Techie IT
Mission Khabar

आज हरितालिका तीज, कोरोनाका कारण विगतजस्तो छैन रौँनक !


काठमाडौं । आज हरितालिका (तीज) पर्व, महादेवको पूजा आराधना गरेर मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वासका आधारमा आज महिलाहरुले ब्रत बस्ने गरेका हुन् ।

बुधबार राती (हिजो) दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व शनिबारसम्म अर्थात ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीजलाई समापन गर्ने गरिन्छ । यसवर्ष कोरोना संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि हटेको कारण अघिल्ला वर्षको तुलनामा तीजको रमझम बाक्लिएको छ । तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञले आग्रह गरेका छन् । सकेसम्म घरमै मनाउन र भौतिक दूरी कायम गर्न भनिएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा अटल सौभाग्य, सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । तीज पर्वले चेली–माइती‚ साथी–सङ्गी‚ परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आवद्ध गर्न मद्दत पुर्याउने पनि उहाँको विश्वास रहेको छ । यस्तै तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनालाई हटाउँदै जानु आवश्यक रहेकामा राष्ट्रपति भण्डारीले जोड दिनुभएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तीजको शुभकामना व्यक्त गर्दै स्वास्थ्य मापदण्ड पालनासहित हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन अनुरोध गर्नुभएको छ । उहाँले पर्वको मौलिकता जोगाउन र कोरोना महामारिको जोखिमबाट बच्न सबैलाई आग्रह गर्नुभएको छ ।

यसवर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ मन्दिर वैशाख पहिलो हप्तादेखि नै बन्द गरिएको थियो । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले असोज १ गतेबाट मात्रै पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ । मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा भने भक्तजन जान पाउने कोषका सदस्य सचिव डाक्टर मिलनकुमार थापाले बताउनुभएको छ । पशुपति क्षेत्रमा आउँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न भने कोषले आह्वान गरेको छ । पशुपतिनाथबाहेकका अन्य धेरै मन्दिर खुलेकाले भक्तजनलाई तिजको ब्रतसँगै पुजापाठ गर्न सजिलो भएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई

तपाईको कमेन्ट लेख्नुहोस्