Techie IT
Mission Khabar

म कांग्रेस पृष्ठभूमिको हुँ, तर केपी ओलीको कार्यालयबाट धन्यवाद पाएँ


मैले कांग्रेसका बारेमा कैयन् लेख लेखेँ । कांग्रेस पृष्ठभूमिको लेखकका रुपमा परिचित छु । कांग्रेस पटक पटक सत्तामा गयो । त्यो बेला पनि सरकार, पार्टीबारे बोलेको छु, लेखेको छु । तर अहिलेसम्म कांग्रेस र माथिल्ला नेताहरुले मेरो विचारमा कुनै वास्ता गरेनन् ।

तर यसपटक वामपन्थीहरुको सरकार बनेपछि हालै मेरो एक लेख प्रकाशित भयो । त्यो लेखले प्रधानमन्त्रीको ध्यानाकर्षण भएको र मेरो विचार मन परेकोले आगामी दिनमा काम गर्न सहज हुने प्रधानमन्त्रीले महशुस गर्नु भएको सूचना मलाई प्रधानमन्त्री कार्यालयबाट दिइयो ।

मेरो लेखमा प्रधानमन्त्रीको प्रशंसामात्र थिएन ।  आलोचनासहितको अभिव्यक्ति थियो । तर पहिलो पटक मेरो लेखमा प्रधानमन्त्रीको ध्यानाकर्षण भएको जानकारी त्यहीँबाट आयो । मलाई यो सरकार जनतासँग जोडिने प्रयत्नमा रहेको आभाष भयो । खुसी पनि लाग्यो ।

हालसम्मका सरकारहरु ‘आयाराम–गयाराम’ सरहका थिए । सत्ता टिकाउनमा नै प्रधानमन्त्रीको समय सकिन्थ्यो । पहिलो पटक तीन चाैथाइ नजिककाे बहुमतको सरकार बनेको छ । यो सरकार जनतासँग जोडिने प्रयत्नमा रहेको केही संकेतहरु देखा परेका छन् ।

यातायात क्षेत्रको सिन्डिकेटबिरुद्ध सरकारले चालेको कदमले यो देशमा सरकार पनि छ, भन्ने सन्देश दिन खोजेको छ । असल काम गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन सक्छ भन्ने सन्देश जनतामा दिन खोजिएको जस्तो लाग्छ ।

खासमा सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गर्ने होइन । हस्तक्षेप गर्न सम्भव पनि हुँदैन । अहिले सिन्डिकेटविरुद्धको अभियानमा सरकारलाई जनताले पनि अति धेरै साथ दिएका छन् । यस्तो कदमले सबै कुरा मिलिहाल्ने होइन, तर आशा जगाउँछ । सरकारलाई पनि जनसमर्थनले हौसला मिलेको छ ।

सरकार गठन भएको १०० दिन भनेको हनिमुन पिरियड हो । यो बेला सरकारले काम गर्न सकेन भनेर आलोचना गरिँदैन । निर्वाचनको बेला विभक्त भएको जनताको मन जोड्ने काम सय दिनमा गरिनु पर्छ ।

सय दिनपछि निर्वाचनमा पराजय भोगेकाहरुलाई पनि यो सरकार मेरो पनि हो भन्ने महशुस हुनुपर्छ । यसकारण हनिमुन पिरियड भनिएको हो । हिजोका दिनमा म आफैले पनि कुनै एक पार्टीलाई मतदान गरेँ होला, तर आजको दिनमा यो सरकार त मेरो पनि हो नी । चाहे कम्युनिष्टलाई मैले भोट हालेको होस् वा नहोस् । सरकार साझा हुन्छ ।

सरकारले दिने सेवाको गुणस्तर राम्रो भयो भने सरकार कांग्रेसको होस कि कम्युनिष्टको मतलवको कुरा होइन । किनभने मुसा मार्छ भने बिरालोको रङ कालो भए पनि सेतो भए पनि फरक पर्दैन ।

यो सरकारका बारेमा केही कुरा देखावटी भए भन्ने मेरो मत हो । जस्तो कि राजा महेन्द्र रारा पुग्ने । केपी ओली राराबाट नयाँ वर्षको सम्बोधन गर्ने, माधव नेपाल कालापत्थरमा क्याबिनेट बसाउने जस्ता कामको खास महत्व छैन भनेको हुँ ।

केपी ओलीको हनिमुन पिरियडमा मन जोड्ने काम हुनु पथ्र्यो, त्यो काम उनले जनकपुरबाट नयाँ वर्षको सम्बोधन गरेर सुरु गर्न सक्थे । यो विचारमा प्रधानमन्त्रीको कार्यालयले पनि रेस्पोन्स गरेको कुरा मैले अघि भनेको हुँ ।

यो सरकारमा प्रधानमन्त्रीले एक काम गर्न सकिरहेका छैनन् । उनी स्वयं त जनतासँग जोडिने प्रयत्न गरिरहेका छन् । तर उनले आफ्ना मन्त्रीहरुलाई जिम्मेवार बनाउन सकिरहेका छैनन् ।

आहा भन्न लायक कोही मन्त्रीहरु पनि देखिएका छैनन् । क्याबिनेटमा रहेका मध्ये लालबाबु पण्डितको पब्लिक इमेज छ । यति बहुमतका साथ गठन भएका सरकारका मन्त्रीहरुको धेरै समय चाहिँ ‘घोषणा र निर्देश’मा खर्च भइरहेको छ ।

भारत भ्रमण 

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण औसत भन्दा माथिल्लो स्तरको रह्यो भन्ने मेरो बुझाइ हो । केपी ओलीले भारतीय प्रधानमन्त्रीलाई नाकाबन्दी किन लगाएको ? भनेर सोधेका छन् । यता ओली प्रधानमन्त्री हुने भएपछि उताबाट हतार हतार सुष्मा स्वराज आइन् । फेरि मोदी नेपाल आउने तयारीमा छन् ।

केपी ओलीले भारतमा नेपाल आकारमा सानो भए पनि स्वतन्त्र राष्ट्रको अस्तित्व सानो ठूलो हुँदैन समान हुन्छ भन्ने सन्देश दिए । उनी भारतसँग समान हैसियतमा राखेर डिल हुनुपर्छ भन्ने मान्यता स्थापित गराउन खोजेका छन् । यो कुरा अन्य प्रधानमन्त्रीले वास्ता गर्दैन थिए ।

भारतविरुद्ध झम्टिन खोज्यो भने यो छिमेकी ‘डिफेन्सिभ’ हुन्छ । उसँग लम्पसार पर्न गयो भने कुकुरलाई जसरी व्यवहार गर्छ । भारतको मानसिकता नै यहि हो । भारतीयहरुको यो स्वभावकै कारण भारतमा अफगानी, बेलायती, अरबी, टर्किसलगायतले शासन गरे ।

दक्षिण एसियाको नेतृत्व आफूले गर्ने भारतको चाहना हो तर उसको पक्षमा अहिले पाकिस्तान छैन, श्रीलंका छैन । बंगलादेश र अफगानीस्तान पनि छैन । भुटानले चीनसँग सम्बन्ध स्थापित गर्ला कि भन्ने चिन्ता छ । नेपाल पनि चीनसँग नजिक भएर भारतलाई वेवास्ता गर्ने भयले भारत तर्सेको छ । भूकम्पले थलिएको देशमा पाँच महिना नाकाबन्दी गर्ने भारत मानवता नाश भएको मुलुक हो ।

यो परिवेशमा खड्ग होलीको ‘स्ट्यान्ड’ ठिक छ भन्ने म ठान्छु ।

खड्ग ओलीको भारतसँगको कुरा मात्रै होइन, चीनसँग पनि विभिन्न समझदारी गरेका छन् । चीनसँगको कनेक्टिभिटीमा गर्नु पर्ने अरु काम धेरै छन् । जसलाई केपी ओलीले सन्तुलन मिलाएर गर्नु पर्ने छ । चीनसँगको सम्बन्धमा उनले के गर्छन् भन्ने जनताले पनि नियालेर बसेका छन् ।

भारतले नेपालमाथि उपकार नै गरेको भनेर प्रचार पनि हुन्छ । तर वास्तविकतामा के हो भने नेपाल र चीनको बीचमा नेपाल भएकै कारण भारतको ठूलो सुरक्षा खर्च जोगिएको छ । भारतले कश्मिरमा मात्रै ९० हजार सेना परिचालन गरेको छ । नेपाल हुँदैन थियो भने भारतले चीनसँगको सीमामा कति सेना राख्नु पथ्र्यो होला ?

 

कांग्रेसका कुरा 
शेरबहादुर देउवाको नेतृत्वमा अब कांग्रेस अगाडि बढ्न सक्दैन । कांग्रेसका धेरै नेताहरु अहंकारी, दम्भ भरिएका छन् । जनतासँग, कार्यकर्तासँग सम्बन्ध गाँस्न पनि खोज्दैनन् । गाडीमा हुँदा पनि झ्यालबाट जनता, कार्यकर्तालाई हात हल्लाउनु पर्छ भनेर पत्रिका पढ्र यात्रा गर्छन् । मिडियामा आलोचना छापियो भने कसैले उचालेर छपाएको ठहर गर्छन् । आफ्नो कमजोरी देख्दैनन् ।

निजामति सेवामा पानी बढुवा जस्तो कांग्रेसमा फाइल बढुवाबाट नेता बन्ने बनाउने चलन छ । ‘जेल बसेको’, ‘क्रियाशील सदस्यता धेरै अघि लिएको’ जस्ता योग्यता पेश गरेर बढुवामा पार्ने पर्ने चलन कांग्रेसमा छ ।

अर्को भनेको छाताधारीहरुको वर्चश्व कांग्रेसमा छ । गणेशमानको छाता बोकेर प्रकाशनमा, विपीको छाता बोकेर शशांक, महेन्द्रनारायणको छाता बोकेर विमलेन्द्र निधिले पार्टीमा प्रभाव जमाए झै बाउ, हजुरबाबुको विरासत बेचेर कांग्रेसमा नेता हुन सकिन्छ । चलन यस्तै छ । यस्तालाई मैले ‘छाताधारी’ कांग्रेस भन्ने गरेको छु ।

अर्को भनेको जुझारु कार्यकर्ता हुन् । फाइल बढुवा र छाताधारीले यिनीहरुलाई सके दूरुपयोग गर्छन्, नसके प्रयोग मात्रै पनि गर्छन् । जुझारु कांग्रेसी एक भए भने गाह्रो पर्छ भन्ने ठानेर बेला बेला फुटको राजनीति पनि खेलिन्छ । जस्तो कि अहिले विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाइयो । यहाँ विश्वप्रकाशको दूरुपयोग गरिएको छ । विश्वप्रकाश, गगन, प्रदीप जस्ता जुझारुको एकता भयो भने फाइल बढुवा र छाताधारीलाई समस्या हुन्छ ।

वैचारिक रुपले बहस गर्न सक्ने, शैद्धान्तिक तर्कवितर्कसहितको सम्वादमा भाग लिन सक्नेहरुलाई कांग्रेसमा थिच्ने मात्रै काम भएको छ । यस्ता नेताहरु माथिल्लो तहमा पुग्दै पुग्दैनन् । जसरी गन्डक, कोशीको पानीमा भारतले कब्जा जमाएको छ, त्यसै गरी कांग्रेसमा फाइल बढुवा र छाताधारीले कब्जा जमाएका  छन् ।

२०३८ सालमा विराटनगरस्थित कोइरालानिवासमा विपी कोइरालाले आफ्ना सन्तानलाई राजनीतिमा ल्याउँदिन भन्नु भएको थियो । सुन्नेहरुमा म पनि एउटा थिएँ । त्यो कुरा सुन्ने पचासौं जना अहिले पनि जीवितै छन् । विपीले सन्तानलाई किन राजनीतिमा नल्याउने भन्ने सम्बन्धमा भन्नु भएको थियो, ‘यिनीहरु फाइभ स्टार कल्चरमा गइसके । राजनीतिमा काम छैन ।’

त्यहाँ भएका अरु कांग्रेसीहरुलाई अब तिमीहरु नै कांग्रेस हौं । नेताकै छोराछोरी किन चाहियो ? भन्ने उहाँको तर्क थियो ।

शशांक कोइरालाको धेरै समय रिसोर्टमै बित्छ ।  उहाँलाई ‘रिसोर्ट नेता’ भन्दा पनि हुन्छ । फाइभस्टार कल्चर शशांकमा पनि देखिन्छ । तर पछिल्लो समय डा. शेखर कोइरालाको नेतृत्व स्थापित हुने सम्भावना देख्दै छु । जनतासँग, कार्यकर्तासँग भिज्न खोज्ने, वैचारिक बहसमा उत्रिने, छविमा पनि दान नलागेको आदि कारणले शेखरमा सम्भावना धेरै देखेको छु ।

(राजनीतिक विश्लेषक आचार्यसँग गरिएको कुराकानीमा आधारित)


क्याटेगोरी : जीवन भोगाई

तपाईको कमेन्ट लेख्नुहोस्