Techie IT
Mission Khabar

साहित्यमा शासक र देशको चित्रण, कविता मोफसल


कविता : मोफसल
सिस्नोका निश्लोट झाङहरूमा
भोक चुसेर
निदाउँछिन् उनी – देशको निद्रा !
र आतङ्कको सुकुलमा
बैँस सुकाएर
उकालो लाग्छिन् – उनी हरेक दिन !
सायद,
छोडेर आउँछिन् – रित्ता सपनाहरू
उतैकतै सिमेण्टको अनकण्टार जङ्गलभित्र !

थाहा छैन्
कसले निचोरिरहेछ
खुशीहरू मुस्कुराउने ओठहरू
र सँधै उदास गीत सुनेर निदाउँछिन् – मोफसल ?

फोक्लेण्डको निर्जन टापुमा
बन्दुक सिरानी हालेर
उसबेला पनि,
पड्केथ्यो आमाको मुटु – ड्वाङ ड्वाङ !
बारुदको त्यही धुन सुनेर
आजसम्म पनि,
यो धर्तीको आँसु बगिरहेछ – थाकखोला !
मलाई लाग्छ
यो कहिल्यै नओभाउने चिसो नदी
सायद,
आमाकै आँखाबाट रसाएको हुनुपर्छ !

पत्तै भएनथ्यो
कसरी आएथे पीडाका जुलुशहरू
र सिउँधोसँगै जीवन पखालिएथ्यो – मोफसलको ?

अल शुन्ना रेटिएर
सपनाको पुरानो धुलेपाटीमाथि
यसपालि पनि,
ज्यानमारा तमासुक फल्यो – आमाको मन !
आशाको कलिलो घाम
टिग्रीस नदीको पानीमा डुबेपछि
बरखी बारिएको शिरबाट
खुत्रुक्कै झर्यो बुकीफूल – चिसो जमिनमा !
र खबरै नगरी
अकस्मात् बगेर गयो
एउटा देश पनि आमाको मनबाट – सुटुक्कै !

बिडम्बना,
अब केही बेरमै
देश निकालाको पूर्जी काटिनेछ
दुखको पैह्रो झरिरहेकी विधुवा मोफसललाई !

तुसारापात छलेर
उनी बैँस ओच्छ्याईदिन्छिन्
कुनै प्राचीन दहजस्तो यो शहरलाई !
भोटको दुःख खेपेर
उनी तरान हालिदिन्छिन्
बषौँदेखि थलिएको बूढो रिङरोडलाई !
आफ्नै स्तनबाट,
ममताको छो–रोल्पा झारेर
एउटा विवश गुफा बाँचेकाहरूलाई
अब कहिलेसम्म,
यसरी जिन्दगी बौराइरहन्छिन् – मेरी मोफसल ?

यो थकित समय
पीडै–पीडाको भेल बोकेर
किन बगिरहेछ
उनीमाथि यसरी दुखको सप्तकोशी ?
जारजस्तो सँधियारले
जङ्गेपिलरको शिरमाथि टेकेर
दुवाली छेकेपछि
नागरिक सुतेर अनागरिक ब्यूँझिन्छिन् उनी !
दियालो निभेको रोगी शहरलाई
नअस्ताउने घाम दिएर
किन होला
चमेरे रातहरू ओढिरहेछिन् – मेरी मोफसल ?

कसरी पस्यो
लुटेराजस्तो सिंहदरबार
उनका विश्वासका नीचान खेतहरूमा ?
कसले खनिरहेछ
भरोसाको सुमेरु पहाडमा भित्रभित्रै सुरुङ ?
कुन दुष्टले काटिरहेछ
उनका हजारौँ सपनाहरूको भोर्ले लहरो ?
कहाँबाट उखलिरहेछन्
खुशीहरू मुस्कुराउने यो जिन्दगीका जराहरू ?
र किन झरिरहन्छ
ओइलाएर हरेक दिन उनको जोवनको घडीफूल ?

सा–साना नानीहरू
पाठशालाको पातलो छायाँमा बसेर
देशभक्तिको गीत घोकिरहँदा
सिकुवामै खुर्दलोटन डुबिरहेछिन् – मोफसल !
झुसिलकीराहरूले लुछेर
विरुप बनेको फूलको बोटजस्तै मोफसल
अब कहिलेसम्म कुरिरहन्छिन्
देशको नक्साभित्रै हराएको एउटा देशलाई ?

लेखक :  प्रथा


क्याटेगोरी : ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्