Techie IT
Mission Khabar

पहिरोको बितण्डा, थुनिएको बडिगाड खोलाको ओभर फ्लोले पनि घटाएन त्रासदी


बाग्लुङ– पहिरोले शुक्रबार राति साढे ११ बजेदेखि थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको बाग्लुङको बडिगाड खोला शनिबार बिहानबाट ओभर फ्लो भएर बग्न थालेपनि तटिय क्षेत्रको जोखिम अझै टरेको छैन ।

शनिबार बिहान पाँच बजेतिरबाट थुएको खोला ओभर फ्लो भएर बग्न सुरु गरेपनि थुनिएर बनेको ताल खासै घटेको छैन । खोला थुनिएको जानकारी पाएलगत्तै बाग्लुङ जिल्लाको नेपाली सेना, नेपाल प्रहरी सहितको टोली खोलाको बहाव खोल्ने काममा लागेको थियो । तर, शनिबार बिहानबाट पानी आफै ‘ओभर फ्लो’ भएर बग्न सुरु गरेको बाग्लुङका एसपी दीपक रेग्मी बताए । पानी बग्न थालेपनि पूर्ण रुपमा जोखिम नहटेका कारण नदी किनारका बासिन्दालाई अलर्टमा रहन आग्रह गरिएको एसपी रेग्मी बताउँछन् ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने पानी बग्न सुरु भएपछि केही हदसम्म जोखिम कम भएको बताए । प्रजिअ पौडेलले भने– सामान्य अवस्था नहुन्जेलसम्म खोला किनारका बासिन्दालाई सुरक्षित स्थानबाट फिर्ता बोलाइदैन । खोला थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेपछि बाग्लुङको ढोरपाटन २ सिमलचौरका ४ घर डुबानमा परेका थिए ।

स्थानीय चुराबहादुर कुमाल, देविराम कुमाल, कृष्णबहादुर कुमाल र रामबहादुर कुमालको घर गोठ अझै तालबाट बाहिर निस्किएका छैनन । पहिरो खसेर खोला थुनिएपछि बाग्लुङ र गुल्मीको खोला किनार क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्दै आएका छन् । डुबान र पहिरोको त्रासदीमा बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा, चोरकाटे, उल्लीखोला, रिडीसम्मका बासिन्दा जाग्राम बसेका हुन् ।
शुक्रबार मध्यरात बाग्लुङ जिल्लास्थित बडिगाड गाउँपालिका–७ र ढोरपाटन नगरपालिका–१ को तिरतिरे भन्ने स्थानमा चट्टानसहितको पहिरो खसेर खोला थुनिएको थियो । पहिरोबाट बाग्लुङ बुर्तिवाङ सडक खण्डको केही भाग समेत भत्किएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्