Techie IT
Mission Khabar

बेलायतमा ब्रेक्जिट बहस, ‘ब्रेक्जिट डिल’ अस्वीकृत गरेको संसदले हटाउला त प्रधानमन्त्री टेरिजा मेलाई ?


काठमाडौं—‘ब्रेक्जिट डिल’ अर्थात युरोयिन युनियनबाट बेलायत बाहिरिने सम्बन्धी प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव संसदको भारी बहुमतबाट अस्वीकृत भयो । बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा पुगेको प्रधानमन्त्री मेको प्रस्ताव संसदको ठूलो बहुमतसहित अस्वीकृत भएको हो ।

यो अस्विकार बेलायतमा कुनै पनि सरकारले संसदमा पेश गरेका विधेयक वा योजनामाथीको सबैभन्दा ठूलो झड्का बनेको छ । दुई वर्षभन्दा बढी समय लगाएर तयार पारेको ब्रेक्जिट डिल अस्वीकृत हुनुले प्रधानमन्त्री मेमाथी नै निकै ठूलो धक्का लागेको अनुमान गरिएको छ । यो योजनामा मार्च २९ देखि २१ महिनाको अवधिमा बेलायत इयुबाट अलग हुने आधार तय गरिएको थियो । प्रस्तावको विपक्षमा ४३२ सांसदले मत दिएकोमा पक्षमा २०२ सांसदको मत परेको छ । प्रधानमन्त्री मे कै कन्जरभेटिभ पार्टीका ११८ सांसदले विपक्षमा मत दिए ।

योसँगै अहिले प्रधानमन्त्री मेको योजना ऐतिहासिक रुपमा विफल भएको भन्दै विपक्षी लेबर पार्टीले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता गरेको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसदमा अविश्वासको प्रस्ताव पेश गरेसँगै बेलायती राजनीतिमा फरक खालको तरंग पैदा भएको छ । अश्विासको प्रस्तावमाथि संसदमा बुधबार (नेपाली समय अनुसार बुधबार राति पौने १ बजे) मतदान हुने तयारी भैरहेको छ ।

प्रधानमन्त्री मेले विश्वासको मत लिन नसकेमा बेलायतमा आम चुनाव गर्नुपर्नेछ । बेलायतको सांसदबाट प्रधानमन्त्रीमाथी लागेको यति ठूलो झड्काले कसरी निकास पाउँछ प्रतिक्षा केही घण्टामा वारपार हुनेछ ।


क्याटेगोरी : राजनीति, विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्