Techie IT
Mission Khabar

लकडाउनको निरन्तरतामा यस्ता गल्ती, जसले कोरोनाको महामारी बढाए


काठमाडौं । सरकारले कोरोनाको जोखिम न्युनिकरण तथा महामारी नियन्त्रणका लागि भन्दै लकडाउन लगाएको दुई महिना पुग्न लागेको छ । यो बीचमा विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने, सामान्य परिक्षण र संक्रमितलाई आइसोलेसनमा राख्ने बाहेक सरकारले केही गर्न सकेको छैन ।

करिब तीन चार महिनादेखी कोरोना रोकथामको पूर्वतयारी गरेको सरकारले क्वारेन्टाईन र आइसोलेशन समेत मापदण्ड अनुसारका बनाउन नसकेको तथ्यहरु बेला बेलामा सार्वजनिक भैरहेका छन् । क्वारेन्टाईनमा बस्नेहरु बस्न खानै समस्या भयो भन्दै भागिरहेका छन् । कोरोना पहिचान भएर आइसोलेसनमा उपचार गरिरहेकाहरु बस्न, खान र सौचालयमा समस्या भयो भन्दै गुनासो पोखिरहेका छन् । अनलाईन खबरका पर्सा सम्वाददाताले कोरोना पोजेटिभ भएपछि उपचारका क्रममा रहँदा चाउचाउ र बिष्कुटको भरमा कसरी कोरोनासँग लड्नु भन्दै स्वास्थ मन्त्रीलाई लेखेको खुल्ला पत्रले नै हाम्रो कोरोना रोकथामको तयारी कस्तो रहेछ भन्ने उदांगो पारेको छ ।

सरकार केही सयमा कोरोना पहिचान हुँदैमा आत्तिएको छ भने क्वारेन्टाइनमा बस्ने र आइसोलेसनमा उपचाररतहरु कोरोना रोकथाम तथा उपचारका पूर्वाधार हेरेर आत्तिनुपर्ने अवस्थामा छन् । सरकारले करिब डेढ महिना लामो लकडाउनमा कोरोना जाँचलाई प्राथमिकता राखेन । यसले समयमै कोरोना संक्रमितको पहिचान गर्न सकिएन । जब पछिल्लो दुई सातामा परिक्षणको दायरा बढाईयो त्यतिबेला पहिचान भएका संक्रमितको संख्याले नै सरकारको यो कमजोरी उजागर गरेको छ । कतिपय स्वास्थ्य क्षेत्रका जानकारहरु त सरकारले बेलैमा कोरोना संक्रमित पहिचान नगरेर गम्भिर गल्ती गरेको दाबी गरिरहेका छन् । सरकारी विज्ञहरुले नै थप जोखिमको आँकलन गरेर यो आरोपलाई पुष्टि गरिरहेका छन् ।

हुन त, सरकारले चैतको पहिलो साता नै अन्तर्राष्ट्रिय उडान स्थगित गरेर बिदेशबाट आउनेहरुबाट स्वदेश भित्रिन र व्यक्ति हुँदै समुदायमा सर्नसक्ने कोरोनाको जोखिम कम गर्न खोज्यो । तर नेपाल र भारतको खुल्ला सिमानाबाट भैरहेको आवतजावत रोक्न नसक्दा बढेको जोखिमको आँकलन बैलैमा गरेर सावधानी अपनाउन सकेन । भारतहुँदै नेपाल आएकाहरुमा कोरोना भाइरस संक्रमण पहिचान हुँदा उनीहरुका कारण प्रदेश दुई र पाँचमा उच्च जोखिमको आँकलन भैरहेको छ । लकडाउनअघि भारतबाट लाखौँ नेपाली स्वदेश फर्किए भने लकडाउनको समयमा सीमाबाट लुकिछिपी स्वदेश फर्किनेहरुको संख्या हजारौँ छ ।

अझ, सीमामा अलपत्र परेका हजारौँ नेपालीलाई बेवस्थित तरिकाले स्वदेश ल्याउन नसक्दा कोरोना व्यक्ति हुँदै समुदायस्तरमा फैलिने खतरा कायमै छ । नेपाल छिरिसकेका व्यक्तिहरूलाई उचित ढंगले परिक्षण गर्ने र क्वारेन्टाइनमा राख्न नसक्दा उनीहरूबाट नै संक्रमणले भयाबह रुप लिन थालिसकेको छ । जनस्वास्थ्यविद समेत रहेका डा. रविन्द्रनाथ पाण्डेय छिमेकी राष्ट्र भारतमा संक्रमितको संख्या बढ्दै जानु र नेपालले भारतसँगको सिमामा खासै कडाइ गर्न नसक्दा कोरोनाले महामारीको रुप लिने औल्याउँछन् ।

सरकारले कोरोना पहिचान तथा नियन्त्रणमा गरेका गल्तीहरु

  • आम नागरिकलाई बाध्य पारेर अनावश्यक भीडभाड र हिडडुल रोक्न नसक्नु ।

  • बन्दाबन्दीलाई मात्रै प्राथमिकता, नेपाल भारत सीमाको आवागमन रोक्न वा व्यवस्थित र सुरक्षित तरिकाले स्वदेश फर्काउन नसक्नु ।

  • विश्वसनिय मान्न नसकिने आरडीटी परिक्षणको भर परेर पीसीआर परिक्षणको दायरा बढाउन नसक्नु ।

  • कोरोना पहिचान भएका व्यक्तिको संक्रमण श्रोत पत्ता लगाउन तथा उनीहरुको ट्रेसिङलाई प्रभावकारी बनाउन नसक्नु ।

  • मापदण्ड अनुसारका सुरक्षित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन गर्न नसक्नु ।

लकडाउन गरेदेखी नै विज्ञहरूले पीसीआर परीक्षण विधिमा जोडदिएका थिए । तर सरकारले पिसीआर भन्दा आरडीटी किटलाई बढी प्राथमिकता दियो । यहि अविश्वसनिय जाँचका कारण कोरोनाको वास्तविक जोखिमको आँकलन गर्न गाह्रो परेको जनस्वास्थ्यविद् पाण्डेयको दाबी छ । लकडाउन भएपछि राजधानी लगायत अन्य ठुला शहरमा कार्यरत मजदुरहरूलाई सरकारले बेलैमा रातह दिन र व्यवस्थित तरिकाले घर फर्काउन नसक्दा पैदलै सयौं किलोमिटर हिँडेर घर पुगे । सरकारले विभिन्न ४२ विधाका उधोग पसल र औधोगिक क्षेत्र खोल्ने निर्णय गरेपछि तीनै मजदुर रातारात सहर छिर्दा जोखिम बढ्दो छ ।

लकडाउनको ओहोरदोहोरले अहिले काठमाडौं उपत्यका नै कोरोनाको उच्च जोखिमा परेको छ । लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न नै नसकेको सरकारले लकडाउन खुलेपछी के गर्ने भनेर समेत कुनै तयारी गरेको छैन । लकडाउनपछि समेत जारी रहने जोखिम बारे सरकारले समयमै पूर्वतयारी गर्नुपर्ने जनस्वास्थ्यविद डा रविन्द्रनाथ पाण्डेय बताउँछन् । लकडाउनको अवधी लम्ब्याएजस्तै परिक्षण र ट्रेसिङलाई तिब्रता दिएको भए बेलैमा संक्रमणको अवस्था पहिचान गर्न सजिलो हुन्थ्यो ।

देशभित्र जती कडाइका साथ लकडाउन भयो त्यही अनुसार नै सिमामा कडाइ गरेको भए यसरी कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने अवस्था पक्कै आउने थिएन । लकडाउन कार्यान्वयनमा चुकेको सरकार परिक्षणको दायरा बढाएर कोरोनाको अवस्था पहिचान गर्न क्रियाशिल बन्ने मात्रै होइन्, लकडाउन खुलेपछी कसरी अगाडि बढ्ने भन्ने बिषयमा गम्भिर बनोस् ।


क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्