Techie IT
Mission Khabar

वाइडबडी घोटाला प्रकरण :साँढे ४ अर्ब अनियमिततामा निगम महाप्रवन्धक, पूर्व र बहालवाला मन्त्रीसहित दर्जन बढीलाई कारबाही सिफारिस


काठमाडौं– वाइडबडी विमान खरिद प्रकरण छानविनका लागि गठित उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख बराबरको आर्थिक अनियमितता भएको ठहर सहितको प्रतिवेदन सार्वजनिक लेखा समितिमा बुझाएको छ । उपसमितिको प्रतिवेदनमा समितिले अध्ययन गर्न बाँकी रहेको तथा सबै प्रमाण प्राप्त नभएका कारण अनियमितताको रकम बढ्नसक्ने आँकलन गरिएको छ ।

उपसमितिले वाइडबडी घोटालामा दुई पूर्व मन्त्रीसहित बहालवालमन्त्री र तीनजना सचिवलाई कारवाही सिफारिस गरेको छ । मुख्य दोषी ठहर गरिएका नेपाल बायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्न भनिएको छ । यस्तै, उपसमितिले पर्यटन मन्त्रालयका बहालवाला मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई पनि कारबाहीको सिफारिस गरेको छ । यता, बोर्ड अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिवहरू प्रेमकुमार राई, शंकरप्रसाद अधिकारी, महेश्वर न्यौपाने, कृष्णप्रसाद देवकोटा, महाप्रबन्धक सुगतरत्न कंसाकार, अर्थ मन्त्रालयका तत्कालीन सहसचिवहरू शिशिरकुमार ढुंगाना, सूर्यप्रसाद आचार्य, जीवनप्रसाद सिटौला, सुरेश आचार्य तथा सदस्यहरू क्रमशः टेकनाथ आचार्य, बुद्धिसागर लामिछाने, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, अच्युतराज पहाडीमाथि छानबिन गरी आवश्यक देखिए निजहरूलाई पनि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने सिफारिस गरिएको छ ।

खरिद प्रकरणमा संलग्न रहेका सञ्चालक सदस्यहरू, विभिन्न उपसमितिमा रहेका व्यक्तिहरू र सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरू दोषी देखिएमा भ्रष्टाचार अभियोगमा कारबाही गर्न अख्तियारलाई निर्देशन दिन लेखा समितिलाई सिफारिस गरिएको छ । अग्रिम भुक्तानी, छुटको रकममा हिनामिना र बढिको देखाएर कम क्षमताको किनेर अनियमितता गरिएको छानविन समितिको ठहर छ ।  लेखा समितिले यो प्रतिवेदनलाई कसरी अघि बढाउँछ, अनि अख्तियारी प्राप्त निकाय सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन र कारबाहीलाई कस्तो मोड दिन्छन्, यो आम प्रतिक्षा बनेको छ ।


क्याटेगोरी : यातायात / यात्रा, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्