Techie IT
Mission Khabar

कोरोना संक्रमितको संख्या ५७ पुग्यो, परिक्षणको विश्वसनियतामा प्रश्नैप्रश्न


काठमाडौं\वीरगञ्ज । बुधबार एकैदिन तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका  १ जनामा कोरोना पोजेटिभ देखिएपछि संक्रमितको संख्या ५७ पुगेको हो ।

जितपुर सिमरा नगरपालिकाका ४३ वर्षिया, सिम्रौनगढका ३१ वर्षिया पुरुष, वीरगञ्ज महानगरपालिकाका सफाइ कर्मचारी वीरगञ्ज–२ छपकैयाका ४६ वर्षिया पुरुषमा कोरोना संक्रमण पहिचान भएको छ । आइतबार मात्र वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप एक कर्मचारीमा संक्रमण भेटिएको छ । दुईजना संक्रमित भने दिल्लीमा आयोजित तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका व्यक्ति हुन् । यसअघिका संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेको आधारमा खोजी गर्ने क्रममा तीन जना संक्रमित पहिचान भएको र उनीहरुको सम्पर्कमा रहेका अन्यको खोजी भैरहेको बताइएको छ ।

यसअघि रौतहटका दुई जनामा कोरोना पुष्टि भएको थियो । कोलकाताबाट फकिएकै समयमा चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका भुसहाका व्यक्तिमा यसअघि गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेभिट आएर घर पठाइएपनि तीनै व्यक्तिमा परिवार र समुदायमा १० दिन बिताइसकेपछि संक्रमण पुष्टि भयो । कतिपय स्थानको र्यापिट किटको परिक्षणमै प्रश्न उठिरहदा पीसीआर नतिजा नै गलत आएको जनकपुरको ल्याब नै बन्द गरिएको छ ।

संक्रमण पहिचान भएको क्षेत्रलाई सिल गरिए पनि कोरोना परिक्षणकै बिश्वसनियतामा प्रश्न उठ्दा जोखिम बढ्नसक्नेतर्फ बिज्ञहरुले सरकारलाई सचेत गराएका छन् । नेपालमा पहिचान भएका संक्रमित मध्ये १६ जना उपचारपछि पुर्णरुपमा निको भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्