Techie IT
Mission Khabar

कसरी लड्ने कोरोना महामारीसँग ? २ जनाको मृत्यु, यस्तो छ नेपालको स्वास्थ्य अवस्था


काठमाडौं । सुरुवाती समयमा कोरोना संक्रमित निकै कम पहिचान भएको नेपालमा पछिल्लो समस्य एकाएक संक्रमितहरु बढ्न थालेका छन् । पछिल्लो समय पहिचान भएका अधिकांश संक्रमित भारतबाट स्वदेश भित्रिएका छन भने उनीहरुकै कारण व्यक्ति हुँदै समुदायमा समेत संक्रमण सरेको पाईएपछि थप जोखिमको आँकलन गरिदैछ ।

भारतसँग सीमाना जोडिएका प्रदेश २ र पाँचलाई कोरोनाको उच्च जोखिममा राखेर सावधानी अपनाइदैगर्दा बागमती प्रदेशको काभ्रेमा एक सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएपछि काठमाडौं उपत्यका नै असुरक्षित बन्न थालेको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भयो । वैशाख ३० गते भारतबाट नेपाल आएका यी युवामा स्वास प्रश्वासमा समस्या आएपनि उपचार नै सुरु नगर्दै भएको मृत्युले कोरोना थप भयावह हुने आँकलन गरिदै छ ।

संक्रमित सय बाट ननाघ्ने आँकलन गर्ने स्वास्थ्य मन्त्रालयका बिज्ञ अनि नेपालमा कसैले ज्यान गुमाउनु पर्दैन स्थिति सामान्य रहन्छ भन्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चिन्ता नगर्न गरेको आग्रह र क्वारेन्टाइन, आइसोलेसन लगायतको पूर्वाधार व्यवस्थापनमा गरेको बेवास्ता अहिले झल्किदैछ ।

वीरगञ्जको नारायणी अस्पतालमा आइसोलेसनमा बसेका २ जना बिरामी भागे । यसअघि नै नारायणी अस्पतालमा बेडको अभाव भएर १८ जना संक्रमितलाई अस्पताल ल्याउन सकिएन । अहिले केही सय पहिचान हुँदै कतिपय संक्रमित स्कुल र मदरसामा राखेर उपचार गर्नुपर्ने बाध्यतामा छन् । संक्रमितको सङख्या बढ्नासाथ उपचार पाउन गाह्रो भएको महशुस हुनुले पूर्वतयारी गर्ने ४ महिना लामो समय पाउँदा पनि सरकारले केही नगरेको प्रमाणित गरेको छ ।

संक्रमित भागे गोली हान्ने आदेश दिनसक्ने सरकारले अस्पतालको अस्तव्यस्त आइसोलेसन वार्डका बारेमा कतै बहस गरेन । पहिलो केसबाट दोस्रो केस देखिन ५८ दिन लाग्दा सरकार कता हरायो कता । हुन त, संक्रमणको सुरुवाती चरणमा स्वास्थ्य मन्त्री सहित मन्त्रालयका अधिकारीहरुले १ बाट २ भयो अब १ सयभन्दा कट्न दिन्नौं भन्ने दाबी गरिरहे । केही राजनीतिक तथा विशेषज्ञता नै नभएका विज्ञको पूर्वानुमानको भर पर्दा स्वास्थ्य मन्त्री चिप्लिए, सरकार चिप्लियो, देशमा कोरोनाको महामारीसँगै जोखिम बढ्यो ।

अन्य देशमा कोरोनाले भयावह अवस्था सिर्जना गर्दासम्म नेपालमा संक्रमित एक हातको औंलामा गन्न मिल्ने भएपनि थप जोखिमको आँकलन गरेर राज्यले धेरै तयारी गर्न सक्नेमा बेवास्ता बढी भयो । अन्य देशमा भएको मानवीय क्षतिलाई नजरअन्दाज गरियो । परीक्षणको दायरा बढाउन चासो दिइएन । कतिपय जनस्वास्थ्य विज्ञ त महामारीविरुद्द लड्ने मानसिकता नै सरकारले नबनाएको भन्न थालेका छन् । पहिलो केस भेटिएको चार महिनासम्म कुनै गतिलो पूर्वाधार निर्माणमा ध्यान नदिनुले पनि सरकारको बेवास्ता आफै झल्किएको छ ।

जिवाणु वैज्ञानिक समिरमणि दीक्षित, संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी र जनस्वास्थ्य विज्ञ शरद वन्तले बारम्बार सरकारलाई भनिरहे । उच्चस्तरको सावधानी पुगेन भने नेपालमा कोरोना नियन्त्रण बाहिर जान सक्छ । तर सरकारले सुनेन । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पहिलो केस भेटिँदा पनि ५ वटा आइसोलेसन बेड, १ जनाको मृत्यु भइसक्दा पनि ५ वटै बेड । देशको केन्द्रीय अस्पतालको यो हालतले अन्य प्रदेशस्तरीय अस्पतालहरुको पूर्वाधार र अवस्था आफै झल्काउँछ । प्रदेशस्तरीय अस्पतालको आइसोलेसनमा बस्ने संक्रमित अस्त व्यस्त र भद्रगोल आइसोलेसन वार्डका कारण अन्य रोगले थला परिने चिन्तामा ।

आइसलोसेन बेड अभाव र भद्रगोल ब्यवस्थापन गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञहरु एक लाख मानिस संक्रमित भए पनि उपचार गर्न सक्ने दाबी गरिरहेका छन् । यता, स्वास्थ्य मन्त्रालयका विज्ञ टोलीले कोरोना संक्रमण र उपचारको आवश्यकता बारे गरेको अध्ययनले नै संक्रमण बढ्दा नेपालको स्वास्थ्य पूर्वाधारले धान्न नसक्ने देखाएको छ ।

यस्तो छ विज्ञको संक्रमण र उपचार बारेको आँकलन

पहिलो चरणको संक्रमण र उपचार : दुई हजार संक्रमित पुगेको अवस्थामा १६ सय जनालाई आइसोलेसनमा राख्नुपर्ने, उनीहरुमध्ये तीन सयलाई अक्सिजन सपोर्ट र एक सय जनालाई आईसीयू चाहिने आँकलन
दोश्रो चरणको संक्रमण र उपचार : दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुग्यो भने ४ हजार जनालाई आइसोलेसनमा राख्नुपर्ने ७ सय ५० जनालाई अक्सिजन सपोर्ट र २ सय ५० जनालाई आईसीयू केयर चाहिने ।
तेश्रो चरणको संक्रमण र उपचार : ५ हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा ८ हजारलाई आइसोलेट गर्नुपर्ने, १५ सयालाई अक्सिजन सपोर्ट र पाँच सयलाई आईसीयू चाहिनसक्ने आँकलन ।

आखिर नेपालको स्वास्थ्य अवस्था कस्तो छ त ?

मन्त्रालयको तथ्यांकअनुसार देशभर निजी र सरकारी अस्पतालको कुल बेड सङख्या नै २६ हजार नौ सय ३० छ । यी अस्पतालमा तीन हजार ७६ आइसोलेसन बेड छन् । जहाँ कोभिड १९ बाहेकका अन्य बिरामीहरूको पनि उपचार भैरहेको छ र गराउनुपर्छ । देशभरका अस्पतालमा १ हजार पाँच सय ९५ आईसीयू बेड, ८ सय ४० भेन्टिलेटर रहेको सरकारी आँकडा छ । देशभरका एक सय ९४ वटा अस्पतालमा मात्रै आईसीयू सुविधा छ ।
पूर्वाधार र सुविधाका आधारमा लेभलिङ गरिएका अस्पताल २७ मात्रै छन् । लेभल एक अस्पताल १३ वटा, लेभल २ अस्पताल १२ र लेभल ३ अस्पताल तीनवटा छन् । सरकारले डेन्जर जोन मानेको प्रदेश २ र ५ मा त अस्पताल र स्वास्थ्य पूर्वाधारको अवस्था भद्रगोल छ ।

सरकारको पूर्वतयारी र अन्य देशको भयावह तथ्यांक हेर्दा सरकारी विज्ञहरुले मात्रै होइन्, आम नागरिकले पनि कोरोना नियन्त्रण कठिन भनिरहेका छन् । अझ, पछिल्लो समय भारतबाट स्वदेश फर्किएकामा भाइरसको लोड बढी पहिचान हुँदा थप महामारिको आँकलन गरिदैछ । यस्ता संक्रमित एक जनाले १० र १० ले सयलाई संक्रमित गराउन सक्नेछन् ।

अझ, मृत्युपछि कोरोना पहिचान भएको पछिल्लो घटनाले कोरोनाको महामारी भित्रभित्रै भयाबह भएको त छैन भन्ने आशंका उब्जाइदिएको छ । सरकार नागरिकको ज्यानसँग खेलवाड होइन संक्रमणको पहिचान, जोखिमको आँकलन र सम्भावित उपचारको पूर्वतयारीमा गम्भिर बन्नुपर्छ ।


क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking, #corona update, #hot

तपाईको कमेन्ट लेख्नुहोस्