आमाको सपना

शंकरजंग इटनी, काठमाडौं । म जन्मिदा आमा ४२ बर्षको हुनुहुन्थ्यो रे । मलाइ जन्म दिने अघिल्लो दिनसम्म घाँसको भारी बोकेर गाउँबेसी मेलापात गर्नुभएको थियो रे । यो सुन्दा आज दन्त्य कथा जस्तो लाग्छ तर यर्थात त्यही थियो समय अनि परीवेस उही । गाउँमा न स्वास्थ्य चौकी न अस्पताल नजिक एउटा सिटामोल लिनलाई एक घण्टाको बाटो हिड्नुपर्थ्यो बुढ्यौली उमेर लागेपछि मलाइ जन्म दिनुभएको मेरी आमालाई मेसीन जसरी गाँउमा काम गर्नु पर्थ्यो रे । त्यसैले नी होला आमाको स्वास्थ अहिलेसम्म पनि खराब छ ।
उ बेलाको समय विहान ३ वजे उठेर घरको दैलो पोत्नुपर्ने पधेराबाट पानी ल्याउनुपर्ने । अनि चार बजेपछि ढिकीमा धान कुट्नुपर्ने उज्यालो हुँदा सब काम भ्याएर मेलापात गर्न जानु आजको समयमा फलामको चिउरा चपाउनु सरह हुन्छ । यसरी म पनि विस्तारै दिन प्रति दिन हुर्कदै गए । मैले जान्ने र बुझ्ने भएपछि आमाको दुख देख्दा साह्रै नमजा लाग्थ्यो । बुबाआमा नै कृषी पेशामा भएकाले घरमा खानेकुराको अभाव नभएपनि पैसाको चै चरम अभाव हुन्थ्यो । हुन त, त्यतीबेला पैसाको महत्व धेरै हुन्थ्यो । छिमेकको मेरो साथीको बुबा सरकारी जागीरे पियन थिए । हाम्रो घरमा भन्दा उनीहरुको घरमा खासै पैसाको अभाव हुन्थेन हामीलाइ पैसाको खाँचो पर्यो भने पनि उनीहरुले सहयोग गर्थे सोच्थेँ मेरो बुबा पनि जागीरे भइदिएको भए पैसा को दुख हुने थिएन । म आठ नौ वर्षको हुदा बुबाले घर नजिकैको जग्गा किन्नको लागी गाँउकै एक व्यक्तिसँग ऋण लिनु भएको रहेछ । यस्तो कुरा म जस्तो कलीलो उमेरको बालकलाई भन्ने कुरा पनि भएन ।
त्यतिबेला ऋणको व्याज तिर्ने पैसा नभएर बुवा टाउकोमा हात राखेर बरबर आँसु झार्दै रोएको क्षण मेरो मानसपटलमा अझै पनि अविस्मरणीय छ । बाउको दुख एकातिर आमाको दुख अर्कोतिर उस्तै । सोच्थे ठूलो भएपछि आमाबुबाका सबै दुख हटाउने, परीवारमा खुसी ल्याउने छु । पैसाको अभाब सबै टार्नेछु । यस्तै यस्तै सोच्दा सोच्दै मेरो उमेर बढ्दै थियो । गाँउघरमा गाई भैसी पाल्ने चलन । हाम्रोमा पनि गाई भैसी बाख्रा प्रसस्त हुनेहुँदा दैनिकजसो गोठालो जानुपर्ने । मेरी आमा आफु घर धन्दा सकेर गोठालो गई मलाइ पढ्न पठाउनु हुन्थ्यो । आमाको सोच छोराले हामीले जस्तो दुख भोग्न नपरोस भन्ने थियो । घरमा फलेको धान मकै र कोदो बेचेरै भए पनि पढ्नुपर्छ भन्दै मलाई उत्प्रेरणा दिनुहुन्थ्यो । आमाले गर्ने दुख आखिर सन्तानको भविष्य राम्रो होस भन्नको लागी नै त हुन्छ । आफनो सन्तानको भविष्य उज्जवल होस, समस्या नपरोस भनेर नै हरेक आमाहरु दिन रात नभनी खटीरहेका हुन्छन ।
दिनहरु वित्दै थिए, मनमा सधै उस्तै उस्तै कुरा खेल्थे बुबालाई कसरी दुखबाट पार लगाउने । आमाको सोच जस्तै म पाँच कक्षासम्म गाउँकै कुमारी प्राथमीक विद्यालयमा पढे । त्यसपछिको पढाईका लागी घरबाट दुई घण्टा पैदल हिँडेर श्री जनप्रभात मा.वि जानु पर्थ्यो । अहिलेको जस्तो यातायातको सुविधा थिएन, न त बाटो घाटो नै राम्रो थियो । स्कुलसम्म पुग्न किलोमिटर किलोमिटर लामो जंगलको बाटो हिडनु पथ्र्यो । विहान आठ बजे नै स्कुल जान तयारी गर्नुपर्ने । विहान आठ बजे खाएको खाना अनि दुइ घण्टाको हिँडाई आजकल सोच्दापनि कष्टकर लाग्छ । तर त्यतिबेला नपढौँ आफै पछि परिन्छ भन्ने डर जानैपर्थ्यो । विहान खाएको खानकै भरमा बेलुका आएर भुटेको मकै की पाकेको खाना खाएर गुजारा धान्नुपर्ने अवस्था थियो । किनकी गोजीमा त्यतीबेला खाजा खानलाई पाँच रुपैया दामसम्म हुन्थेन ।
यस्तै यस्तै बाध्यतामा मेरो एसएलसीसम्मको पढाई सकीन लाग्दा २०५८\५९ साल तिर तत्कालीन विद्रोही माओवादीको द्धन्द्ध चरम उत्कर्षमा पुगेको थियो । त्यती नै बेला स्कुलबाट घर फर्केर बाटोमा आँउदै गर्दा तात्तकालीन माओवादीले म लगायत गाँउबाट स्कुल गएर फर्कदैगरेका १० जना साथीहरुलाई नियन्त्रणमा लिएर गए । त्यो खवर बेलुका छोरो घर नआएपछि मात्र आमा र बुबालाई था भएछ । यहि चिन्ताले आमा बेहोस भएर ढल्नुभएछ । छिमेकीहरु आएर सम्झाइबुझाई गरेछन् । हाम्रो साथीहरुको समुहलाई नियन्त्रणमा लिएर सालघारीको बाटो हुँदै एउटा डाँडामा लगिएको थियो । बाटोमा धैरै क्रान्तिकारी गफगाफ हुन्थे, तपाईहरु डराउनुपर्दैन हामी गरीब निमुखाका लागि शोसक सामन्तको विरुद्द लडेका हौँ, अब अन्तिम लडाइ लड्नै पर्छ भन्दै सम्झाउथे ।
भ्रष्टचारी दलालीको अन्त्य गर्नुपर्छ, सहिदको सपना पुरागर्नैपर्छ, बैज्ञानिक समाजबादको स्थापना गर्नुपर्छ आफ्नो लागी होइन देश र जनताको लागी । यस्तै यस्तै भाषण सुन्नुपर्दा लाग्थ्यो अब यो देशमा कोही पनि गरीब भएर बाँच्नु पर्दैन, कसैले पनि अकालमा मृत्युवरण गर्नुपर्दैन । कोही नेपाली दाजुभाई पनि अरबको मरुभुमीमा गएर श्रम बेच्न बाध्य हुँनेछैनन । गास, बास, कपास, स्वास्थ्य शिक्षा जस्ता आधारभुत कुराहरु नेपाली जनताले सहजै पाउने भए ।
यसरी देशभक्ती र क्रान्तीकारी भाषण सकेर बेलुका तपाईहरुले हाम्रो पाटीलाइ सहयोग गर्नुपर्छ भन्दै रातीराती उनीहरुले हामीलाई छाडीदिए । घर आइपुग्दा रातको ११ वजेको थियो, आमा एकातिर रुदै बुबा अर्को तिर पिलपिल आँसु झार्दै रुदै हुनुहुन्थ्यो । म पुग्ने वित्तिकै झन डाकोछोडेर रुन थाल्नुभयो दुबैजना । मैले केही भएको छैन, रुनु पर्दैन मसँगै सबै साथीहरु आए । खाना खाएर सुतम भनेपछि त्यो रात यत्तिकै सुतियो । राती अबेर सुतोकोले होला सधै ३ वजे उठेर घरधन्दा सुरु गर्ने मेरी आमा भोलिपल्ट उठ्दा साँढे चार भइसकेको थियो । आमा जाँतोमा मकै पिस्न थाल्नुभयो, म आमासँगै उठेर घरको दैलो पोत्न थाँले । सधैँजसो घरको दैलो आमाले पोत्ने, तर त्यो दिन आमाको दुखसँगै माया सम्झिए । आमाले हाम्रा लागी गरेको बलीदानी र त्याग सम्झीएँ ।
मेरो मनले यसै बस्न पटक्कै मानेन आमालाई सघाउन भन्दै मैले दैलो पोत्थे । आमा पर्देन तँ पढ मात्र भन्नुहुन्थ्यो । म तपाई विस्तारै बुढो हुनुहुन्छ अनि पछि कसले गर्छ र यो काम, मैले पनि सिक्नुपरेन र बुडीमाउ भन्थे । दिनहरु वित्दै थिए, एसएलसी पनि सकीयो, नतिजा राम्रै आएपनि यो भन्दा माथी पढाउने हैसियत बुबाआमाको थिएन् । आमाले भन्नुभयो एस एलसी सम्म त दुख सुख पढाइयो अब त हामी सक्दैनौँ, आफै काम गर्दै पढ्नुपर्छ । मलाई पनि परिवारको अवस्था थाहा नहुने कुरै थिएन् । तै पनि आमालाई केही भन्न सकिन् । मनमनै पढाईलाई त्यतीकै नरोक्ने निर्णय गरे । दुई चार पैसा कमाएर भए पनि पढछु भन्ने सोच्दैगर्दा गाँउकै आफू पढेको स्कुलमा ३ कक्षासम्म पढाउने जागीर मिल्यो । आफुलाई नि अब त पढ्नसक्छु भन्ने आँट आयो, एकदिन सदरमुकाम आएर मानविकी संकायमा भर्ना गरे । क्याम्पस प्रमुखलाई म रेगुलर कलेज आउन नपाउने कुरा सुनाए । उहाँले मिल्दैन भन्नुभयो,पछि मैले मेरो परिवारको अवस्था र आमाबुबाको दुखका कुरा सुनाएपछि मासिक शुल्क तिर्ने सर्तमा मैले घरमा बसेर स्वअध्यन गर्ने मौका पाए ।
पढाई राम्रो भएकाले कहिल्यै फेल हुनुपरेन् । अरु धनिमनि, सुख सयलमा हुर्केका छोराछोरी रेगुलर कलेज जाँदा पनि फेल भएको खबर सुन्थे । म रेगुलर पास भएकोमा गाउँले अचम्म मान्थे । एक दिन सोचेँ, यो शिक्षण पेशाबाट मात्र मेरो भविष्य बन्दैन, गाँउको स्कुलमा पढाएर पाएको तलब मेरो घर खर्चमै सकीन्छ । यस्तै सोच्दासोच्दै स्कुलबाट पाएको एकमहिनाको तलब र आमाले धान, मकै, कोदो बेचेर राखेको पैसाले लोकसेवाको किताबहरु किनेर ल्याएर पढ्न सुरु गरे । पहिलो पटकको लोकसेवा परिक्षामा असफल भए, तर हिम्मत हारिन । दोस्रो चोटी २०६५ सालमा खरीदारमा नाम निकाल्न सफल भएपछि भने सोँचे अब मेरो आमा र बुबाको सपना साकार भयो, अब सुखका दिन आउनेभए ।
आज आमा पनि बुढी हुनुभयो बुबा पनि , घर गएको बेलामा पटपटी फुटेको हात गोडा देख्दा गहभरी आँस हुन्छ । दुख नगर्नुस भन्छु, बुढ्यौली भएपनि पुराना मान्छे दुख नगरी पटक्कै बस्न नसक्ने । आमा अहिले आएर भन्नु हुन्छ पहिलाको दुख बाध्यता थियो भने अहिलेको दुख खुसीको हो । म पनि मन मनै सोच्छु र हो की जस्तो लाग्छ । आफ्नो भविष्य बनाउनका लागी घरमा बसेर पनि भएन, आज बुढेसकाल लागेका आमाबुबाको मुहारमा खुसी छाएको छ । दुखहरु क्रमश घट्टै हट्दैछन् ।
भनिन्छ नी दुख पछि एक दिन पक्कै सुख आउने छ । तर म लगाएत साथीहरुलाई अपहरण गरेर लग्ने तात्कालीन विद्रोही समुहको बुलन्द भाषण आज आएर सम्झन्छु अनि भोका नाङगा र गरीबको दुख देख्दा लाग्छ जो सत्ता र पावरमा पुगे पनि गरीब र दिन दुखीको लागी केही नहुने रहेछ । मेरो मेहनतले मेरी आमाको मुहारमा खुसी छाउन सकेपनि उनीहरुले त्यतीबेला बोलेका चर्काचर्का भाषणहरु आज आएर कतै पनि प्रयोगमा नआउँदा नेपाल आमाको मुहारमा खुसी छाउन नसकेको अवस्थाले भने मलाई सधै दुखी बनाईरहेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्