Techie IT
Mission Khabar

गोंगबु हत्याकाण्ड : एउटी महिलाको कोठामा अस्ताएको जीवनलिला


काठमाडौँ । काठमाडौंको निकै व्यस्त मध्येको एउटा चोक गोंगबु । यहि चोकबाट दायातर्फको करिब २ सय मिटर भित्र छिरेपछि आउँछ नवज्योती मार्ग । दायाँतर्फको चारतले घर । आसपासका स्थानीयले ‘झापाली दाई’ भनेर चिन्ने किरण बस्नेतको घरको तेश्रो तलामा शनिवार राती दाङका कृष्ण बहादुर बोहराको हत्या भएको थियो ।

आइतबार विहान घरबाट ५० मिटर पर सुटकेशमा प्याक गरेको अवस्थामा टाउको र खुट्टा बिनाको कृष्ण बहादुरको शव भेटियो । शव फेला परेको २ सय मिटरको दुरीमा जेब्रा झोलामा प्याक गरेर खाली चौरमा फलिएको अवस्थाको टाउको र दुईवटा खुट्टा तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले पत्ता लगायो । घनावस्तीको बिचमा त्यो पनि केही घण्टा अघि हत्या गरेजस्तो देखिने आलो रगत सहित फेला परेको शव पहिचान गर्न हम्मे हम्मे परेपछि प्रहरीले सञ्चारमाध्यममा मृतकको फोटो सार्वजनिक गरेको थियो । यही फोटोका आधारमा कृष्णबहादुरका मामा महानगरीय प्रहरी वृत महराजगञ्जमा पुगे । यसपछि खुल्यो कृष्णबहादुर नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे ।

यत्ति क्लू पाएको प्रहरीका लागि अब बाँकी तथ्य पत्ता लगाउनु थियो । प्रहरी घटनास्थल विश्लेषण र अनुसन्धानका केही तथ्यहरु केलाउँदै हत्या भएको घरसम्म पुग्यो । जुन घरको तेस्रो तल्लामा दुई बच्चा सहित बस्थिन् कल्पना शाही । उनकी एउटी छोरीको विवाह समेत भैसकेको रहेछ । कल्पनाकै कोठामा पहिला बिष खुवाएर कृष्णबहादुरको जीवनलिला समाप्त पारेर मृत शरिरलाई टुक्राटुक्रा पारेको खुले पनि एक्लै वा अन्यको संलग्नता थियो अनुसन्धान जारी नै छ ।

पछिल्लो एक महिनादेखि गोंगबु मित्रनगरस्थित नर्सिङ धाम गेष्ट हाउसमा बसेका कृष्ण बहादुर बोहरा शनिवार गेष्ट हाउस सञ्चालकसँग दुई दिन आउँदिन है भनेर निस्किएका थिए । गेष्टहाउसबाट निस्किएर साँझ कृष्णबहादुर कल्पनाको कोठामा गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कल्पनाले २ वटा कोठा, किचन र बाथरुम भाडामा लिएकी थिईन् । प्रहरीको प्रारम्भि अनुसन्धानले कृष्णबहादुरलाई पहिले विष खुवाएर मारेपछि घाँटी र खुट्टा काटेको खुलेपनि मृतकको पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै छ ।

‘बाथरुममा मृत शरीर टुक्रा पारेर शव व्यवस्थापन गरेपछि गुपचुप जस्तै बसेकी कल्पना आइतबार साँझ मात्रै एम्बुलेन्स टढेर चितवनको टाँढी पुगेको देखिन्छ । बारम्बार अभियुक्त शाहीको कोठामा मृतकको आउजाउ गरेको देखिन्छ । दुई जनाबीच आर्थिक लेनदेनका कारण मतभेद रहेको समेत अनुसन्धानबाट खुलेको छ। बन्द कोठा खोलेर हेर्दा एउटा कोठा र बाथरुममा रगत समेत भेटिएको छ’ –एक अनुसन्धान अधिकारीले भने । हत्यामा संलग्न कल्पनालाई चितवनबाट पक्राउ गरेको प्रहरीले बाँकी तथ्यको खोजी गरिरहेको छ ।

राती भएको घटना बारे घरधनी र भाडामा बस्ने कसैले पनि थाहा नभएको बयान दिएका छन् । केही स्थानीयले भने बिहानपख ढोका बजेको र केही खसेजस्तो आवाज आएपनि आफूहरुले खासै चासो नदिएको बताएका छन् । जे होस्, महानगरीय प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले गरेको सफल अनुसन्धानले घटना घटेको ४८ घण्टा बित्दानबित्दै एक अभियुक्तलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अनुसन्धान पद्धतीलाई अब्बल प्रमाणित गर्ने गोंगबु हत्याकाण्डको सबै वास्तविकता प्रहरी अनुसन्धानले बाहिर ल्याओस्, पीडकमाथी कडा कानुनी कारबाही होस् । दुखद घटनामा यहि छ आम नागरिकको आशा ।


क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #अनुसन्धान, #अपराध अनुसन्धान महाशाखा, #कल्पना शाही, #कृष्ण बहादुर बोहरा, #गोंगबु हत्याकाण्ड, #महानगरीय प्रहरी परिसर, #महानगरीय प्रहरी वृत महराजगञ्ज, #हत्या

तपाईको कमेन्ट लेख्नुहोस्