Techie IT
Mission Khabar

स्वास्थ्यमन्त्रीका योजनाः आमाको मुख हेर्ने दिन स्वास्थ्य जाँच देखि स्थानीय तहमा अस्पतालसम्म


स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल नेपाली कांग्रेसका हेभीवेट मानिएका नेता गोपालमान श्रेष्ठलाई स्याङजाबाट पराजित गर्दै जीत हात लगाएकी प्रभावशाली महिला नेतृ हुन् । बहुदलीय ब्यवस्था स्थापना भएदेखि अहिलेसम्म कांग्रेसले कहिल्यै हानुु नपरेको क्षेत्रमा कांग्रेसका केन्द्रीय उपसभापति समेत भइसकेका नेतालाई पराजित गरेर सांसद बनेकी अर्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वास्थ्य जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिए । राजनीतिक दलको अहिलेसम्मको इतिहासमै पहिलो पटक महिला जिल्ला अध्यक्ष हुँदै एमाले केन्द्रीय सदस्य रहेकी स्वास्थ्यमन्त्री अर्यालले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन केहि योजना अघि सारेकी छिन् । स्वास्थ्य क्षेत्रको कामका विषयमा मन्त्री अर्यालसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः

पार्टीको पहिलो महिला जिल्ला अध्यक्ष हुँदै अहिले स्वाथ्य मन्त्रीको पद सम्हाल्न आइपुग्नु भएको छ । यो फरक जिम्मेवारीमा कत्तिको चुनौती महसुस गर्नुभएको छ ? 
अवश्य पनि फरक काममा हात हाल्दा नयाँ अनुभव हुन्छ नै । ४० वर्षको मेरो राजनैतिक अनुभवमा यो फरक जिम्मेवारी हो । केहि चुनौति छन् । सजिलोमा सबैले गर्छन् । असजिलोमा जसले काम गरेर देखाउन सक्छ उ साँचो अर्थमा काम गरेर देखाउने नेताको रुपमा स्थापित हुन्छ । अहिले भन्दा अति हुनसक्ला तर, म काम गर्नेछु ।

स्वास्थ्य क्षेत्र नेपालको कहिल्यै सुध्रिन नसकेको क्षेत्र हो, यस्तो क्षेत्रमा आएर के काम होला ? 
हो यो काम देख्न र देखाउन नसकिने क्षेत्र नै हो । म बाहिर बस्दा स्वास्थ्य मन्त्रालयको बारेमा जे बुझेको थिएँ त्यो धेरै नै कमजोर थियो भन्ने लाग्छ । बल्ल एक महिना भयो । यस बीचमा मैले धेरै बुझेँ । स्वास्थ्य क्षेत्र भनेको हरेकको घरघर र ब्यक्ति ब्यक्तिमा राज्य पुग्नु पर्ने सेवाको क्षेत्र हो । तर हामीले अहिलेसम्म त्यसरी हेरेनौं । स्वास्थ्य जनताको निम्ति त भन्यौं तर जनतामा चाहिँ स्वास्थ्यको पहुँच नै भएन । बरु यसलाई कन्जस्टेड मात्र बनायौं । अब त्यस्तो हुन्न । जनतालाई बचाउने दायित्व सरकारको हो । तर देशको अवस्थाका कारण यो पूरा हुन सकेन । अहिल्यै त भन्दिनँ तर अब सामान्य रोग लागेर मर्ने अवस्थाको अन्त्य गरिन्छ । स्वास्थ्य जनताको मौलिक अधिकार पनि हो ।

खास यहाँ काम नहुनुको कारण के देख्नुभयो ? 
पैसा विना सरुवा हुँदैन, बढुवा हुँदैन, नियुक्ती हुँदैन भन्ने मान्यता स्वास्थ्य क्षेत्रमा स्थापित भएको छ । मेरो पहिलो काम यो मान्यतालाई खण्डित गर्ने हो । र निर्मम ढङ्गले जसले यो काम गर्छ त्यस्तालाई माथि देखि नै खोजेर जनतासामु देखाउने हो । पहिलो त यहि शिलशिलेवार भ्रष्टाचारका कारण जनताको काम हुन नसकेको हो । यस्तालाई निर्मम तरिकाले ठेगान नलगाइकन यो धुमिलिएको छविले अरुलाई पनि असर गर्छ । हो यस्तै कारण निर्णय भएका काम पनि अघि बढ्न सकेको छैन ।

कार्यक्रमगत चुनौति के रहेछन् ? 
पहिलो कुरा त राज्यको तर्फबाट जनता लक्षित कार्यक्रम गएको छ तर, त्यो समुदायसम्म सेवा पुग्न पाएको छैन । जसलाई हामीले सहुलियत दिन्छौं त्यो समुदायले सहुलियत पाएन । त्यो सधैं पहुंचवालासम्म मात्र पुर्इएको छ । यो काम कसको थियो भन्दा कर्मचारीको । तर काम भएन । कर्मचारीको ध्यान के भने बढुवाको निम्ति दुर्गममा नियुक्ती लिने अनि उपत्यका छोड्न नचाहने । पठाएको ठाउँमा दुर्गममा स्वास्थ्यकर्मी जानै नमान्ने । एकदमै धेरै स्वास्थ्य समस्या दुर्गमका जनतामा हुने तर, दुर्गममै स्वास्थ्यकर्मी नजाने भएपछि के हुन्छ आफैं बुझ्नुस् ।  दुर्गममा गए पनि काज बनाउने र सदरमुकान नै बस्ने । यहाँबाट हेर्दा त्यहाँ दर्बन्दी देखिने, त्यहाँ जादा डक्टर नहुने । यसले जनता मरिरहे । यसले गर्दा स्वास्थ्य क्षेत्रमा काम नै हुन पाएको छैन । अझ दुर्गममा त केहि पनि काम भएको छैन ।  कामको योजना बनायो तलसम्म पुगेर काम नै नहुने । यस्तो झुर पाराले चलेको छ स्वास्थ्य क्षेत्र ।

अर्काेतिर सेवा सुविधाको हकमा पनि अव सकरात्मक विभेद गर्नुपर्छ । यहाँ बस्ने र दुर्गममा बस्नेलाई एउटै सुविधाले हुँदैन । तर, अब दुर्गमको दरबन्दी लिएर सदरमुकाम भने बस्न पाइनेछैन । सिठ्ठो लगाएर पठाइन्छ दुर्गममा दरबन्दी लिनेलाई पठाइनेछ । पाँच बर्ष भन्दा बढी उपत्यका बस्न पाईंदैन ।

स्वास्थ्य मन्त्रालयलाई अस्वस्थ मन्त्रालय भनिन्छ, यहाँ बढि भ्रष्टाचार हुन्छ भनिन्छ नि ? 
अब त्यस्तो हुन दिइने छैन । हुन त म आफू मात्र शुद्ध भएर हुँदैन । सिंगो मन्त्रालयको प्रणाली शुद्ध हुनुपर्छ । त्यसैले यो भ्रष्टाचार हुने मन्त्रालय हो भन्ने जे कुरा बाहिर छ त्यो इमेज केहि बर्षमै फेरेर सबै भन्दा धेरै काम हुने र जनताको चासोको विषय सम्बोधन गर्ने मन्त्रालयका रुपमा स्थापित गर्नेछु । जनताको घरघरसम्म स्वास्थ्यको आधारभूत सुविधा पुर्याएर प्रथामिकताको मन्त्रालय बनाउने छु ।

अर्को कुरा प्रधानमन्त्रीको पनि स्वास्थ्य क्षेत्रमा जनताको पहुँचका विषयमा धेरै ठूलो चासो पाएकी छु । आजसम्म ठूला होटलका कोठामा भाषण गरिन्थे तर अहिलेको प्रधानमन्त्रीले जनताकै दैलोमा गएर रारा तलबाट जनताको स्वास्थ्यको कुरा गर्नु भएको छ । त्यो कुरा हामी भाषणमा मात्र सिमित हुन दिंदैनौं । प्रधानमन्त्रीको त्यो स्पिरिटलाई सार्थक पार्नेगरी हामी अघि बढ्नेछौं । मन्त्रालय सबै उस्तै हुन् भनेर हुँदैन । यो नागरिकलाई बचाउने मन्त्रालय हो । त्यसैले बजेट विनयोजन देखि सबै काम गर्दा सरकारले स्वास्थ्यलाई बढी प्राथामिकतामा राख्नु पर्छ भन्ने मलाई लाग्छ । हिजो जति महत्व दिएर काम गर्नु पर्ने हो दिइएनछ । अब महत्व दिएर काम गर्नु पर्छ । मैले अहिले यहाँ भएर भनेको होइन । भोलि म अर्को मन्त्रालयमा बसेर काम गर्दा पनि यहि कुरा भन्नेछु ।

जनता त ठूला नेताहरु आफूलाई पर्दा विदेश गएर उपचार गर्ने अनि जनताको स्वास्थ्यको ख्याल नगर्ने भनेर निराश छन् । यसलाई तपाईं कसरी सम्बोधन गर्नुहुन्छ ? 
यो कुराले यदि कसैलाई दुखेको छ भने हामै प्रधानमन्त्रीलाई दुःखेको छ । उहाँले अघिल्लै कार्यकालमा स्वास्थ्यको क्षेत्रमा धेरै सहुलियत सुरु गनर््ुभयो । यस अघिका सरकारले त्यति धेरै सोच्न पनि सकेनन् । उहाँले क्यानसर र किड्नीको डाइग्नोसिस गर्दा चाहिने खर्चमा छुट गर्ने व्यवस्था गर्नुभयो । हामी सबै जस्तोसुकै रोग लागे पनि नेपालमै उपचार हुने अवस्था बनाउन पूर्ण मनका साथ काममा बढ्नु पर्छ त्यो दिन अवश्य आउनेछ ।

कति सुविधा त राज्यले पहिल्यै दिएको छ, तर जनता स्वास्थ्य क्षेत्रमा दिइएको सुविधाबारे कत्तिको जानकार छन् भन्ने लाग्छ तपाईंलाई ? 
हो, यहि कुराले मलाई अहिले पनि घोचिरहेको छ । राज्यले पहिल्यै निशुल्क गरिसकेको उपचारको कुरामा पनि लौ न यस्तो भयो निशुल्क गरिदिन पर्यो हजुर भनेर रुँदै मकहाँ आइपुग्छन् । यो यो रोगको निम्ति निशुल्क उपचार भनेर भनिसकेका छौं । तर त्यो जनतालाई थाहै छैन । उ त प्रक्रियामा नगई पैसा तिरिरहेको छ । तर यो कुरा कसैले भनिदिंदैन । त्यसैले पहिलो नम्बरमा त जनतालाई स्वास्थ्य सम्बन्धि सूचनामा पहुंचमा पुर्याउनु पर्यो ।

अहिले एउटा निकायमा एउटा हस्पिटलको अवधारणा सरकारले ल्याएको छ । त्यसमा कम्तीमा पनि एउटा एमडी जिपी राख्ने ब्यवस्था गर्नु पर्नेछ । अनि मात्र जनताले स्वास्थ्य सेवा पाउनेछन् भन्ने हाम्रो अवधारणा छ । दोस्रो कुरा त्यसलाई चाहिंने इक्युप्पमेन्ट पनि राम्रो लान सक्यौं भने जनता काठमाडौमै अउनु पर्ने छैन । यसरी स्थानीय तहमै सुविधासम्पन्न हस्पिटलहरु बनाउन सक्यौं भने र सूचना पनि तलैबाट पाएपछि स्वास्थ्यको अधिकारबाट जनता बञ्चित हुने छैनन् ।

सहरका अस्पतालले सर्वसाधारणलाई लुटेर खाने, सूनचाबाट बञ्चित गर्ने खालको बेथीति हटाइनेछ । आज पनि बीर हस्पिटल प्रति आलोचना उत्तिकै छ तर, त्यहाँ चाप पनि त्यति नै छ । त्यो किन त भन्दा विकल्प नभएर ।

अहिले पनि गाइनो हेर्ने प्राइभेट डक्टरकोमा होस् या महिला सम्बन्धी उपचार गर्ने अस्पतालमा २० देखि ३० बर्षका युवतीहरुको लाइन हुन्छ । एकजना आमा स्वस्थ्य छ भने उसले पुस्तौ पुस्ता स्वस्थ्य बच्चा जन्माउन सक्छे भन्ने कुरा मात्र हेर्दा पनि अवको आउने बर्ष निरोगी बच्चाहरु जन्मने प्रष्ट देखिन्छ यसलाई सम्बोधन गर्ने तपाईंसँग के एजेण्डा छन् ? कि सोच्न भ्याउनु भएको छैन ? 
एकदमै चुरोमा गएर कुरा उठाउनु भो तपाईंले । किनभने यो अबको हाम्रो समाजको चुनौति नै हो । हामी बाटो पुल, यस्तो उस्तो जे जे बनाउँछौ भने पनि समाज रोगी भयो भने कहि परिर्वतन हुन सक्दैन । त्यहि भएर हामीले हरेक एक महिला आमा हुन् भनेर आमाको मुख हेर्ने दिन पारेर आमाको स्वास्थ्य अर्थात किशोरी लक्षित स्वास्थ्य कार्यक्रम ल्याएका छौ । तीन तीन महिनाका चारवटा कार्यक्रम घोषणा गरेको छु ।

त्यसलाई बजेटको फेमवर्क भित्र ल्याउँदै छु । त्यो भित्र किशोरीसँग राष्ट्रपति कार्यक्रम छ । प्रजनन् सम्बन्धि चेतना किशोर किशोरी देखि नै दिइएन भने तपाईंले भनेजस्तै भोलि दुर्घटना हुन्छ । त्यसैले सामुदायिक स्कुलहरुलाई फेकस गरेर प्रजनन् स्वास्थ्य सम्बन्धि , सुरक्षित मातृत्व सम्बन्धि स्कुल स्कुलमा बक्तिृत्वकला र निवन्ध प्रतियोगिता जस्ता विभिन्न प्रतियोगिता गर्ने कार्यक्रम पनि लगेका छौं । छोटोमा भनौं हामी शिक्षा लिएर जान्छौ स्कुल, र समुदाय हुँदै घरघरसम्म ।


क्याटेगोरी : जीवन भोगाई

तपाईको कमेन्ट लेख्नुहोस्