Techie IT
Mission Khabar

पछिल्लो सात वर्षमा बाढी र पहिरोमा परि १६ सय बढीको मृत्यु, मनसुन सक्रिय भएसँगै देशभर बढ्यो त्रास


काठमाडौं– देशभर मनसुनी बर्षा सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेको छ । हिमाल र पहाडमा पहिरोको जोखिम बढ्दैगर्दा देशको तराई क्षेत्र डुबान र बाढीको जोखिममा छ ।

सोमबार मात्रै पनि पहिरोले घर पुरिदा रोल्पामा सुत्केरी महिला सहित तीन जनाको र कैलालीमा एक जनाको ज्यान गएको छ । तराई जलमग्न बन्दैगर्दा मानविय र जनधनको क्षती बढ्दो देखिन्छ । मनसुनी वर्षा अझ दुईदिनसम्म यथावत रहने मौषम पूर्वानुमान महाशाखाको भनाईले लाखौँ सर्वसाधारणलाई बाढी पहिरोको त्रासदी बढाएको छ । ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिक परीक्षण बिनै सडक निर्माण गर्ने प्रवृत्ति बढ्दा पहिरोको जोखिम बढेको छ । कमजोर भू–धरातलमा निर्माण गरिएका सडक बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणले बाढी पहिरोको जोखिम बढाएका छन् ।

गृह मन्त्रालयको तथ्यांक अनुसार चालू बर्षको यस अवधिमा बाढी पहिरोमा परि २७५ जनाले ज्यान गुमाएका छन् । ६८२ जना घाइते भएका छन् । सरकारी रेकर्ड अनुसार यस वर्षमात्रै ६६ करोड ७४ लाख ४३ हजार ६८२ बराबरको क्षति भैसकेको छ । चालू बर्षको प्राकृतिक विपत्तिका कारण ४८ जना हराउँदा दुई हजार १ सय २१ जना घाइते भएको सरकारी रेकर्ड छ ।

पछिल्लो सात वर्षमा बाढी पहिरोका कारण एक हजार ६ सय ७२ जनाको मृत्यु भएको सरकारी रेकर्ड भएपनि बर्षेनी बढ्दो क्रममा रहेको जनधनको क्षति न्यूनीकरणका लागि भैरहेको सरकारी तयारी र प्रयास पर्याप्त देखिएको छैन ।

बढी जोखिममा रहेका स्थान : 

भू–गभर्वविद्का अनुसार पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण पहिरोको जोखिम बढेको छ । अन्य प्राकृतिक एवं भौगर्भिक कारणले पनि ठूला–ठूला पहिरो जाने जोखिम पहाडी क्षेत्रमा छ । पछिल्लो पटक बागलुङ र धादिङमा गएको पहिरो भौगर्भिक जोखिम भएको बताइएको छ ।

चुरे क्षेत्रसँगै पछिल्लो समय मुग्लिन–नारायणगढ सडकखण्ड, महाभारत पर्वत श्रृङ्खलामो मध्यभाग, मध्यपहाडी राजमार्ग, बुटवल–पाल्पा सडकखण्ड, नेपालगञ्ज–सुर्खेत–जुम्ला सडकखण्ड पहिरोको उच्च जोखिममा छन् । यी बाहेक धनगढी–डडेल्धुरा सडकखण्ड, बनेपा–बर्दिवास, ओखलढुंगा, सोलुखुम्बु, धादिङ, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, सहित पूर्वी पहाडका धेरैजसो जिल्ला पहिरोको जोखिममा छन् । पृथ्वी राजमार्ग र पासाङ ल्हामु राजमार्ग क्षेत्र पनि मानविय कमजोरीका कारण पहिरो जोखिममा छन् ।

सरकारको तयारी :
सक्रिय बन्दै गरेको मनसुनसँगै बढ्न सक्ने बाढी र पहिरोको जोखिम न्यूनिकरणका लागि अहिले सरकारी सक्रियता पनि बढेको छ । देशका विभिन्न पाँच ठाउँमा आपत्कालिन क्षेत्रीय भण्डारगृह सहित उद्धार र राहतका लागि हेलिकोप्टरलाई तयारी हालतमा राखेको छ, सरकारले । पहिरोको उच्च जोखिम रहेका राजमार्ग क्षेत्रमा पनि सडक आवागमन सहज बनाउन भन्दै नेपाली सेनासँग समन्वय गरेर ‘हेभी इक्यूपमेन्ट’ परिचालनको तयारी भएको छ ।

सरकारले विपद्को व्यवस्थापनका लागि भन्दै त्रिपाल, खाद्य सामाग्री तथा औषधीजन्य सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता कक्षमा तयारी हालतमा राखेको छ । सरकारले सहयोगी संस्था, नेपाल रेडक्रस तथा अन्य संघ संस्थालाई समेत राहत तथा उद्धारका लागि तयारी अवस्थामा रहन आह्वान गरिसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्