Techie IT
Mission Khabar

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी, यी हुन आज सपथ लिने सम्भावित मन्त्रीहरु


लुम्बिनी, काठमाडौं । लुम्बिनी प्रदेशमा गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दावी पेस गरिएको छ । नयाँ सरकार गठनका दावी पेस गर्न प्रदेश प्रमुखले दिएको २४ घण्टाको समयसीमा ३ बजे सकिँदै छ। ११ बजे प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गठबन्धनले सरकारको नयाँ नेतृत्वको लागि दावी गरेका हुन् ।

यो दाबी सहित केसी मुख्यमन्त्री बन्ने पक्का भएको छ । आजै सानो आधारको मन्त्रिमण्डल बनाउने उनीहरूको तयारी छ । गठबन्धनमा सहभागी तीनै दल माओवादी, कांग्रेस र जसपाबाट एक एकजना मन्त्री बनाउने तयारी गरिएको छ । मुख्यमन्त्रीको नियुक्ति लगत्तै चार सदस्यीय मन्त्रिमण्डल गठनको तयारी गरिएको छ । पहिलो चरणमा नेपाली कांग्रेसबाट डिल्ली चौधरी, फखरूद्दिन खान, वीरबहादुर रानामध्ये एकजना, माओवादीबाट सुदर्शन बराल, दामा शर्मा र तुलाराम घर्तीमध्ये एकजना र जसपाबाट सहश्राम यादव मन्त्री बन्ने बताइएको छ ।

कांग्रेसबाट पहिलो प्राथमिकतामा दाङबाट निर्वाचन जितेका डिल्ली चौधरी परेका छन् । उनलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने तयारी छ । चौधरी हाल लेखा समिति सभापति छन् । माओवादीका बराल यसअघि मन्त्री बनिसकेकाले महिलाको प्रतिनिधित्व गर्दै दामा शर्माले आज सपथ लिने बढी सम्भावना छ । एक सांसद रहेर गठबन्धनमा बसेको जनमोर्चाले भने तत्काल सरकारमा नजाने जनाकारी दिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि

तपाईको कमेन्ट लेख्नुहोस्