Techie IT
Mission Khabar

मन्त्री अधिकारी सहित सातै जनाको शब काठमाडौं ल्याइदै, हेलिकोप्टर, पाइलोट र मौसम दुर्घटनाका कारक (फोटो डायरी)


काठमाडौं– बुधबार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना परेका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शब काठमाडौं ल्याउन लागिएको छ । बुधबार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव ताप्लेजुङमा काठमाडौं ल्याउने तयारी भइरहेको नेपाली सेनाले जानकारी दिएको हो ।

शव शंकलन गरिदै

दुर्घटनामा ज्यान गुमाएका ७ मध्ये चार जनाको शव बुधबार नै सुकेटारमा ल्याइएको थियो भने बाँकी ३ जनाको शव आज (बिहीबार) बिहान मात्रै सुकेटार ल्याइएको छ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिमपातका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएको थियो । सुकेटार विमानस्थलमा शव संकलन गरेलगत्तै काठमाडौँ पठाइने ताप्जेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको मन्त्री अधिकारीसहितको टोली पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको तारेभीरमा दुर्घटनामा परेको थियो । एयर डाइनेस्टीको बुधबार दुर्घटनाग्रस्त एक्विरेल हेलिकोप्टरको बाहन क्षमता १ प्लस ६ भए पनि लामो दूरीको यात्रामा पूर्ण भारसहित उडानमा लाने अभ्यास निकै कम रहेको बुझिएको छ । सिंगल इन्जिन हेलिकोप्टरमा भारबहन भन्दा बढी हुनेगरी पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको पाथिभराको आतिथ्यमा तीर्थयात्रा थियो या सरकारी काम ? यसबारे समेत छानबिन हुनुपर्ने माग उठेको छ । कतिपयले त पाथिभरामा केबलकारको सम्भाब्यता र शेर्पाको लगानी बारे सो स्थानामा गइएको भनेका छन्, यसको आधिकारिक सत्य भने बाहिरिएको छैन ।

सुकेटार विमानस्थलमा शव लग्दैगर्दाको दृश्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको छ । हेलिकोप्टर ११ः४५ मा पाथीभरा पुगेको थियो । दिउँसो पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए । तर लगत्तै एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी नगराई पाइलटले उडान भरेको पाइएको छ । यसमा यात्रुबाटै उडानको दबाब आएको हुनसक्छ । गृह मन्त्रालयले भने खराब मौसमका कारण दुर्घटना भएको बताएको छ ।

शव शंकलन र उद्धारमा खटिदै नेपाली सेना र प्रहरी

सामान्यतयाः मन्त्रीहरु सरकारी काजमा जाँदा र यात्रुहरुको संख्या बढी हुँदा सेनाको हेलिकोप्टर प्रयोग गर्ने गरिन्थ्यो तर बुधबार यस्तो गरिएन, लामो उडानको अनुभवन नभएको हेलिकोप्टर त्यो पनि खचाखच गरेर उडान भर्नु पनि एउटा ठूलो कमजोरी बनेको छ । घटना जे जसरी भएपनि राष्ट्र शोकमा डुबेको छ । सरकारले छानविनमार्फत यसको सत्यतथ्य बाहिर ल्याउनुका साथै हवाई असुरक्षाको दिर्घकालिन निवारण खोज्नुपर्छ ।

दुर्घटनास्थल, शब र हेलिकोप्टरको भग्नाबशेष

यता, हेलिकोप्टर दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले मन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्त्येष्टि गर्ने निर्णय गर्दै बिहिबार राष्ट्रिय शोक र सार्वजनिक विदा दिने निर्णय गरेको छ । हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाउने मन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुव भोचिभैया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसी प्रति हार्दिक श्रद्धाञ्जली ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्