता निखार्दै संगीत क्षेत्रलाई एउटा प्रतिभाशाली सर्जक प्रदान गर्ने उद्देश्य यो प्रतियोगितामा राखिएको छ । हल अफ फेमलाई एमएनटीभी अष्ट्रेलियाका साथै नेपालको एक राष्ट्रियस्तरको टेलिभिजनबाट समेत प्रशारण गर्ने योजना आयोजकको छ । विशुद्ध सांगीतिक प्रतिस्पर्धा हुने कार्यक्रमको निर्णायकको भूमिकामा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र चर्चित गायिका रजिना रिमाल रहनुहुनेछ । युवा पुस्तालाई जोड्दैजाने अभिप्रायले यस कार्यक्रमको सञ्चालन गर्ने जिम्मेवारी मिस ओसेनिया नेपाल २०२० जेमिना श्रेष्ठलाई दिइएको छ ।

एमएनटीभी अष्ट्रेलिया सन् २०१२ मा स्थापना भई निरन्तर सञ्चालनमा रहेको छ । यसको अध्यक्ष मेलबर्नका सफल व्यवसायी एवं सामाजिक अभियन्ता चन्द्र योञ्जन रहनुभएको छ भने सम्पादकीय नेतृत्व चिरञ्जीवी देवकोटाले गर्नुभएको छ । हल अफ फेम सिजन २ को संयोजन संस्थाका ब्रान्ड म्यानेजर रमन झा र चर्चित म्युजिक भिडियो निर्देशक जीवन रसाईलीले गर्नुहुनेछ । कार्यक्रमलाई मेट्स ईन्टरनेशनल र क्वीन्सफोर्ड कलेजले मुख्य प्रायोजन गरेको छ भने आरजीआईटी अष्ट्रेलिया, अल्टिमेट ईन्ष्टिच्युट अफ अष्ट्रेलिया युआईएले प्रायोजन गरेका छन् । यस्तै सिटी एक्सप्रेस मनी ट्रान्सफर, ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन, काठमाडौं प्रोपर्टीजको साथ रहेको छ ।

हल अफ फेम सिजन २ को मिडिया पार्टनरको रुपमा सेतोपाटी, अनलाईन खबर, क्यानडा नेपाल, रातोपाटी, नेप्लीज भ्वाईस, नेपाल ट्युब, नेप्लीज अष्ट्रेलियन, क्ल्याप बोर्ड, लाहुरी टिभी, ईनेपाल, हिमालय कंगारु, दि नेपाली टाईम्स अष्ट्रेलिया, लन्डन नेपाल न्यूज, खसोखासले साथ दिएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, मनोरन्जन, सकारात्मक सोच
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्