Techie IT
Mission Khabar

बढ्दो जनघनत्वले थप्दैछ काठमाडौंमा चुनौती, उपत्यकाका करिब साँढे २० हजार स्थानमा सिसी क्यामेरा जडानको आवश्यकता


काठमाडौं–देशको केन्द्रिय राजधानी पछिल्लो समय चुनौती र जोखिमको शहर बन्दैछ । बढ्दै गरेको जनघनत्वले सुरक्षा चुनौती बढाउँदै गर्दा सरकार सिसी क्यामेरा लगायतको प्रविधिबाट समस्या समाधानको प्रयासमा जुटेको छ ।

सुरक्षाका लागि २१ हजार ४ सय ४१ स्थानमा सिसी क्यामरा आवश्यक हुने भनेर महानगरीय प्रहरी कार्यालयले अध्ययन गरेको अवस्थामा अहिले ५ सय २९ वटा क्यामेरा मात्रै जडान गरिएका छन् । यी मध्येपनि ४ सय ६० क्यामेरा मात्रै चालू छन् । काठमाडौँमा ९ हजार १ सय १७, भक्तपुरमा ५ हजार ९ सय ८५ र ललितपुरका ६ हजार ३ सय ३९ स्थानमा क्यामरा राख्नुपर्ने आवश्यकता ठहर गरिएको छ । हरेक व्यक्तिलाई सुरक्षित भएको अनुभुति गराउन यो क्यामारा आवश्यक हुने प्रहरीको दाबी छ ।  सिसी क्यामरा जडान भए उपत्यकामा प्रहरी जनशक्ति थप गर्नुपर्ने निष्कर्ष निकालिएको छ । अहिले काठमाडौँमा ४०३, ललितपुरमा ३३ र भक्तपुर २४ वटा मात्रै क्यामराबाट शहरको निगरानी भइरहेको छ ।

प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय तहसँग समन्वय गरी तत्काल आवश्यक परेका स्थानमा सिसी क्यामरा जडान गर्ने अभियानलाई पनि निरन्तरता दिदैआएको छ । उपत्यकामा सबै २१ स्थानीय तहमा प्रहरी कार्यालयसमेत स्थापना भइसकेका छन् । उपत्यकाको सम्भावित अपराध रोक्न ८१ स्थानमा कन्ट्रोल रुम भेइकल (सिआरभी) राखिएका छन् । सिआरभी भेइकलले घटना घट्न नदिन र घटना भैहालेमा तत्काल घटनास्थलमा पुगेर अनुसन्धान तथा दोषीलाई पक्रने काम गर्दै आएको छ । यो पनि पर्याप्त छैन । काठमाडौँमा ५४, भक्तपुरमा ११ र ललितपुरमा १६ सिआरबी भेइकल राख्नुपर्ने आवश्यकता भएपनि हाल काठमाडौँमा ४५, भक्तपुरमा ११ र ललितपुरमा १५ सिआरभी भेइकल छन् । काठमाडौँ उपत्यकामा अहिले १८ वृत्त र तीनवटा परिसर र यी मातहत १ सय ६७ कार्यालय तथा चौकिबाट सुरक्षा प्रदान भैरहेको छ । उपत्यकाको १८ स्थानबाट प्रहरी कार्यालय थप गर्न माग गरिएपनि पुरा हुन सकेको छैन । काठमाडौँमा ११ हजार ३ सय १९ प्रहरी अधिकृत तथा जवानको दरबन्दी भएकोमा ९ हजार ३ सय ९८ मात्र कार्यरत रहेको देखिन्छ ।

बढ्दो जनघनत्वलाई व्यवस्थित र सुरक्षित गर्न सरकारले बिशेष निगरानी बढाउनु अत्यावश्यक जस्तै बनेको छ । बेलाबखतमा यति ठूलो सुरक्षा तैनाथी र निगरानी हुने काठमाडौंमै हुने अपहरण, हत्या लगायतका घटनाले हाम्रो समग्र सुरक्षाप्रतिको विश्वास घटाइरहेको छ ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्