Techie IT
Mission Khabar

कोरोनाको कहर : महामारीमा आफ्नो दायीत्व पुरा नगर्ने राज्य र बेमतलबी नागरिक


पुण्य धमला, काठमाडौं । कोरोनाको सम्भावित जोखिम कम गर्न सिंगो राष्ट्रलाई लकडाउन गरिएको डेढ महिना बित्यो । स्वास्थ्य सामाग्री, परिक्षण किट र पीपीई लगायतको अभाव अझै टार्न नसकेको सरकार यति लामो समयमा केही हजार मात्रै पीसीआर परिक्षण गरेर कोरोनाको अवस्था र जोखिम एकिन गर्नै असफल भएको भन्दै चौतर्फी आलोचना भैरहेको छ ।

हुन त, प्रधानमन्त्री केपी शर्मा ओलीले नै कोरोना परिक्षण भनेजस्तो गर्न नसकेको स्विकार गर्दै हामी सबै सचेत भएनौँ भने भयावह अवस्था आउनपनि सक्छ भन्ने अभिव्यक्ति सहितको सन्देष प्रवाह गरेर सरकारको कमजोरी आफै सर्वजनिक गरेका छन् । लकडाउनलाई रातो, पहेँलो र हरियो क्षेत्र विभाजन गरेर केही खुकुलो बनाउने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समितिको योजना बारेको छलफलमा समेत प्रधानमन्त्री ओलीले कोरोना परिक्षणको दायरा बढाउन नसकिएको स्विकार गर्दै भारतको उच्च संक्रमण अनि मृत्युदरको जोखिम आँकलन गर्नुपर्ने बताएका थिए ।

यता, कोरोनाको सम्भावित महामारि बारे विश्व स्वास्थ्य संगठन लगायतले पटक पटक पूर्व जानकारी गराउँदा समेत बेवास्ता गरेर बसेको वर्तमान सरकारले कोरोना परिक्षण किट, स्वास्थ्य सामाग्री, पर्सनल प्रोटेक्ट इक्वीमेन्ट लगायतको जोहो गर्न नसक्नु नै अर्को कमजोरी बनेको छ । पर्टीभित्र आन्तरिक किचलो झेलिरहेका प्रधानमन्त्री ओली लकडाउनपछिको राहत वितरण, कोरोना परिक्षणको सुस्तता, स्वास्थ्य सामाग्रीको अभाव लगायतका कारण पार्टी भित्र र बाहिर निरन्तर आलोचित बनिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त विदेशबाट आएका नागरिकको व्यवस्थापन, कोरोना परिक्षण र स्वास्थ्य सामाग्रीको ब्यवस्थापन जस्ता महत्वपूर्ण काम गर्न नसकेर सरकार कोरोना रोकथाममा असफल साबित भएको दाबी गरिरहेको छ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मिसन खबरसँग भने–’सरकार विदेशबाट आएकाहरुलाई व्यवस्थित क्वारेन्टाईनमा राखेर सुरक्षित गर्न, सम्भावित व्यक्ति र क्षेत्रमा कोरोना परिक्षणको दायरा बढाउन र सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई सुरक्षा सावधानिका श्रोत साधन उपलब्ध गराएर आत्मबल बढाउने जस्ता महत्वपूर्ण कुरामा नै असफल बन्यो । राहत वितरणमा उस्तै भद्रगोल । यस्तो सरकारबाट आम नेपालीले कसरी कोरोना रोकथामको आशा गर्ने ?’

विश्वस्वास्थ्य संगठन लगायतका विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ संगठनले कोरोना रोकथामको एउटा उपाय लकडाउन भएपनि यसले मात्रै कोरोना नियन्त्रण र रोकथाम सम्भव नहुने बताइरहेको समयमा हामी नागरिक समेत सचेत बन्नुपर्छ । निरन्तर भैरहेको लकडाउन उल्लंघनका घटनाले आम नागरिक समेत सामाजिक दूरी कायम गराएर सुरक्षा सावधानी अपनाउन चुकेको हो कि भन्ने देखिएको छ । नागरिकस्तरमा समेत हेलचेक्राईले हद नाग्दा लकडाउनमा समेत भीडभाड यथावत देखिएको छ । परिक्षणको दायरा नबढ्दासम्म कोरोनाको अवस्था र जोखिम एकिन नहुने दाबी गर्ने जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डे भन्छन् – ‘लकडाउनमा जसरी पीसीआर परिक्षण बढ्नुपर्थ्यो त्यो हुन सकेन, परिक्षणको दायरा बढान नसक्दा जोखिम थप बढ्दो छ । प्रधानमन्त्री, मन्त्रीका सल्लाहकार, सरकारी बिज्ञहरु समेत बेमतलबी हुँदा आम नागरिक कोरोनाको जोखिममा बाँच्नुपरेको छ ।’

कोरोनाको सम्भावित संक्रमण रोक्ने प्रमुख दायीत्व सरकारको भएपनि सामाजिक दूरी कायम गर्दै आधारभुत सुरक्षा सावधानी अपनाउने दायीत्व तपाई हामी हरेक नागरिकको हो । सरकारले कोरोना जाँचलाई तिब्रता दिएर सम्भावित भय रोक्न अहिलेसम्म गरेका गल्ती र कमजोरी सच्याओस्, अनि तपाई हामी घरमै बसेर, सुरक्षा साबधानी अपनायर सरकारलाई साथ दिऔँ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्