Techie IT
Mission Khabar

सुरु भएन निशुल्क उद्धार, स्वदेशमा गाडी चढ्दा समेत ठगिन्छन विदेशबाट आउनेहरु


काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका आफ्ना नागरिकप्रती दया माया देखाएजस्तो गरेर उद्धार थालेको पनि एक महिना बित्यो । यो बीचमा २१ हजार बढी नेपालीहरु स्वदेश फर्काइएका छन् । कुवेत, युएई, साउदी अरेबिया, मलेसिया, बंगलादेशबाट, कतार, माल्दिभ्स, जापान, अस्ट्रेलिया, बहराइन, थाइल्याण्ड, ओमान, अमेरिका, दक्षिण कोरिया, सिंगापुर, बेलायत, हङकङ, पाकिस्तान, म्यानमार, अफगानिस्तान, श्रीलंकाबाट दसौँ हजार नेपालीको उद्धार भइरहँदा कुबेल र खाडी मुलुकमा समस्यामा परेका वास्तविक पीडितहरुले स्वदेश फर्किने मौका अझै पाएका छैनन ।

सरकारले निशुल्क उद्धारको कार्यबिधी बनाएको दाबी गरेपनि अहिलेसम्म विदेशमा समस्यामा परेकाहरु स्वदेश फर्किन नै पाएका छैनन । आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने, रोजगारी गुमाएका, भिषा सकिएका तथा श्रम स्वीकृत नलिई गएकाहरु सरकारको उद्धार प्राथमिकतामा नपर्दा स्वदेश आउनेहरु समेत निरास बनेर फर्किने गरेका छन् । बिदेशबाट हुने उडानमा सामान्य समयभन्दा दोब्बर तेब्बरसम्म टिकट शुल्क तिरेर स्वदेशमा पाइला टेक्नेहरुमा खुसी भरिन पाउँदा नपाउँदै गाडी भाडा, खानपान र क्वारेन्टाइन शुल्कको चिन्ताले पिरोल्नेगर्छ । उनीहरु आफूहरुलाई महंगो खर्चको भार बोकाएर सरकारले उद्धार र सहयोगको नाटक मात्रै गरेको गुनासो पोखिरहेका छन् ।

स्वदेशमा आउँदा आफुले ल्याएको समान निकाल्ने राख्ने समस्या त छदैछ, गाडीका लागि समेत यति र उती भन्दै बार्गेनिङ गर्नुपर्छ । सरकारले कार्यविधि बनाएर विदेशमा फसेकाहरुको उद्धार थालेपनि होल्डिङ सेन्टरबाट स्थानीय क्वारेन्टाइन वा होटल क्वारेन्टाइनमा पुग्दा ब्यहोर्नुपर्नेे भाडा जतिपनि असुल्न निश्चित ब्यवसायीलाई छुट मिलिरहेको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका उपाध्यक्ष किरण कुमार रिजाल सीसीएमसीले होल्डिङ सेन्टरबाट यातायात व्यवस्था विभाग मार्फत विभिन्न ठाउँमा सहुलियत भाडामा पुर्याउने कार्यको व्यवस्थापन गर्ने भनेपनि उद्धार उडानबाट स्वदेश फर्किएकाहरु होल्डिङ सेन्टरबाट गर्नुपर्ने यात्रामा ठगिएको बताउँछन् । विभागले आफूहरुलाई कुनै जानकारी नगराई यात्रुलाई महँगो भाडादरमा घर जान बाध्य पारेको दाबी गर्ने सार्वजनिक यातायात केन्द्रीय महासंघ होल्डिङ सेन्टरबाट बिना टेन्डर, बिना कोटेशन र बिना सूचना अनाधिकृत व्यक्तिहरुमार्फत यातायात व्यवस्था विभागबाट तोकिएको भाडादर विपरितको भाडा लिएर ठगी गरिएको दाबी गरिरहेको छ ।

विभागले तोकेको भाडादरमा तराई क्षेत्रमा ४० प्रतिशत, पहाडी क्षेत्रमा ५० प्रतिशत र उच्च पहाडी क्षेत्रमा ६० प्रतिशत भाडा लिएर सेवा उपलब्ध गराउन सकिने भए पनि सिमित व्यवसायी, यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक महाशाखा, सीसीएमसीकै मिलेमतोमा समस्यामा परेर स्वादेश आएकाहरुमाथी ठगि भइरहेको कतिपय यातायात व्यवसायीकै आरोप छ । केही व्यवसायीले त क्वारेन्टाइनबाट स्वदेश फर्किएका यात्रुबाट गाडीको ४५ हजार उठाएर आफूहरुलाई २५ हजार मात्रै दिइएको भन्दै गाडी नै फिर्ता गरेर उद्धार उडानबाट आएका यात्रु बोक्न छाडेका छन् । तर होल्डिङ सेन्टरमा केही एजेन्ट राखेर गाडीमा महंगो भाडाको बार्गेनिङ चलिरहँदा सीसीएमसी, यातायात व्यवस्था विभाग, ट्राफिक सबै बेखबर जस्तै छन् ।

के भन्छ यातायात व्यवस्था विभाग ?
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल सीसीएमसी, नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर सवारी साधन उपलब्ध गराउन आग्रह गरिएको बताउँछन । विभागले टेण्डर हालेर, कोटेशन निकालेर गर्नुपर्ने विषय नभएको र सवारी उपलब्ध गराउने विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्न आग्रह गरिएको उनको दाबी छ । सरकारले तोकेको भन्दा बढी भाडा असुलेको बारे विभागले चासो नै देखाएको छैन ।

नियमनको समेत जिम्मेवारी पाएको विभाग विदेशबाट नेपालमा कति मानिस भित्रिए र कति मानिससँग कति भाडा लिएर होल्डिङ सेन्टरबाट पठाइयो भन्ने सूचना दिन समेत सकिरहेको छैन । ट्राफिक र विभागको मौनताले समेत विदेशबाट आएकाहरु सेटिङमा ठगिएका त छैनन भनेर शंका गर्ने प्रशस्तै ठाँउ दिएको छ । विदेशबाट स्वदेश आएकाहरुसँगै अन्य यात्रु राखेर समेत देशका विभिन्न स्थानमा पठाउने काम भैरहेको गुनासो बढिरहेको छ । यतिमा मात्रै सकिदैन केही सिमित यातायात व्यवसायीको ठगी धन्दा काठमाडौंको बसपार्क, कोटेश्वर कलंकी लगायतका क्षेत्रमा कहाँ जाने हो यो दिन गाडी जान्छ, भाडा यति उती भन्दै मोलमोलाई चल्छ । बसपार्कबाट इटहरी पुगेको २५ सय देखी ३५ सय तिर्न तयार हुने हो भने अहिले पनि बुलेरो लगायतका भाडाका र नीजि गाडीहरु सहजै मिल्छन् । केही माइक्रो र बस समेत पासको सेटिङ मिलाएर यात्रु ओसारिरहेका छन् । स्थानीय तह, सिडियो कार्यालयको चिनजान र सम्बन्धबाट जुटाइएको पासको दूरुपयोग गर्दै मनलाग्दी, महंगो भाडा असुलेर यात्रु बोक्ने गरेको बारे पनि सिंगो राज्य संयन्त्र बेखबर छ ।

पहिलो नम्बरमा सरकारले विदेशमा वास्तबमै समस्यामा परेकाहरुको उद्धार भन्दा उडान भाडा लगायतको पैसा खर्च गर्नेहरुलाई प्राथमिकता दिएर समस्यामा परेका आफ्ना नागरिकमाथी बेइमानी गरेको छ । अर्कोतर्फ ऋण धन गरेर स्वदेश आइपुगेकाहरुबाट केही सिमित यातायात व्यवसायीका लागि महंगो भाडा उठाउन लगाएर ठगीमा साथ दिएको छ । अझ, पासको दूरुपयोग गर्दै काठमाडौंमा समस्यामा परेको भन्दै देशका विभिन्न स्थानमा जानेहरुसँग चोकचोकबाट महंगोभाडा उठाएर लैजाने छुट । यसरी उपभोक्तालाई ठग्नेछुटसहित कोरोनाको जोखिम बढाउने काममा यातायात व्यवसायी महासंघसँगै राज्यका उच्च पदस्थले कहिलेसम्म भुमिका खेल्ने । आम नागरिकले प्रश्न गरिरहेका छन् ।


क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्