Techie IT
Mission Khabar

निर्मलाको बुबाआमाले छाडे जिप्रकाको धर्ना, न्यायको लडाई जारी राख्ने दाबी


कञ्चनपुर– बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका– २ की १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले हत्यारा पक्राउको माग गर्दै सुरु गरेको धर्ना स्थगित गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बुबाआमा द्धयले धर्ना स्थगित गरेका हुन् ।

छोरी निर्मलालाई बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै गत २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि उनीहरु धर्नामा बसेका थिए । दबाब दिने उद्देश्यले लामो समयसम्म धर्नामा बस्दा स्वास्थ्यमा समस्या देखिएपछि धर्ना स्थगित गर्नुपरेको परिवारको दाबी छ । धर्ना तत्कालका लागि स्थगित गरिएपनि न्यायको लडाइँ जारी रहने बताउँछन् । निर्मलाका बुवा यज्ञराजले अपराधी जोसुकै भए पनि कारबाही गर्न माग गर्दै प्रमाण मेटाउनेलाई विभागीय कारवाही भएपनि दोषिलाई उम्काउने गिरोह सक्रिय रहेको भन्दै कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका थिए ।

धर्ना स्थगित गरेपछि पन्त परिवार उपचारका लागि काठमाडौं आउने तयारीमा जुटेको बताइएको छ । यसअघि धर्नामा बस्दाबस्दै निर्मलाका बुवा यज्ञराजको मानसिक अवस्था बिग्रिएको थियो । काठमाडौंमा उपचार गरी घर फर्काएपछि यज्ञराज फेरि धर्नामा बसेका थिए । आमाबुबा दुबैको स्वास्थ्य कमजोर बन्न थालेपछि परिवार र अधिकारकर्मीको सल्लाहमा धर्ना तोडिएको हो । निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरेको अवस्थामा उँखुबारीमा शव फेला परेको थियो ।

अहिलेसम्म सयौँ व्यक्तिको डीएन परिक्षण गरिएपनि प्रहरी अभियुक्तको नजकिसम्म पुग्न सकेको छैन । कतिपयले भने उच्च पदस्थकै हात रहेको भन्दै अभियुक्त लुकाउन राज्य संयन्त्रकै दुरुपयोग हुँदैआएको बताइरहेका छन् ।


क्याटेगोरी : ओझेलका पात्र, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्