Techie IT
Mission Khabar

उपेन्द्र देवकोटा : एसियाकै अब्बल डाक्टर


काठमाडौं, जेठ । डा. उपेन्द्र देवकोटा, एसियाकै चर्चित न्युरोसर्जन हुन । उनी एक्लैले ३० बर्षे डाक्टरी पेशामा रहँदा १८ हजार जनाको शल्यक्रिया गरेका छन् । १० लाख बिरामीलाई जाँच गरेको रेकर्ड पनि उनकै नाममा छ । सयौँलाई नयाँ जीवन दिएका डा. देवकोटा आफै भने अहिले रोगको चपेटामा छन् ।

गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका थिए, डा.उपेन्द्रले । विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाई नै किन नहोस सधै अब्बल विद्यार्थीका रुपमा गनिन्थे उनी । वीर अस्पतालमा २५ वर्ष सेवा गरेका उनी पछिल्लो समय बाँसबारीस्थित न्युरो हस्पिटल मार्फत् बिरामीको सेवामा जोडिए । अहिले उनी आफै बिरामी बनेर सहिद गंगालाल हस्पिटलमा जीवन मरणको संघर्ष गरिरहेका छन् । ७ महिना स्वास्थ्यमन्त्री हुँदा उनले थुपै्र राम्रा कामको सुरुवात गरेका थिए । गुरुकुल परिवारमा हुर्किएका अनि बुबाको सेवाभाव बाट प्रेरित उपेन्द्रको डाक्टरी सपना घरबाटै सुरु भएको थियो । गुरुकुल हुँदै एकैपटक कक्षा २ मा भर्ना भएका उनी पाँच कक्षादेखि अमरज्योति मावि लुइटेलमा भर्ना भए । विद्यालय तहको अतिरिक्त क्रियाकलापमा पनि उनी अब्बल नै थिए । भलिबलदेखि खेलकुद, वादविवाद, वक्तृत्वकलाका मञ्च र निवन्ध प्रतियोगितामा कहिल्यै दोस्रो नभएका उनलाई मेडिकल कलेज पढ्दासमेत धेरैले भलिबल खेलाडीका रूपमा चिन्थे ।
देवकोटा गाउँको पुस्तकालयमा सचिव पनि भए । विद्यालय सकिएपछि उनीलगायतका विद्यार्थी पालैपालो लाइब्रेरियन बन्थे । सातामा एकपटक पुस्तकालयको बैठक बस्थ्यो । सचिवको हैसियतले उनले बेलायती, अमेरिकी र भारतीय दूतावासदेखि नाम चलेका लेखक, प्रकाशन गृहको ठेगाना खोजेर पत्राचार गरी पुस्तक मगाए । वेलायती दुतावासले एक सय ५० थान पुस्तक ठाँटीपोखरी एयरपोर्टसम्म पठाइदिएको थियो रे । पुस्तकालयका कारण गाउँमा पढ्ने संस्कृति नै बनिसकेको थियो ।
७ कक्षामा पढ्दापढ्दै गाउँका ‘ठिटा’ मिलेर गाउँ सुधार समिति खोले । त्यसको विधान आफै लेखे । पालैपालो पदाधिकारी परिवर्तन हुन्थे । धारा, बाटोघाटो सफा गर्ने, गाउँमा जुवातास निषेध गर्ने अभियान चलाए । तिहारमा कौडा चलिरहँदा पुलिस बोलाएर जुवासमेत बन्द गराए । उपेन्द्रको तर्क भण्डारबाट गुरु र सहपाठीहरु नै चकित थिए । मेहनत र क्षमताले गर्दा विद्यालय तहमै उनको क्षमता धेरै माथिल्लो स्तरको भयो । एसएलसीमा उनी बोर्डमा परे । अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेका उनले बायोलोजीमा फस्ट डिभिजन ल्याएका थिए ।

एसएलसीको रोचक प्रशंग :
एसएलसीमा गणितको प्रश्नपत्र उनले डेढ घण्टामा सिध्याए । उनले दोहो¥याएर उत्तर जाँचे, सबै ठिक थियो । तर ज्यामितिको एउटा प्रश्नको उत्तरको चित्रमा एक मिलिमिटर जति ढल्किएको जस्तो लाग्यो रे उनलाई । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे । त्यहाँबाट फर्किएपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाएका थिए । एक बर्षमै लोकसेवा पास गरेर उपेन्द्र वीर अस्पतालमा पोष्टिङ भए । पाँच वर्ष मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा काम गरे । विभागीय प्रमुख थिए –डा.दिनेशनाथ गंगोल । दुई वर्षमै उनी सर्जरी विभागमा रजिष्ट्रार भए । पाँच वर्षपछि उनी न्युरोसर्जरी पढ्न बेलायत गए । चिकित्साशास्त्रमै सबैभन्दा जटिल विधा न्युरोसर्जरी त उनले तालिम अवधि नसकिँदै पास गरे । त्यो कुरालाई बेलायतीले पनि सम्मान गरेको उपेन्द्र बताउँछन् । पढाईपछिको तालिमका करिब ६ वर्ष उनले सिटि स्क्यान आविष्कारमा नोबेल पुरस्कारप्राप्त संस्थामा समेत काम गर्ने अवसर पाएका थिए, उनले ।

२२ घण्टे त्यो सर्जरी :
बेलायतको ‘रेजिडेन्ट भिसा’ पाउने समय आएको थियो । तर त्यहाँका विलासिताले तानेन । उनले ठाने ‘मैले यस्ता संस्था नेपालमै बनाउँनुपर्छ ।’ फर्किएपछि उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरोसर्जरी विभाग बन्यो । नेपाल फर्किएपछि पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरे । शल्यक्रिया सकेको पाँचौ दिनको दिन टाँका काटेर बिरामी झोला बोकेर घर पर्काएका थिए उनले । नेपालमा न्युरोसर्जरीको विकास गर्न सकिन्छ भनेर देखेको सपना विपनामा परिणत गर्ने डा. उपेन्द्र नै थिए । रातदिन नभनी काम गरेर लगातार २२ घण्टा लामो शल्यक्रिया गरेको अनुभव पनि छ, उनीसँग ।

स्वास्थ्य क्षेत्रमा आमुल सुधार :
१० वर्षपछि नै नेपालमा उनकै अगुवाईमा १९९९ मा सार्क क्षेत्रको न्युरो सर्जिकल कन्फ्रेन्स भयो । संसारभरबाट ३०० न्युरोसर्जन नेपाल आएका थिए । वीर अस्पतालमा सो अवधिसम्म यति प्राज्ञिक र क्लिनिकल विकास भइसकेको थियो कि सम्मेलनमा प्रस्तुत १३० वटा कार्यपत्रमध्ये १७ वटा त वीर अस्पतालको मात्रै थिए । सम्मेलनमा नेपालमा न्युरोसर्जरी क्षेत्रमा भएको विकासलाई संसारले ‘वाहवाह’ ग¥यो । वीर अस्पतालको सरकारी सेवामा उनले २५ वर्ष बिताए । हजारौ गरिबलाई सेवा दिए । वीर अस्पतालबाट मात्रै थुप्रै न्युरोसर्जन तयार पारे ।
यसबीचमा उनी ७ महिना स्वास्थ्यमन्त्री भए । उपेन्द्रलाई धेरैले राजावादीको आरोप लगाए । उनी भने राष्ट्रका लागि केही भूमिका निर्वाह गर्न सकिन्छ की भनेर मन्त्री भएको बताउथे । त्यतिबेला स्वास्थ्य मन्त्रालयमा पनि उनले धेरै नयाँ काम गरे । अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) बनाए । नेपालमै विशेषज्ञ डाक्टर उत्पादन सुरु भयो । दुर्गममा पोष्टमार्टम गर्ने चिकित्सक नपाइने अवस्थामा सरकारी चिकित्सक गाउँ जान तछाडमछाड गर्ने अवस्था आयो । दुई वर्ष दुर्गममा बसेपछि सरकारले पोष्टग्राजुयट (पिजी) निःशुल्क पढाइदिने भनेको थियो । विशेषज्ञ चिकित्सक उत्पादनमा नेपालले एउटा इतिहास रच्यो ।
बाँसबासीमै न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापना बन्नुमा उपेन्द्रको निक्कै ठूलो योगदान छ । पैसा र अवशर भन्दा सेवामुखी डा. उपेन्द्र देवकोटा बिहान उठेदेखि बेलुका सुत्नुअघि अस्पतालमा भर्ना भएका प्रत्येक विरामीलाई उचित सल्लाह दिन्थे । नेपालमा न्युरोसर्जरीको क्षेत्रमा भएको विकासको श्रेय उपेन्द्रलाई नै जान्छ ।  बिरामी देख्नेबित्तिकै रोग पत्ता लाग्न सक्छ भन्ने सोच र मान्यता राख्ने उनै डा. अहिले बिरामी बनेर अस्पतालमा भर्ना भएका छन् । त्यो पनि बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) जस्तो जटिल रोग बोकेर । एमबिबिएस सकेपछि सन् १९८६ मा डा.मधु दीक्षितसँग विवाह गरेका डा. उपेन्द्रका तीन छोरी छन् ।


क्याटेगोरी : जीवन भोगाई, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्