Techie IT
Mission Khabar

न्याय हेल्थको मनोमानी, ३७ कर्मचारी निकालेपछि भयो हंगामा


सुरज बस्नेत, दोलखा । कोरोना महामारीका बीच बजेट अभावलाई कारण देखाउदै दोलखा सदरमुकाम चरिकोटको प्रस्तावित चरिकोट अस्पतालबाट १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारी जागिरबाट निकालिए । प्राथामिक स्वास्थ्य केन्द्रलाई प्रस्तावित अस्पतालका रुपमा २०७२ माघ देखी व्यवस्थापन गरेर सञ्चालन गर्दै आएको न्याय हेल्थ नामक गैरसरकारी संस्थाबाट निकालिएका कर्मचारी अहिले कोरोना महामारीमा भएको बर्खास्तीको बिरोध गर्दै आन्दोलित छन् ।

कर्मचारी निकाल्नुपरेको कारण बारे जानकारी लिन हामीले न्याय हेल्थका स्वास्थ्य सेवा प्रमुख समेत रहेका अस्पतालका मेडिकल निर्देशक बिनोद दंगाललाई बारम्बार सम्पर्कको प्रयास गर्दा समेत उनी हामीसँग यसबारे जवाफ दिन तयार भएनन् । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुबाट वैदेशिक सहयोग लिएर निशुल्क स्वास्थ्य सेवा दिने शर्तमा सिधै स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर साँढे ४ बर्ष अघि न्याय हेल्थले लिएको यो अस्पतालले माहामारीकाबीच ठुलो संख्यामा स्थानिय कर्मचारी र स्वास्थ्यकर्मी हटाएपछि अस्पताल व्यवस्थापनप्रति असन्तुष्टि थप बढेको छ ।

यस अघिदेखी नै कर्मचारीले विदेशी दातबाट निशुल्क उपचारका लागी आएको सहयोग पारदर्शी नभएको, विभिन्न शिर्षकमा अनावश्यक खर्च देखाएर अनुदा दुरुपयोग गरिएको भन्दै स्थानीय तह लगायतका विभिन्न निकायमा छानविनको माग गरे पनि कसैले चासो देखाएनन । बरु बिना मापदण्ड स्वार्थ राखेर कर्मचारी हटाएको तथा तल्लो तहका कर्मचारीलाई विभेद र दुब्र्यबहार गरेको बारे समेत स्थानीय तह प्रदेश मन्त्रालय लगायत कसैले चासो राखेका छैनन । अस्पतालमा एनजिओ र प्राथमिक स्वास्थ्य केन्द्र तर्फका सरकारी दरबन्दीका गरेर दुईथरी कर्मचारी कार्यरत छन् ।

हटाईएका कर्मचारीमा प्राय नर्स, हेल्थ असिस्टेन्टदेखी तल्लो तह सम्मका छन् । यस्तै, एनजिओ तर्फको व्यवस्थापन समुहमा कार्यरतहरु समेत हट्ने सुचीमा परेका छन् । व्यवस्थापनबाट हटाइएकामा सरसफाईका ७ जना, सुरक्षाका १, प्रयोगशालाका २, फार्मेसीका १, नर्सिङ सेवाका ४ जना, आकस्मिक सेवाका ३ जना, सामुदायिक स्वास्थ्य कार्यक्रमका ९ जना, स्टोर र मानव संशाधन विभागका ५ जना, बिरामी सहयोगी ३ जना र प्रविधिक शाखाका २ जना रहेका छन् ।

अस्पताल सञ्चालन गर्न बजेट अभाव भए अस्पतालका अन्य अतिरिक्त खर्च घटाउनुपर्ने वा तलब समायोजन गरिनुपर्नेमा आफुहरुलाई बिना कारण भेदभावपूर्ण तरिकाले निकालिएको भन्दै कर्मचारीले संघर्ष समिति नै गठन गरेर चारदिनदेखी आन्दोलन शुरु गरेका छन् । कर्मचारी आन्दोलन समितिका संयोजक सन्तोष पोखरेलले अस्पताल व्यवस्थापन अन्यायपूर्ण निर्णय तत्काल सच्याउन तयार नभए आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्नेगरी आन्दोलन गर्न बाध्य हुने बताउँछन् ।

सुरुवात देखी नै सेवा सुविधामा चरम विभेद, सहयोग रकम दुरुपयोग लगायतको विवादमा मुछिएको थियो, न्याय हेल्थ स्वास्थ्य सेवा । यहाँ एनजिओतर्फ अनुदानको यति धेरै लुट छ भन्नेकुरा अस्पतालका एनजिओ तर्फ काम गर्ने एउटै चिकित्सकले ३ लाख ८० हजार रुपैँयासम्म तलब खाने गरेको तथ्यले आफै उजागर गरेको छ । आवास, खाना र यातायातबाट बर्षेनी करोडौँ खर्च निकालेर अनुदान हिनामिना भैरहेको छ । आन्दोलन समितिका संयोजक पोखरेल अनावस्यक खर्च घटाउनुको साटो १८ हजार रुपैंया तलब खाएर परिवार पाल्ने कर्मचारीलाई अन्यायपूर्ण तरिकाले छानी छानी कारबाही गर्नुमा एनजीओ प्रशासनको गलत नियत भनिरहेका छन् ।

पीडित कर्मचारीले त तल्लो तहका कर्मचारीलाई विभेद र दुब्र्यबहार गरेको भन्दै न्याय हेल्थका स्वास्थ्य सेवा प्रमुख समेत रहेका अस्पतालका मेडिकल निर्देशक बिनोद दंगालको राजीनामा माग गरिरहेका छन् । पुनर्वहालिको माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीलाई न्याय हेल्थले वार्तामा बोलाएपनि स्वार्थ र अनियमिततामा रमाएको एनजीओले निकालिएका कर्मचारीको माग सहजै स्विकारेर समस्याको समाधान हुने देखिदैन ।

अनुदान झ्वाम, प्रस्तावित मै सिमित अस्पताल

न्याय हेल्थले सदरमुकाम चरिकोटको प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ बेडको अस्पतालका रुपमा विकास गर्ने प्रस्ताव सहित स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएको ४ बर्ष बढी हुँदा समेत स्तरउन्नती र पूर्वाधार सुधारको काम भएको छैन । अस्पताल बन्ने प्रक्रिया मन्त्रालयमा थन्किनुमा एनजिओका पँहुचवाला कर्मचारीको हात रहेको कतिपय कर्मचारी नै बताइरहेका छन् ।

अस्पताल बनाउदा स्वास्थ्य मन्त्रालयबाटै दरबन्दी सिर्जना भएर कार्यालय प्रमुखका रुपमा माथिल्लो तहका डाक्टर आउँछन् । यहि कारण अस्पताल सञ्चालनको नेतृत्व आफ्नो हातबाट फुत्कीन नदिन न्याय हेल्थका पहुँचवाला कर्मचारीले अस्पताल बनाउने प्रक्रिया अगाडी बढाउन चासो देखाएका छैनन । यतिलामो समयसम्म प्रस्तावितमा मात्रै सिमित भएको अस्पतालबारे स्वास्थ्य मन्त्रालयले चासो नलिनु आफैमा शंकास्पद छ ।


क्याटेगोरी : अर्थ / रोजगार, खोज / मिसन, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्