Techie IT
Mission Khabar

सीआईबीको १६ वर्षे खोजी, हाई प्रोफाइल वन्यजन्तु तस्कर पक्राउ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विदेश घुम्दै नेपालका वन्यजन्तु तस्करी गर्ने एक जना हाई प्रोफाइल वन्यजन्तु तस्करलाई पक्राउ गरेको छ । फरार भएको करिब १६ वर्षपछिपक्राउ परेका कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङ सीआईबी र इन्टरपोलसमेतको सर्वाधिक खोजीको सूचीमा रहेका व्यक्ति हुन् ।

२०६२ को भदौ १६ गते रसुवाको साविक स्याफ्रु गाविस ९ मा बाघ, चितुवा र ओंतसहितका वन्यजन्तुको ठूलो संख्यामा अंग बरामद गरिदा उनै लामाको नाम जोडिएको थियो । वन्यजन्तुका विभिन्न ठूला अपराधमा संलग्न देखिएका लामाको नागरिकता र बोलाइने नाम फरकफरक भएको तथा उनको नामसँग मिल्ने धेरै व्यक्ति भएकाले प्रहरीले लामो समयसम्म समात्न सकेको थिएन । हुम्लाको नाम्खा गाउँपालिका ६ (साविक लिमि गाविस ४) का स्थायी बासिन्दा लामाको अस्थायी ठेगाना काठमाडौं, बौद्ध हो ।

लामटाङ राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएका लामालाई अहिले धुन्चेस्थित निकुञ्ज कार्यालयको थुनुवा कक्षमा राखिएको छ । संशोधित निकुञ्ज ऐनमा बाघलगायतका संरक्षित वन्यजन्तुको कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद, ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।


क्याटेगोरी : खोज / मिसन, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्