Techie IT
Mission Khabar

श्रृङ्खला एक : बीपी राजमार्गको अस्थित्वमाथी पैसा र शक्तिको खेलवाड


काठमाडौं, जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी राजमार्गमा ३२ सिटका बस र १६ टनका ट्रक\टिपरलाई गुड्न दिने निर्णय गरेको छ । यस अघि १८ सिटसम्मका सार्वजनिक बस र माइक्रो अनि १० टन क्षमताका ट्रक\टिपरले यो रुटमा चल्न पाउँथे । साना गाडीको सिण्डिकेट अन्त्यका लागि निर्णय गरिएको भनेर मन्त्री रघुवीर महासेठले जसरी चलाखिपूर्ण तर्क दिएका छन्, तर यसको रहस्य अर्कै छ ।

पैसा र पँहुचवाला केही यातायात व्यवसायीले बीपी राजमार्गमा ठूला बस सञ्चालनको प्रयास निक्कै अघिदेखी गर्दै आएका थिए । तर विगतका प्रयास निर्माण पक्षको राय, सुझाब, प्राविधिक समितिको रिपोर्ट र राजमार्ग क्षेत्रका स्थानीयको दबाबका कारण सम्भव भएको थिएन । अझ, सर्वोच्च अदालतले समेत ठूला बस किन थप्नुपर्ने भन्दै प्राविधिक सुझावको किन अवज्ञा भन्दै स्टे अर्डर नै जारी गरेको थियो । नाम गोप्य राख्ने सर्तमा एक जना पूर्व सचिवले मिसन खबरलाई भनेका छन्, – मन्त्रीकी श्रीमति मार्फत केही यातायात व्यवसायीले मोटो रकमको प्रस्ताव पठाएको र त्यसैको प्रभावबाट यो निर्णय आएको हो । बीपी राजमार्गको जैबिकता र दिगोपन मास्नेगरि स्वार्थगत निर्णय गरिएको कतिपयको बुझाई छ ।

अझ, बिपी रमाजमार्ग आवश्यक मर्मत सम्भारको अभावमा १८ सिट क्षमताका सवारी चलाउँदा पनि सडक भासिने र पहिरो खस्ने जोखिममा छ । यो राजमार्गमा सानो क्षती पुग्यो भने पनि मर्मत धेरै खर्चिलो छ । तर यसलाई बेवास्ता गर्दै सरकारले ठूला बस र मालबहाक ट्रकलाई सञ्चान अनुमति दिने निर्णय गरेको छ ।

विगतमा गठन भएको स्वार्थगत समितिको प्रतिवेदन जुन यसअघि नै उल्टिएको त्यसैलाई आधार मानेर मन्त्रीको दबाबमा जसरी यो निर्णय भएको छ, यसले जैबिक मार्गको महत्व र आवश्यकताको पक्षमा नभई व्यवसायीक हितमा मात्रै काम गरेको छ । एक पूर्व सचिवले त यातायात व्यवस्था विभागका महानिर्देशकको इमान्दारिता र नीतिगत अडान लाभका लागि बाधक देखेपछि अबैधानिक तरिकाले फिर्ता गरिएको बताए ।
बिपी राजमार्ग बन्नासाथै भएको प्राविधिक अध्ययनले १६ सिटसम्मका सवारी मात्रै यो सडकमा गुड्न सक्ने देखिएको थियो, पछि माइक्रो पनि गुड्न नपाउने भएपछि व्यवसायीको दबावमा अर्को समिति मार्फत १८ सिटसम्मको भारबहन सिफरिस गरेको थियो । तर, व्यवसायीले यो रमाजमार्गमा ठूला बस र ट्रक चलाउन पाउनुपर्ने भन्दै दबाव दिएपछि दुई वर्ष अघि अर्को अध्ययन गरिएको बन्यो । विष्णु ओमवादे संयोजक रहेको समितिले ३५ सिटसम्मका गाडी चलाउन समस्या नहुने भन्दै विवादास्पद सिफारिस गरेपनि चर्को विरोध र सडकको अवस्था जीर्ण भएका कारण सरकारले १८ सिटसम्मका बस र १० टनसम्मका मालबहाक ट्रक मात्रै चलाउन दिने भन्दै समितिको निर्णयबाट पछि हटेको थियो ।

अहिले अध्ययनविना नै निर्णय गरिदा एसियाकै नमुना राजमार्ग मानिएको बीपी राजमार्ग जोखिममा पर्ने भएको छ । गतवर्ष मात्रै बिपी राजमार्ग, भासिएर झण्डै महिनादिनपछि मर्मत गरेर सञ्चालनमा आएको थियो । अहिले पनि विभिन्न ठाउँमा भासिने जोखिम छ । यी सबै कुरा बिर्सिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले व्यवसायीको लामो समयदेखिको इच्छा पुरा गरिदिएका छन् ।

मन्त्रालयको निर्णयसँगै अब यातायात व्यवस्था विभागले ३२ सिटसम्ममा बस र १६ टनसम्मका मालबहाक सवारीलाई यो राजमार्गमा रुट इजाजत दिने छ । सिण्डिकेट अन्त्यको भ्रम छर्न निर्णयमा कुनै कोटा नतोकिएकाले रुट माग्न आएका जति सबैलाई रुट इजाजत दिने विभाग बताउछ ।

पछिल्लो निर्णयअनुसार बसहरु अब विहान ५ बजेदेखि राति ८ बजेसम्म राजमार्गमा चल्न पाउनेछन् । मालबाहक ट्रकहरु भने रातभर मात्र चल्नेछन् । संवेदनशील विषयमा मन्त्रालयका कोठामा बसेर गरेको निर्णयले भविष्यमा कति क्षति पुर्याउछ त्यो भने हेर्न बाँकी नै छ । हामी बीपी राजमार्ग बिरुद्धको यो षड्यन्त्र नसच्चिदासम्म निरन्तर पर्दाफास गरिरहने छौँ ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, यातायात / यात्रा
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्