Techie IT
Mission Khabar

‘टोल–टोलमा प्रहरी’ अभियान, साँच्चै आम नागरिकको मन जित्ला त ?


काठमाडौं – आम नागरिक र स्थानीय क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन भन्दै नेपाल प्रहरीले ‘टोल–टोलमा प्रहरी’ अभियान शुरु गरेको छ । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र सामुदायिक सुरक्षा महाशाखाको आयोजनामा सुरु भएको टोल–टोलमा प्रहरी अभियानले आम नागरिकसँग प्रहरीको सम्बन्ध स्थापित गरेर सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने अपेक्षा राखिएको छ ।

अभियानको सुभारम्भ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिएका गलत प्रवृत्तिका विरुद्धमा प्रहरी कठोर भएर प्रस्तुत हुनुपर्ने बताए । नेपाल प्रहरीलाई नमूना प्रहरी संगठन बनाउने गरि आफूले सुधार थालेको भन्दै नतिजामुखी काम गर्न निर्देशन दिएका थिए । गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीले सीमित स्रोत र साधनबीच पनि नेपाल प्रहरीले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई साकार पार्नेगरि काम गरेको बताए । सहसचिव सुवेदीले टोल–टोलमा प्रहरी कार्यक्रमले प्रहरी अभियान अझ प्रभावकारी हुने अपेक्षा राखेका थिए ।

गृह प्रशासन सुधार मार्गचित्र २०७४ अनुसार प्रहरीले सुरू गरेको कार्यक्रमले टोलटोलमा प्रहरी लैजानुपर्ने कानुनी मान्यतालाई साकार पार्ने बताइएको छ । जनताको मनमनमा प्रहरी संगठनलाई पुर्याउने उद्देश्य सहित सुरु भएको अभियान कसरी अघि बढ्छ ? यो भने समयले देखाउने छ ।


क्याटेगोरी : सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्