Techie IT
Mission Khabar

सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज हुने !


काठमाडौं । पटक–पटकको निर्देशन अवज्ञा गर्दै चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमन गर्दै एमबीबीएस पढ्ने विद्यार्थीसँग सरकारले तोकेको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिर्दै अन्यथा कारबाही गर्ने चेतावनी दिएका हुन ।

अनुगमनको क्रममा मन्त्री पौडेलले कलेज प्रतिनिधिलाई भने, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानून लाग्छ ।’ मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन दिएका छन् । आन्दोलनरत विद्यार्थीका प्रतिनिधि, कलेज प्रशासन र जिल्ला प्रशासन कार्यालयलाई वार्तामा बसेर समस्याको समाधान खोज्न मन्त्री पौडेलले आग्रह गरे अनुसार शुक्रबार बिहान साढे १० बजे वार्ता हुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

यसअघि नै सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनीसहित शिक्षा मन्त्रायलका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारि गरेका थिए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क)मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धनको खारेजी गर्ने उल्लेख छ । विगतमा शिक्षा र गृह मन्त्रालयले समेत निर्धारित शुल्कभन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानूनबमोजिम कारबाही गर्ने भन्दै सम्बन्धित विश्वविद्यालयहरूलाई निर्देशन दिइसके स्मरण गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पौडेलले अब कारबाहीबाट पछि नहट्ने बताएका छन् ।

चिकित्सा शिक्षाको एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ । मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएको भन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरुले बढी शुल्क नबुझाउने विद्यार्थीलाई पठनपाठन र परीक्षा दिनबाट बञ्चित गराउँदै आएका छन् ।


क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्