Techie IT
Mission Khabar

नेपालमा कोरोना कहर : काठमाडौं, वीरगंज, विराटनगर सहित जनघनत्व बढी भएका शहर उच्च जोखिममा

लक्षण सहितका संक्रमित बढ्दा महामारीको जोखिम


काठमाडौं । लकडाउन खुलेसँगै नेपालमा लक्षणसहितका कोरोना संक्रमितहरु बढ्न थालेका छन् । मृत्युदर ह्वात्तै बढेको छ । कतिसम्म भने पछिल्लो एक सातामा अघिल्लो साताभन्दा ५० प्रतिशतले संक्रमित बढेका छन् भने मृत्युदर २ सय प्रतिशतले बढेको छ ।

सरकारले साउन ७ गते पूर्ण रुपमा लकडाउन खोलेपछिको १२ दिनको अवधिमा १९ जनाको कोरोना कै कारण मृत्यु भएको छ भने २४१० जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये ६० प्रतिशतभन्दा धेरैमा स्वासप्रश्वासको समस्या देखिएको छ । लक्षणसहितका संक्रमितहरु धमाधम बढ्दै जाँदा कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ ।

मृत्युदरको पछिल्लो श्रृङ्खला
सोमबार मात्रै पनि विराटनगरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । गत शनिबार वीरगन्जमा २ महिलाको कोरोनाकै कारण मृत्यु भयो । वीरगन्ज १६ नगवा बस्ने ६० वर्षीया र ५० वर्षीय महिलाको वीरगन्जको बयोधा अस्पतलामा उपचारका क्रममा मृत्यु भएको हो । पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भयो । उनी गत साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । ललितपुर थसिखेलकी स्थायी बासिन्दा उनी केही दिन अघि वीरगन्जबाट आएकी थिइन् ।

बिहीबार एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु भयो । वीरगंज महानगरपालिका– ११ श्रीपुरका ५६ वर्षीय पुरुष, वीरगंज महानगरपालिका–१६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर–२ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको कोरोनाले मृत्यु भएको हो । ललितपुर महानगरपालिका वडा नं २२ का एक जना पुरुष, अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

जोखिम झन-झन बढ्दै
यो बिगत केही दिनयताको तथ्यांकले नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तिब्र गतिमा बढेको देखाउँछ । अझै केहि दिन यता त एकै दिनमा २/३ जनासम्मको कोरोनाबाट मृत्यु हुन थालेको छ । संक्रमितमा स्वासप्रश्वासमा समस्या देखिनेसहितका कोरोना लक्षण देखिनु र मृत्युदर ह्वात्तै बढ्नुले नेपालमा कोरोना डरलाग्दो बन्दै गएको विज्ञहरु बताउँछन् । सरकारले लकडाउन खोलेसँगै बजारमा भीड बढेको छ । स्वास्थ सावधानी, भौतिक दूरी कायम नगरि भएको वोवास्था सहितको भीडले जोखिम पनि बढाएको छ ।

भीडसँगै संक्रमण व्यवस्थापन गर्न नसक्दा झनै समस्या बढेको जनस्वास्थ्यविद डा रविन्द्रनाथ पाण्डे बताउँछन । सरकार र नागरिकमा यहि खालको बेवास्ता कायमै रहे नेपालमा कोरोनाले भयावह रुप लिने खतरा बढ्ने पाण्डेको दाबी छ । पछिल्लो समय कोरोना संक्रमितहरुमा रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिने, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेको छ । काठमाडौं उपत्यकामा शनिबार थपिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको थियो । वीरगन्जमा पछिल्लो समय भेटिएका अधिकांश संक्रमित लक्षण सहितका छन् । पर्सामा संक्रमण समुदाय स्तरमा फैलिएपछि झनै त्रास बढेको छ । बिज्ञहरुले कोरोनाले स्वरुप परिवर्तन गरेकाले अब झन बढी संयम हुन आग्रह गरेका छन । जनस्वास्थ्यविद डा. सुन्दरमणी दिक्षित अबको केही दिनमा नै कोरोनाले भयाबह रुप लिने अवस्था सिर्जना भएको जिकिर गर्छन । नेपालको हकमा अबको केही हप्ता कोरोनाको उच्च जोखिम रहने डा.दिक्षितले बताए ।

लकडाउन खुकुलो हुँदै जानु र लक्षणसहितका संक्रमित बढ्नुले धेरैमा सरेर अवस्था झन बढी भयाबह हुने आँकलन जनस्वास्थ्यविदहरुले गरेका छन् । जनस्तरबाट पुनः लकडाउन गरेर भएपनि कोरोना रोकथाम गर्नुपर्ने आवाज उठ्न थालेको छ । सरकारले जोन छुट्ट्याएर जोखिम न्युनिकरण गर्न ढिलाई गरे भारतमा जस्तै कोरोनाले खतरनाक रुप लिने जनस्वास्थ्यविदले सरकारलाई चेतावनी दिएका छन् । हुनत सरकारले समेत जोखिमको आँकलन गरेको छ । साँझको ७ बजेदेखि बिहानको ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक पनि लगाइएको छ । उपत्यकामा संक्रमितको संख्या दिनदिनै बढेसँगै १२ वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्धवृद्धालाई घरबाहिर ननिस्कन अपिल गरिएको छ । तै पनि कोरोनाविरुद्ध फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा तथा घरमै बसेका स्थानीयमा धमाधम संक्रमण पहिचान हुँदा स्थिति थप भयाबह बन्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।

पछिल्लो संक्रमणको तथ्यांकले जनघनत्व बढी भएका शहरहरु कोरोना हबका रुपमा परिणत हुने चिन्ता बढाएको छ । सरकारले लकडाउन खोलेसँगै कोरोना नै टरेजसरी भइरहेको बेवास्ता र भीडभाड रोक्न नसक्ने हो भने कोरोनाले महामारीकै स्वरुप लिनसक्छ । सरकार नागरिकको जीउ धनको रक्षामा गम्भिर बनोस, तपाई हामीले भौतिक दूरी सहित स्वास्थ्य सावधानीको अभ्यास गरौँ ।


क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #कोरोना, #जनघनत्व बढी भएका शहर, #जनस्वास्थ्यविद, #डा. रविन्द्रनाथ पाण्डे, #डा. सुन्दरमणी दिक्षित, #नेपालमा कोरोना, #मृत्यु, #रुघाखोकी, #लकडाउन, #श्वासप्रश्वासमा समस्या, #सुरक्षाकर्मी, #स्वास्थ्यकर्मी

तपाईको कमेन्ट लेख्नुहोस्