Techie IT
Mission Khabar

ललितपुर महानगर ठूला व्यवसायीसँग लाचार, २१ करोड बढी कर उठाउन सकेन


ललितपुर । ललितपुर महानगरपालिका क्षेत्रका विभिन्न जग्गा भाडामा लिएर पेसा, व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदातासँग महागरले अझै कर उठाउन सकेको छैन ।

महानगरपालिका आफै ठूला करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी कर उठाउन बाँकी रहेको बताइरहेको छ । महानगरलाई २० लाखदेखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी रहेकाहरुमा मल, विद्यालय, क्याम्पस, डिपार्टमेन्ट स्टोर, सरकारी कार्यालयदेखी विभिन्न संघसंस्था छन् । पुल्चोकस्थित महानगरपालिका कार्यालयनजिकै रहेको लबिम मलले पाँच करोड हाराहारी कर तिर्न बाँकी छ । लबिम मल पाटन संयुक्त क्याम्पसको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर सञ्चालन भैरहेको छ ।

पाटन संयुक्त क्याम्पस र लबिम मल दुवै एकअर्कालाई देखाउँदै कर तिर्ने दायित्वबाट भागिरहेका छन् । पुल्चोककै सेल्सबेरी डिपार्टमेन्ट स्टोरले महानगरलाई करिब एक करोड कर तिर्न बाँकी छ । यो डिपार्टमेन्ट स्टोर महेन्द्र आदर्श माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर चलाइएको छ । सञ्चालन भएदेखि नै कर नतिर्ने एउटा विद्यालय हो डिएभी । धोबीघाटमा रहेको डिएभी स्कुलले तिर्नुपर्ने कर करोडौँ पुगेको छ । डिएभी स्कुलको स्थापनकाल पत्ता लगाउन वडालाई जिम्मा दिइएपनि कर उठाउन सकिएको छैन ।

अन्य कर नतिर्ने ठूला करदाता यस्ता छन्–
–सञ्चयकोष भवन, लगनखेलः १० करोड
–लबिम मल, पुल्चोकः पाँच करोड
–सहकारी विकास बोर्ड, हरिहरभवनः करिब दुई करोड
–सेल्सबेरी डिपार्टमेन्ट स्टोर, पुल्चोकः एक करोड
–डिएभी स्कुल, धोबीघाटः एक करोड
–बाल संगठन, जावलाखेलः एक करोड
–लिटिल एन्जेल्स स्कुल, हात्तीवनः ५० लाख
–पुल्चोक इन्जिनियरिङ क्याम्पसः २० लाख

महानगरपालिकाकै जग्गा लिजमा लिएर भवन बनाएको झम्सिखेलस्थित ब्रिटिस स्कुलले पनि स्थापनाकालदेखीकै कर तिरेको छैन । महानगरमै रहेको लिटिल एन्जल्स स्कुलले ५० लाख कर तिर्न बाँकी छ । जावलाखेलस्थित महानगरपालिकाको जग्गामा बनेको भवनबाट सञ्चालनमा रहेको बाल संगठन पनि कर तिर्नुपर्ने लिस्टमा छ । यता, थुप्रै सरकारी कार्यालय पनि कर तिर्नुपर्ने सूचीमा छन् । लगनखेलस्थित सञ्चयकोष भवनले १० करोड तिर्न बाँकी छ । सहकारी विकास बोर्ड पनि कर तिर्नुपर्ने सुचीमा छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसले महानगरपालिकाकै जग्गा भाडामा लिएर भवन बनाएको छ । उसले करिब २० लाख तिर्नुपर्ने रेकर्ड छ ।

यी ठूला करदातालाई लक्षित गर्दै ललितपुर महानगरले आर्थिक वर्ष ०७४\७५ मा भारी कर तथा जरिवाना छुटको अवसर दिएपनि करदाताले सदुपयोग गर्न सकेनन् । यता, महानगर पनि ठूला करदातासँग कर उठाउन सधै असफल बनिरहेको छ, किन ?


क्याटेगोरी : खोज / मिसन, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्