Techie IT
Mission Khabar

महंगा विदेशी रक्सी बेच्ने ग्रीनलाइन सेन्टर प्रालिमा बैंकहरुको ताला, सञ्चालक दाजुभाई फरार


काठमाडौं । नेपालमा महंगा विदेशी मदिरा बिक्री गर्दै आएको ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालकहरु ऋण नतिरेर भागेपछि विभिन्न बैंकले कम्पनीमा शिलबन्दी गरेका छन् । बैंकहरुले सूचना टाँस गर्दै एक साता यता कम्पनीमा तालाबन्दी गरेका हुन् ।

कम्पनीका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवालले विभिन्न पाँच वटा वाणिज्य बैंकबाट करिब १ अर्ब रुपैयाँ बराबरको कर्जा नतिरेर सम्पर्कबाहिर गएपछि दुई वटा बैंकले सूचना टाँसेरै कम्पनीमा तालाबन्दी गरेका छन् । कम्पनीमा एक साता अघिदेखि तालाबन्दीका घटनाक्रम जारि छन् । अन्नपूर्ण आर्केड, दरबारमार्गमा रहेको कम्पनीको शोरुममा पुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकले तालाबन्दी पछि आफ्नै सुरक्षा गार्डलाई खटाएको पाइएको छ । कम्पनीले कति रकम तिनुपर्ने भन्ने प्रष्ट नभएपनि अग्रवाल दाजुभाइले नेपाल इम्भेष्टमेन्ट र एभरेष्टसहित विभिन्न पाँच बैंकको करिब १ अर्ब रुपैयाँ नतिरेर सम्पर्क बाहिर गएको विभिन्न बैंक स्रोतबाट प्राप्त जानकारीबाट खुलेको छ ।

दरबारमार्गमा रहेको कम्पनीमा भवन सञ्चालक एवं व्यवस्थापकले पनि सुरक्षा दिइरहेका छन् । एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले नेपालको सबैभन्दा पुरानो विदेशी मदिराको विक्रेता कम्पनी ग्रीनलाइनलाई ब्यालेन्ससिटको आधारमा दिइने हाइपोथेटिकल कर्जा दिएका थिए । यस्तो कर्जा बैंकहरुले कम्पनीको ब्यालेन्ससिट तथा अनुमानित स्टकको आधारमा दिने हुँदा यसमा ऋण बराबरको धितो राखिएको हुँदैन । ऋण राफसाफ हुनासाथ कम्पनीमा लागेको ताला खोलिने नेपाल इन्भेष्टमेन्ट बैंकले जानकारि दिएको छ । यता, एभरेष्ट बैंक व्यवस्थापनले भने सञ्चालकहरु कम्पनीमा नरहेको तर आफूहरुसँग थोरैमात्र ऋण लिएको र त्यसको धितो पर्याप्त रहेको जनाएको छ ।

पछिल्लो समय कम्पनीको कारोबार बढ्दै गएपनि कोरोनाको असर र तरलता अभाव बढ्दै जाँदा कम्पनीका सञ्चालकहरु ऋण नतिरी एक सातादेखि सम्पर्कबाहिर गएको बुझिएको छ । उद्यारोमा बिक्री गरेको मदिराको रकम नउठेपछि सञ्चालकहरु समस्यामा पर्ने डरले पहिले नै भाँगेको आँकलन गरिएको छ ।।


क्याटेगोरी : अर्थ / रोजगार, खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्