Techie IT
Mission Khabar

अझै सुरु भएन उखु क्रसिङ, उद्योगीको मनोमानीले किसान मारमा


नवलपरासी \राजविराज – उखु क्रसिङको सिजन शुरु भएको लामो समय बितेपनि अझसम्म चिनी उद्योग सञ्चालन भएका छैनन । यसले देशभरका उखु किसानलाई मारमा पारेको छ । अघिल्लो वर्षको करीब पाँच करोड भुक्तानी समेत चिनी उद्योगबाट नपाएका उखु किसान यस वर्षसमेत समयमै उद्योग सञ्चालनमा नहुँदा लगानी गुमाउनुपर्ने अवस्थामा पुगेका छन् ।

मङ्सिरको पहिलो साताबाट उखु क्रसिङको याम शुरु हुन्छ । तर नवलपरासी लगायत पूवी क्षेत्रका कुनै पनि चिनी उद्योग सञ्चालनमा आएका छैनन् । नवलपरासीमा इन्दिरा, लुम्बिनी र बागमती गरी तीन ठूला उद्योग छन् । तीनवटै उद्योग सञ्चालनमा नआउँदा किसानले खेतमा लगाएको उखुबाली दिनप्रतिदिन सुक्दैछ ।

सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ निर्धारण गरेकोमा उद्योगीले भने बिरोध गरिरहेका छन् । उद्योगीहरु चिनीमा निरन्तर घाटा सहनुपरेको भन्दै सरकारले आफ्ना माग सम्बोधन गरेर सहयोग नगरे मिलको चाबी सरकारलाई बुझाउने धम्की दिइरहेका छन् । यता, समयमा भुक्तानी नपाएको पीडा ब्यहोरिरहेका किसान अहिलेको उखु खेतमै सुक्ने चिन्तामा छन् । सरकार यी यावत समस्यामा केबल मुकदर्शक बनिरहेको छ ।

पटक–पटक किसानले उखुको भुक्तानी र मूल्य निर्धारणको विषयलाई लिएर आन्दोलन गर्दै आए पनि सरकारले दिगोरूपमा उखुखेतीको उचित व्यवस्थापन गर्न सकिरहेको छैन । बरु बर्सेनी उखु आम्दानी बढाउने नगदेबाली भन्दा तनाव बढाउने खेती जस्तो बनिरहेको छ । राज्यले उखुबालीलाई राष्ट्रिय बालीको रुपमा घोषणा गरेको छ । तर उद्योग व्यावसायी कमाउ भन्दा बाहिर सोच्ने पक्षमा नदेखीदा सरकारी घोषणा फगतको गफ बन्दैआएको छ ।

अब भने कत्तिपनि ढिलाई नगरि उखु कृषकको माग सम्बोधन होस् । चिनीमाथी हुने राजनीति सधैका लागि अन्त्य हुनुपर्छ, अनि किसानले राज्यको अनुभुति गर्न पाउनुपर्छ ।


क्याटेगोरी : ओझेलका पात्र, कृषी / उद्यम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्