Techie IT
Mission Khabar

साँढे ५ लाख नगद सहित १५ जुवाडे प्रहरीको फन्दामा, के होला कारबाही ?


काठमाडौं– महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पाँच लाख ३५ हजार ८ सय ४० नगद सहित १५ जुवाडेलाई नियन्त्रणमा लिएको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी प्रभाग गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटिएको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठाबाट बुधबार मध्यराती १५ जनालाई नियन्त्रणमा लिएको हो ।

बिशेष सुराकी पछ्याएर सफलता हात पारेको प्रहरीले कानुनले बर्जित गरेका जुन कुनै घटना रोक्न सक्रिय हुने दाबी गरेको छ । पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन्। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाइले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा छापा मारिएको स्विकार गर्दै कानुन कार्यान्वयनमा आफु र संगठन क्रियाशिल हुने जानकारी दिए । पक्राउ परेकासँग आवश्यक बयान लिएर थप कानुनी कारबाही अघि बढाइने बताइएको छ ।

यस्तो छ कानुनी व्यवस्था :
–जुवा खेल्न वा खेलाउन निषेध गर्न बनेको जुवा ऐन २०२०

जुवा खेलेमा पहिलो पटकलाई २०० जरिवाना, दोस्रो पटकलाई एक महीनादेख तीन महीनासम्म कैद र तेस्रो पटक देखिए भेटिएमा १ वर्ष कैद हुने व्यवस्था गरेको छ । पहिलो पटक नै जरिवानाको सजाय तिर्न नसके दुई महीनासम्म कैद हुनेछ ।

यस्तै आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवाको खाल थाप्ने वा अरु कुनै प्रकारले जुवा खेल्ने काममा लगाएमा वा लगाउन दिएमा पहिलो पटकलाई रु. ३००।– जरिवाना, दोस्रो पटक देखिकोलाई तीन महीनादेखि नौ महीनासम्म कैद हुने कानुनी ब्यबस्था छ ।

जुवा खेल्न लागेको ठाउँमा जुवा खेल्नका लागि सरसापट दिएमा साहूको दिएको पैसा भुस हुन्छ भने त्यसको डेढी बढाई जरिवाना तिर्नुपर्छ । खालमा बस्ने, हेर्ने र सहयोग गर्ने काम गरे गराएमा ५० रुपैयाँसम्म जरिवाना हुन्छ । जुवा खेल्न उपयोग गरिएका सबै सामान जफत गरिन्छन् ।

कानुन फितलो भएका कारण पनि अबैध मानिएको जुवाले जताततै स्थान बनाएको कतिपयको बुझाईछ । प्रहरीले पटक–पटक पक्राउ गर्ने र छाड्ने क्रम जारी रहनुले पनि कमजोर कानुनलाई प्रस्ट्याएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्