Techie IT
Mission Khabar

भूकम्प प्रभावित क्षेत्रमा पहिरोको जोखिम, त्रासदीमा बाच्दैछन २ हजार ४ सय १८ घरपरिवार


काठमाडौ–मनसुन सक्रिय भएसँगै भूकम्पबाट प्रभावित १८ जिल्लाका २ सय ८६ गाउँका २ हजार ४ सय १८ घरपरिवारमा पहिरोेको चिन्ता बढ्न थालेको छ । सरकारका विभिन्न निकायको संयुक्त भौगर्भिक अध्ययन प्रतिवेदनले २ सय ८६ गाउँलाई उच्च जोखिममा देखाएपछि स्थानीयमा पहिरोको चिन्ता बढेको हो ।

सरकारले पहिरो व्यवस्थापनको चर्का कुरा गरेपनि नारामै सीमित देखिएको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण पहाडी जिल्लाका अधिकांश भाग कमजोर भएको भूगर्भविद्को अध्ययनले नै देखाएको छ । जहा अहिले पनि पहिरोको उच्च जोखिम छ । भूकम्पपछि सुरु भएकोे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानी तथा भूगर्भ विभागका भूगर्भविद्हरुको प्रभावित जिल्लाका विभिन्न गाउँको भौगर्भिक अवस्थाको अध्ययन अहिले पनि जारी छ । तर सुरु भएको मनसुनको जोखिमबाट कसरी बच्ने सरकारसँग कुनै उपाय छैन ।

जोखिममा रहेका घरपरिवार सुरक्षित स्थानमा स्थानान्तरण गर्न न स्थानीय निकायले चासो दिएका छन् न सरकारले नै आवश्यक तयारी गरेको छ । बर्षा सुरु भएसँगै सयौँ बस्तीका हजारौं सर्वसाधारण भय र त्रासमा बाँचिरहेका छन् । भूकम्प प्रभावित १८ जिल्लाका २४ सय भन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा रहेको स्विकार गर्ने प्राधिकरण स्थानान्तरण नै जोखिम न्युनिकरणका भरपर्दो उपाय भनिरहेको छ । एकीकृत बस्तीमार्फत जोखिममा रहेका सबैलाई सुरक्षित स्थानमा सार्ने लक्ष्य भएपनि सबैलाई सुरक्षित गर्न दुई बर्ष लाग्ने प्राधिकरण बताउछ । भूगर्भविद्हरु भने जोखिममा रहेका बस्ती समयमै स्थानान्तरण गर्न नसके ठूलाठूला मानवीय र भौतिक क्षति हुनसक्ने बताउछन् ।
प्राधिकरणले जोखिम क्षेत्रका घरपरिवारलाई सुरक्षित ठाउँमा घर बनाउन भन्दै जग्गा किन्नका लागि प्रतिपरिवार २ लाख रूपैयाँ दिंदै आएको छ । तर यो अभियान प्रभावकारी बन्न सकिरहेको छैन । कूल अध्ययन गाउँको संख्या ९ सय ९३ रहेकोमा २ सय ८६ गाउँका ३ हजार ८ सय १८ घरपरिवार जोखिममा थिए । यी मध्ये २ हजार ४ सय १८ घरपरिवार अझै स्थानान्तरणको पर्खाइमा छन् । प्राधिकरणका अनुसार यी मध्ये १४ सय घरपरिवार स्थानान्तरणको क्रममा रहेका छन् । उच्च जोखिम नरहेपछि ३ सय १९ गाउँ सुरक्षित विधि प्रयोग नगरिदासम्म बस्न नमिल्ने अवस्थाका छन् । बाँकी ३ सय ८८ गाउँ भने सुरक्षित छन् ।

स्थानान्तरण गर्नुपर्ने ठूला बस्तीहरूः
नुवाकोट – घ्यामफेदी क्षेत्रका नेगीगाउँ ३२ घरपरिवार, सेल्चे २४, घ्याडाँडा २०, सिसप २८, सेलाली २०, चेतनगाउँका ७, उर्लेनी क्षेत्रका स्काल्चे, ठिंगसोल, स्याङ्तान, चिहानडाँडा लगायतका क्षेत्रमा ३ सय घरपरिवार , महाकाली क्षेत्रको कल्लेरी २७, ढकालथोक १०, कुदर ९, मरडाँडा ४, फाँटपुर १० घरपरिवार ।
दोलखा – सुस्माचेम्वावती क्षेत्रका बोसिम्पा ७६ र मावू माझखर्कका ३ घरपरिवार
धादिङ – तिप्लिङ सिम्पाली १८ घरपरिवार, लापा छाम्राङ १ सय २४ र अन्डर, किचेत, चेरप्रांगका दर्जनौं घरहरू सार्नुपर्ने
सोलुखुम्बु – यामर्खु ६, पंचांगस्थित दलित बस्तीका १० घरपरिवार
रसुवा – चिलिमे पाजुंग, केरावारीका ८६, समरथली लम्रंगका १०, सानो हाकु क्षेत्र ९४ घरपरिवार सार्नुपर्ने, यार्सा घोर्मु क्षेत्र ९०, यार्सा सागुर २९, राम्चे गुम्चेत १५, ठूलो गाउँ लायुंग १० र धुन्चे गुम्चेत ५ घरपरिवार स्थानान्तरण गर्नैपर्ने अवस्थामा ।
मकवानपुर – ठिगगाउँ क्षेत्रको देउराली पिपलडाँडा २० घरपरिवार, पञ्जनी क्षेत्र ४, खैराङ रजरंग १७ घरपरिवार ।

सिन्धुपाल्चोक – लिस्तीकोट गुम्बा १०, मार्मिङ लम्पाता २५, गुम्दा तपगाउँ ३१, बाह«बिसे रुमती १७, हेलम्बु घेवागाउँ १०, तातोपानी लिपिङ ७०, मेताङ लार्के १० र सेलाङ काल्चे टोल ५४ घरपरिवार ।
चितवन – दारेचोक तिनघरे ५, लोथर असिखई १२, लोथर वकार्ड ५ र काउले हेप्चेक १९ घरपरिवार उच्च जोखिममा ।
ललितपुर – प्युटार देउराली ७, चन्दनपुर भासगाउँ ४ र गिम्दी लुभाने ४ घरपरिवार
लमजुङ – घेर्मु उपल्लो चिप्ला २१ घर र १ विद्यालय, भोजे माचिंग ८ घर र १ विद्यालय, भोजे ३० घर, दुधपोखरी पिप्रु ७, फलेनी तल्लो मजखर्क ४ घरपरिवार ।
गोर्खा – केराउजा बेंसी र केराउजा गाउँ ३ सय ४८ घरपरिवार, उहिया माछाखोला १३, घतेखोला १५, लाप्राकमा ५ सय ७२ घर स्थानान्तरणको चरणमा ।
तनहुँ – शुक्लागण्डकी सेती नदी किनारा ३० घरपरिवार
काभ्रेपलाञ्चोक– नगरेगर्चे मदले टोल १० र भोल्देफिदिचे दर्जनौं घर सार्नुपर्ने जोखिममा ।

ओखलढुंगा – विलान्दु खानीगाउँ २४, प्राप्चा केउरेनी १०, हर्कपुर केराबारी १६, मङटार कात्तिके १४, टारकेराबारी मजुवा १७, रगनी ५, घुर्बिसे ७, पोकली लेते ७ घरपरिवार र सुनकोसी गाउँपालिकास्थिति आम्बोटेका दर्जनौँ घरपरिवार । जो मनसुन सक्रिय भएसँगै त्रासदीमा बाच्न बाध्य छन् ।


क्याटेगोरी : खोज / मिसन, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्