Techie IT
Mission Khabar

वर्षासँगै अव्यवस्थित प्लटिङमा पहिरो, कहाँ छ सरकार ? (फोटोडायरी)


काठमाडौं । काठमाडौं उपत्यका लगायतका विकशित सहरमा खाली ठाउँको अभाव बढ्दो छ। जग्गा व्यवसायीले काठमाडौंका समथर भूभागदेखी डाडापाखासम्म जग्गा प्लटिङ गरिसकेका छन् । केही छिटफुट स्थानमा गरिरहेका पनि छन् ।

पहाडका भिरमा सरकारी मापदण्ड र अनुमति विना गरिएका प्लटिङ वर्षाको पहिरोसँगै बगेका छन् । ग्राहक लोभ्याएर कमाउने उद्देश्यले कमसल संरचना बनाइएकाले अधिकांश प्लटिङमा वर्षे भेल पस्दा काम नलाग्ने भएर बगेको देख्न सकिन्छ । निजी क्षेत्रलाई व्यवस्थित बसोबासका लागि जग्गा टुक्रा पारेर प्लटिङ गरेर बिक्री वितरण गर्न दिने कानुनी अधिकार सिमित मात्रै भएपनि स्थानीय सरकारदेखी मालपोत नापीसम्मको आर्थिक साँठगाँठमा विभिन्न कानुनी छिद्र प्रयोग गर्दै यो काम भैरहेको छ । अधिकांश प्लटिङ स्थानीय सरकारसँग जग्गा सम्याउने अनुमति मात्रै लिएर मालपोतसँगको साँठगाँठमा कित्ताकाट गरेको पाइएको छ । अव्यवस्थित रूपमा गरिएका प्लटिङका कारण बर्सेनि बाढी पहिरोको समस्या बढ्दै गएपनि अनुमति दिने र नियमन गर्ने सरकारी निकाय आर्थिक लाभका कारण तै चुप मै चुप जस्तै छन् ।

बर्खायाम सुरु भएपछि बस्तीहरु अव्यवस्थित प्लटिङकै कारण जोखिममा परिरहेका छन् । काठमाडौंका सीमित क्षेत्र मात्र होइन, प्लटिङको समस्या उपत्यकासहित देशका धेरै स्थानमा छ । यस्ता जग्गा जमिन मिच्ने भूमाफियाका कारण काठमाडौं उपत्यकाका मुख्य नदी र खोलाको अवस्था समेत बर्खायाममा जोखिम बन्ने गरेको छ । यस्ता अव्यवस्थित प्लटिङले भौतिक संरचनासँगै स्थानीयवासीको अन्नबालीमा पनि ठूलो क्षति पुर्याएका छन् । प्लटिङ गर्नलाई खोलाको बगरसमेत छोडिएको छैन । बाँदर समेत लड्ने भीरपाखा समेत बाँकी राखिएको छैन । प्लटिङले जथाभाबी समस्या सिर्जना गरिरहे पनि स्थानीय सरकार र नियमनकारी संयन्त्र बेखबर जस्तै छ । कारण यो सब अबैध काम आर्थिक साँठगाँठमा भएको छ ।

खेतीयोग्य जमिनमा जथाभाबी खण्डीकरण रोक्न सरकारले २०७४ साउन २६ मा कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रूपमा बिक्रीवितरण गर्न गराउन नपाउने निर्णय गरेको थियो । यो निर्णयले नागरिकलाई समस्या भएको र भूमाफियासमेत मौलाएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५ पुस २७ मा भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानुन तर्जुमा नहुञ्जेल फर्म, संस्था वा कम्पनीले पालिकाको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गर्यो । मन्त्रालयको नयाँ निर्देशनमा पालिकाबाट खेतीयोग्य जग्गा होइन भन्ने लेखेर आए कित्ताकाट गर्न सकिने व्यवस्था छ । जथाभाबी प्लटिङका कारण अहिले धेरै समस्या सिर्जना भएका छन् । प्लटिङ गरिएका जग्गामा पहिरो गएको छ भने बस्ती नै जोखिममा परिरहेको छ । यसबारे सरकारी संयन्त्र कहिलेसम्म बेखबर ?

काठमाडौंका केही अवैध प्लटिङ, पहिरो र जोखिमका केही प्रतिनिधि दृश्यहरु यस्ता छन् :

विशंखुनारायण ।

ललितपुरको लेले थापागाँउ ।
ललितपुरको लेले ।

ललितपुरको झरुवाराशी ।

ललितपुरको चापागाँउ न्यौपाने गाँउ ।

ललितपुरको लामाटार सिस्नेरी ।
ललितपुरको लामाटार ।
ललितपुरको लामाटार सिस्नेरी ।

 

टोखा, तारकेश्वर

ललितपुरको लामाटार ।

 

समाचार श्रोत : उज्यालो


क्याटेगोरी : कृषी / उद्यम, खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्