Techie IT
Mission Khabar

अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन : ६ बुँदे काठमाडौं घोषणा पत्र, नेपाली कम्युनिस्ट एकताको उत्साह


काठमाडौं, जेठ । नेपालमा भएको कम्युनिस्ट एकताबाट विश्वभरका कम्युनिष्टहरु उत्साहित भएका छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनले विश्वभरका कम्युनिस्टलाई उत्साहित बनाएको निष्कर्ष सहित ६ बुँदे काठमाडौं घोषणपत्र जारी गरेसँगै नेपाल कम्युनिस्ट पार्टीको एकीकरणको प्रभाव विश्वव्यापी देखिएको हो ।
काठमाडौंमा दुईदिनसम्म भेला भएर १८ देशका २२ वटा कम्युनिस्ट पार्टीले माक्सवाद र कम्युनिस्ट घटना क्रमको समिक्षा गरेका थिए । अधिकांश कम्युनिस्ट नेता समाजवादी नेताहरु शक्तिशाली नेपाल नेपाल कम्युनिस्ट पार्टीको उदयबाट चकित र उत्साहित भएका थिए । विश्वका कम्युनिस्ट र गैर कम्युनिस्टले समेत सम्मान गर्ने कम्युनिस्ट विचारका प्रबर्धक कार्ल माक्र्सको दोश्रो सतवार्षिकीले विश्वभरका कम्युनिष्ट नेतालाई भेला गराएको हो ।

सम्मेलनबाट जारी ६ बुँदे घोषणपत्रमा दुईवटा बुँदामा नेपाल कम्युनिस्ट पार्टीको सफलताका कुरा उल्लेख छन् । नेपाल कम्युनिस्ट पार्टीले नेपालमा थप सफलता पाउने अपेक्षा गरेको सम्मेलनले विश्वका कम्युनिस्ट पार्टीहरुबीच आपसी समझदारी,ऐक्यबद्धता र अनुभव आदान प्रदान गर्दै अघि बढ्नुपर्ने ठहर गरेको छ । सामाजिक न्याय, जनवाद, समाजवाद र शान्तिका लागि संघर्ष गरिरहेका विश्वभरका जनताप्रति ऐक्यबद्धता जनाएको सम्मेलनले माक्र्सवादलेनै उन्नत संसार निर्माण गर्ने ठहर गरेको छ ।

सम्मेलनमा नेपाल सहित चीन, भियतनाम, उत्तर कोरिया, लाओस र भेनेजुयलाका सत्तारुढ कम्युनिस्ट पार्टीको सहभागिता रहेको थियो । ५ महादेशको सहभागिता रहेको सम्मेलनमा अष्ट्रेलिया, बंगलादेश, जर्मनी, भारत, मोरक्को, रुस, श्रीलंका, दक्षिण अफ्रिका, जाम्बिया लगायतका देशका कम्युनिस्ट पार्टीका नेता भेला भएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्