Techie IT
Mission Khabar

प्रधानमन्त्रीको चीन भ्रमण आशाको सञ्चार की सम्झौताको उपहार ?


काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई आंशिक सफलताका रुपमा हेरिएको छ । रेल मार्ग, विद्युत विकास लगायतका विभिन्न विकास निर्माणमा भएका सहमतीलाई चीनसँगको विकास साझेदारीको सकारात्मक सुरुवातका रुपमा हेरिए पनि थुप्रै साझेदारीका पाटोहरु खुलेका छैनन ।

तेल सम्बन्धी हुने भनेका सम्झौता नभएपनि रेल सम्झौताले भने निक्कै चर्चा पाएको छ । नेपाल र चीनबीच ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क अन्तर्गत रेलमार्ग निर्माणलगायत विभिन्न सहमति हुँदैगर्दा रेल र विद्युत विकास नै बढी प्राथमिकतामा परेका छन् । भ्रमणका क्रममा भएका २३ सम्झौतालाई सरकार र सरकार घटक दलले भने ठूलै उपलब्धि मानेका छन् । अझ, चीन–नेपाल सहयोग कार्यक्रम एवं परियोजनाहरुको कार्यान्वयनलाई सहजीकरण गर्न संयन्त्र स्थापना गर्ने समझदारी हुनुले सहमती कार्यान्वयन सहज हुने अपेक्षा गरिएको छ । अर्को उर्जामा सहयोग आदान–प्रदानको सहमती भएको छ । उर्जाका विभिन्न परियोजनामा सम्झौता भएको भ्रमणका क्रममा रेल्वे परियोजनामा सहयोगसम्बन्धी सहमति पनि भएको छ ।

तातोपानी नाकको मितेरी पुल र रसुवा पुलको पुनर्निर्माणमा पनि चिनिया पक्षसँग सहमती जुटेको छ । यो सहमतिलाई तातोपानी नाका खुलाउन चीनिया पक्ष सहमत भएको कतिपयको बुझाई छ । उत्पादन क्षमतामा चीनिया लगानी, मानव संशासधनमा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग लगायतका विविध विषयमा भ्रमणका क्रममा सहमती भएका छन् । नुवाकोट दरबारको पुनर्निर्माणलाई तिब्रता दिने चीनिया प्रतिबद्धतासँगै रसुवा, सिन्धुपल्चोक र दोलखामा सार्वजनिक विद्यालय सुधार परियोजना अघि बढ्ने भएको छ । सबैभन्दा बढी लगानी चासो देखिएको छ, जनविद्युत आयोजनामा । माथिल्लो मस्याङ्दी–२ (६०० मेगावाट), कालीगण्डकी गर्ज आयोजना (१६४ मेगावाट, त्रिशुली–गल्छी (७० मेगावाट) र सिउरी न्यादी आयोजना (४०.२७ मेगावाट) निर्माणमा चीनिया पक्ष र नेपाली पक्षबीच सम्झौता भएको छ । यसलाई पनि भ्रमणको सफलताका रुपमा हेरिएको छ ।

दैनिक ३००० मेट्रिक टन क्षमतामा सिमेन्ट उत्पादन गर्ने गरी उद्योग स्थापना गर्ने बारे भ्रमणको समयमा सहमती हुनु, फलफूल प्रशोधन उद्योग स्थापना र नेपाली पश्मिना खरिद गर्ने बारे चीन नेपालबीच नयाँ सम्झौता भएको छ । यता, पूर्वी तराईको सिँचाईमा चिनियाँ सहयोग आउने भएको छ भने रसुवागढी केरुङ प्रसारण लाइन निर्माणको ढोका खुलेको छ । रेल, विद्युत पूर्वाधार विकाससँगै कृषी र उद्योगको क्षेत्रमा चीनबाट भएको लगानी र विकास साझेदारीको प्रतिबद्धतालाई प्रधानमन्त्रीको सफलताका रुपमा चर्चा गरिएको छ । तर महत्वपूर्ण मानिएका रेल र विद्युत विकासका सम्झौतामा लगानी कस्को रहने कसरी परियोजना अघि बढाउने स्पष्ट छैन । यसले सम्झौता कार्यान्वयन नहुने त हैनन भन्ने प्रश्न उब्जाईदिएको छ ।

यी विविध सम्झौताले प्रधानमन्त्री ओली भारतसँग भन्दा बढी चिनसँग हौसिएका छन् । अहिले नै हौसिने अनि के के न भयो भनेर गदगद भैहाल्ने बेला भएको छैन । प्रतिबद्धता पुरा भएर दुई छिमेकी राष्ट भारत र चीनसँग थिचोमिचो सहने नभई अधिक लाभ लिने नेपाल र नेपालीको सपना कतिबेला पुरा हुन्छ ? यो अझै अनिश्चित छ । यसैमा नेपालको कुटनीतिक सफलता अडिएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्