Techie IT
Mission Khabar

हरेक धोकासँग प्रेम : शंकरजंग इटनी


चैत मासको टनटलापुर घाम । काठमाडौंका सडक गल्लीहरु चर्को घामले गर्दा पिच नै पग्लेला जसरी तालेका थिए । काठमाडौंको टुडीखेलमा घोडेजात्रा हेर्नको लागी सर्वसाधारण को भिड लागेको त्यो बेला म पनि त्यतै गएको थिए । म संग मेरो गाँउको दाइ र दाइसँगै अर्का एक साथी थिए । उनको नाम थियो अमित । दाइले मलाइ अमितसंग परिचय गराउनुभयो । मैले पनि मेरो परिचय दिए ।

त्यो दिन हामी घोडेजात्रा हेरेर आ-आफनो कोठामा फर्कियौँ । बेलुका कोठामा गएर फेसबुक खोल्दा अमितले मलाई फ्रेण्ड रिक्वयस्ट पठाएको रहेछ । मैले रिक्वयस्ट आएको दुई दिनपछि एसेप्ट गरे । त्यसपछि फेसबुकबाट हाम्रो कुरा हुन थाल्यो । पैला साथीबाट सुरु भएको नाता पछि प्रेमी प्रेमीकामा परिणत भयो । जुन दिन अमितसंग काठमाडौंमा हजारौंको भिडभाडमा भेट भयो । त्यस दिन देखी मेरो मन साह्रै खुसी र प्रफुल्लीत थियो । मानौँ यो संसारमा अमित नै मेरो पहिलो मनको राजा र प्रेमी हो । अमित सुन्दर अनि आकर्षक जिडाउको भएकाले अरुको नजर अमित माथी पर्छ की भनेर यो मनले साह्रै डाहा गथ्र्यो ।

समय वित्दै जादा मलाई अमितसंग भेट्ने र प्रेमील गफ गर्ने बानी परेको थियो । हामी काठमाडौंको निकै भीडभाड अनी साँघुरा गल्लीहरुमा जिवनको फराकीला सपनाहरु बोकेर एक अर्काको हात समाउँदै कति हिड्यौँ कति, गणना नै छैन । हामी दुवै जना कफीको पारखी, त्यसैले एक दिन अमितले मलाइ काठमाडौंको ठमेलमा रहेको हिमालयन जाभामा कफी पिउन अफर गर्यो । सहजै उसको अफरलाई स्वीकारेर म हिमालयन जाभा पुगे । अमित त म पुग्नु भन्दा पहिले नै आइसकेको रहेछ ।

हाम्रो प्रेमले निरन्तरता पाइरहेको थियो, प्रेमिल भेटघाटले एकअर्कालाई देख्न भेट्न नपाउँदा बाच्नै गाह्रो होला जस्तो हुन्थ्यो । तर त्यही दिन एक्कासी उसले कफीको चुस्की लाउँदै मलाइ विदेश जाने निर्णय गरेको सुनायो । म छाँगाबाट खसे जस्तो भएँ र भने मलाई नभनी कसरी यसरी छुट्टीएर परदेशको यात्रा गर्ने निर्णय लियौँ ? अमित म त तिम्रो प्रेमीका होइन र, कतै तिमीले मलाई प्रेमको बहानमा चिटीङ त गरीरहेको छैनौँ ? उसले मलाई झर्कदै चर्को स्वरमा उत्तर फर्कायो । म को हुँ कस्तो छु तिमीले सम्झाउन पर्दैन, म आफूलाई मात्र होइन तिमीलाई नि राम्रोसंग चिन्छु । म निशब्द भएँ । म अमितलाई धेरै माया गर्थे । उसले पनि मलाई सुरुका दिनहरुमा धेरै नै माया गथ्र्यो हामी विहे गर्नुपर्छ भन्थ्यौँ । तर समयसँगै अमित त परिवर्तन भएछ । उसको व्यवहारले, कफी पिउँदै गर्दा दिएको चर्को उत्तरले । उ भित्रको परिवर्तन महशुस गरायो ।

पहिला पहिला हामी सामाजीक सन्जाल फेसबुकमा लामो समयसम्म गफीन्थ्यौँ । खुबै एकअर्कामा प्रेमिल गफगाफमा ब्यस्त हुन्थ्यौँ । तर पछि गएर अमितले अफलाइन बसेर फेसबुक चलाउन थाल्यो म उसको प्रोफाइल खोलेर सेकेन्ड सेकेन्डमा हेर्थे, हरीयो बलेको छ की छैन भनेर । म रातीसम्म उसको मेसेजको प्रतिक्षामा हुन्थे, कति रात त उसको मेसेजको प्रतिक्षामा नै वित्थ्यो । पहिला पहिला एक सेकेन्डमै मैले गरेको मेसेज सिन हुन्थ्यो । तर पछि आएर त्यो पनि हुन छाड्यो ।

यसरी मलाई इग्नोर गर्दै अमित नर्वेको राजधानी ओस्लो उड्यो । उ त्यहाँ उच्च शिक्षाका लागी गएको थियो । उसले मलाई नेपाल छोड्ने बेलामा अफलाइन मेसेज छोडेको रहेछ । मैले फेसबुक खोलेर हेर्दा मेसेज थियो राम्रोसंग बस्, समयले मलाई यस्तै बनायो । जाने बेला भेट्न पनि सकिन्, मलाइ माफ गर । तर खै कसरी आफैले आफैलाइ सम्हाल्न खोजौँ । उसको उडानको रमाइलो यात्राले मलाइ दिएको पिडा अमितलाई के थाहा । उ ओस्लो पुग्यो । था छैन उसले मलाई कति पिडा दिएको छ ।

ओस्लो पुगेर अमितले फेरी मलाई निरन्तर मेसेज गर्न थाल्यो, खै किन हो थाहा छैन । उ फेरी पहिलाकै जस्तो प्रेमिल गफ गर्न थाल्यो, मलाइ आशा नै थिएन अमित फेरी मेरो जिन्दगीमा आउँछ भन्ने । किनकी उसले मलाइ काठमाडौं हुँदा नै विछेडको आभास दिलाएर गएको थियो । थाहा छैन टुक्रा टुक्रा भएर टुटेको मेरो यो दिल फेरी कसरी जोडिन पुग्योे । जसले मेरो यथार्थ र साँचो मायालाई बुझन सकेन्, आज उसैले फेरी मायाको आभाष दिलाइरहेको थियो । मैले पनि अमितलाई भन्ने गर्थे, अमित तिमीले यो सहर छोडे देखी काठमाडौंका सडक गल्लीहरु सुनसान छन्, बाटाहरु मेरो लागी निकै साँघुरा भएका छन्, तिमी फर्कने बाटो हेरेर मेरा दिनहरु बित्दैछन । तिमी कहीले फर्कन्छौ ? सुन्छु रात पर्देन रे तिम्रो सहरमा ? यसरी हाम्रो फेरी महिनौँसम्म कुरा हुन थाल्यो ।

मलाइ के थाहा हुन्थ्यो र उसको कुरा, म त सोझी थिए, सरल थिए, मेहेनती थिए । एक दिनको कुरा हो, मैले अफिसबाट घर पुगेर फेसबुक खोले । तर यथार्थ अर्कै पाए । एक्कासी अर्कै केटीसँग विहे गरेकोे फोटो अमितको फेसबुक वालमा हालेको देखे । अमितले लेखेको थियो फिलीङ लभ विइथ सरु । म अलमल्ल परे, सोचे जिन्दगीमा साँचो प्रेम गर्नेहरु नै यो धर्तीमा तड्पी तड्पी बाँच्नु पर्ने रहेछ । अमित, तिमीले दिएका हरेक धोकासँग मेरो पटक पटक प्रेम भयोे । मैले सोचे, तिमी सच्चियौँ होला भन्ने । तर यर्थात अर्कै रहेछ । अमित, सपनाहरु पुरा गर्ने हक हुन्छ हर कोहीलाई । तिम्रो सपना मलाई रुवाएर अर्कैलाई पाउनुरहेछ । आज आएर थाहा पाए । यो पनि थाहा छ, अब तिमी मेरो जिन्दगीमा फर्केर कहिल्यै आउने छैनौँ ।

अमित, आउने छ त्यो दिन, एक दिन तिमीलाई मायाको अभावमा पक्कै आँसु झर्नेछ, तिम्रा आँखाको बाँध फुटाएर अभावको भेल बग्नेछ । आशा छ, सम्झनामा सिर्फ त्यही तिम्रो र मेरो प्रेम हुनेछ । अमित, मैले यादहरु उपहार पाएको छु आज, तिमीलाई साँचो प्रेम र इज्जत दिइको बदलामा । पहिला तिमीलाई पाएको खुसीयालीमा, तिमै्र सम्झना र प्रेममा कैयौँ रातहरु अनिदो वित्थे । तर आजभोली तिमीलाई गुमाउनुको पिडा र चोटहरुले कैयौँ रातहरु अनिदो नै वित्दैछन् । बस फरक यत्ति छ । तिमी त तिम्रो प्रेमीकासँग ओस्लोका सहरहरुमा बसेर सुन्दर सपनाहरु बुन्दै होलाउ । यता मेरो जिन्दगीले कुन मोड लिन्छ, म आफैलाई थाहा छैन् । बस तिमी खुसी छौ, यसैलाई म मेरो प्रेमको सफलता ठान्छु, ठानिरहनेछु ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्